ईन्द्रसरोबर गाउँपालिकाका गुरु, पुरोहित र झाक्रिद्धारा बालबिबाह नगराउने प्रतिबद्धता

२०७५, १९ कार्तिक सोमबार १३:२७

मकवानपुर १९ कार्तिक । प्लान ईन्टरनेशनलको सहयोग, बाल कल्याण समाजको आयोजना र ईन्द्रसरोबर गाउँपालिकाको समन्वयमा ईन्द्रसरोबर गाउँपालिको वडा नं २ स्थित पंचकन्या मा.बि. खानिखेतमा धार्मिक अगुबा, शिक्षक, महिला प्रतिनिधि, सहकारी प्रतिनिधि र गाउँपालिकका जिम्मेबार अगुवा कार्यकर्ताको सहभागितामा बालबिबाह बिरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा र सुपरिबेक्षक खोमराज श्रेष्ठले सहजिकरण गरेका उक्त कार्यक्रममा बालबिबाह के हो, हुनुको कारण, बालबिबाहका कारण उत्पन्न हुन सक्ने समस्याहरु– (शारिरीक, मानशिक, आर्थिक, सामाजिक), बालबिबाहको घटना अध्ययन, बालबिबाह गर्ने र नगर्ने बिच तुलनात्मक अध्ययन र छलफल, बालबिबाह सम्बन्धि कानुनि व्यबस्था र दण्ड सजाय, बालबिबाह रोकथाममा बालबालिका, बाल समुह, सहकारी, गाउँपालिका, महिला समुह, धार्मिक गुरु, पुरोहित, लमी र सरोकारवालाहरुको भुमिकाबारे छलफल गरिएको थियो ।

टोल सुधार समितीका अध्यक्ष तथा पूर्ब वडा अध्यक्ष बिर बाहादुर थिङ्गले बालबालिका स्वयंले आफ्नो बिबाह गर्ने निर्णय गरि भागिबिबाह गर्ने गरेकोले समस्या झन जटिल हुँदै गएकोले अब बालबालिका लक्षित कार्यक्रममा संचालन गर्नुपर्ने बताउदै बालबालिकालाई सचेतना गर्ने कार्यमा क्रियाशिल हुने प्रतिबद्धता गरेका थिए ।

यसै गरि कार्यक्रममा उपस्थित ३० जना सहभागिहरु आफ्नो आफ्नो कार्यक्षेत्रमा बालबिबाह बिरुद्ध केही न केही सचेतना फैलाउने र गाउँपालिकालाई जिम्मेबार बनाउदै लाने बारे समेत बताएका थिए ।