मकवानपुरका ५ वटा सहकारी सदस्यलाई लेखा व्यवस्थापन तालिम

२०७५, ९ कार्तिक शुक्रबार ०७:१४

मकवानपुर, ०९ कात्तिक । मकवानपुरको बकैया गाउँपालिकाका ५ वटा सहकारीका सदस्यहरु सहकारी लेखा व्यवस्थापन सम्बन्धि तालिममा सहभागी बनेका छन् । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरिरहेको सर्भ परियोजना अन्तर्गत आयोजित तालिममा उनीहरु सहभागी बनेका हुन् ।

बिहीबारबाट हेटौंडामा चार दिनका लागि सुरु भएको तालिममा धियालस्थित सवल महिला कृषि सहकारी संस्था, छतिवनस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था, शिखरपुरस्थित हरियाली स्वाबलम्बन बचत ऋण सहकारी संस्था, ठिङ्गनस्थित आदर्श महिला बचत तथा ऋण सहकारी संस्था र मन्थली स्थित सौभाग्य महिला बचत ऋण सहकारी संस्थाका १८ जना सदस्य सहभागी बनेका छन् ।

तालिममा सहकारी तथा सहकारीका लागि आवश्यक लेखा व्यवस्थापनका विविध पक्षहरुका विषयमा बकैया गाउँपालिकाका सहकारी शाखा संयोजक भीमबहादुर पाख्रीन र बकैया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष, सहकारी व्यवस्थापनका जानकार राजन दङ्गाल सहजकर्ता छन् ।

तालिम सुभारम्भमा मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्ट, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयाल, समाजका सचिव ज्ञानेन्द्र बर्तौला, कोषाध्यक्ष महालक्ष्मी राजभण्डारी श्रेष्ठ लगायतको उपस्थिती थियो ।

सहकारीलाई आर्थिक रुपमा कुनै त्रुटी नगराई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि लेखा व्यवस्थापन तालिम तालिम प्रभावकारी हुने ठानेर तालिम सञ्चालन गरिएको बाल कल्याण समाज मकवानपुरका सर्भ प्रोजेक्ट कार्यक्रम संयोजक रामप्रसाद दाहालले जानकारी दिए ।

बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा बकैया गाउँपालिकामा सञ्चालन गरिरहेको सर्भ परियोजना अन्तर्गत सहकारीमा सुशासन सम्बन्धि तालिम, सहकारी लेखा व्यवस्थापन, सहकारी नीतिका समीक्षा लगायत सहकारी सञ्चालनका लागि सघाउ पु¥याउने काम भइरहेको छ ।

गाउँपालिकामा रहेका पाँच वटा सहकारीलाई व्यवस्थित सञ्चालनका लागि विभिन्न सहयोग तथा वित्तिय साक्षरता कक्षा सञ्चालन भइरहेको सर्भ परियोजनाका फिल्ड सुपरभाइजर शिवप्रसाद चौलागाईंले जानकारी दिए । गाउँपालिकाको छतिवन, धियाल, शिखरपुर, मन्थली र ठिङ्गनमा तालिम प्राप्त सहजकर्ताले वित्तिय साक्षरता कक्षा सञ्चालन गरिरहेका छन ।