कीर्तिपुर जेलमा नक्कली नोट छाप्ने यस्तो योजना

२०७५, ६ कार्तिक मंगलवार ०७:०६

काठमाडौं ६ कात्तिक । प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए ।

जुन वेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले । यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन–८ का नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार गरिदिएका थिए ।

यसरी खुल्यो रहस्य
नक्कली नोट छपाइपछि त्यसलाई बजारमा लैजाने जिम्मा मकवानपुर हर्नामाडी–९ का २५ वर्षीय साहिल थापामगर, कागेश्वरी–११ का २९ वर्षीय विकास दोचे र पर्सा बिरुवा गुठी–३ का २८ वर्षीय राज श्रेष्ठले पाएका थिए । त्यसमध्ये थापामगर र दोचे नक्कली नोटको बिटो लिएर चाबहिलस्थित चाँदनी डान्स एन्ड बार पुगे । मध्यरातमा पुगेका उनीहरूले बारमा रक्सी खाए । नृत्य हेरे । धेरैबेर रमाइलो गरेपछि काउन्टरमा बिल मागे ।

नौ हजार रुपैयाँको बिल गरेर वेटरले दुई भाइको टेबलमा राखे । बिल हेरे । झोलाबाट नक्कली नोटको बन्डल झिकेर वेटरलाई दिए । काउन्टरवालाले नोट छाम्दा शंका लागेपछि तुरुन्तै प्रहरी कार्यालयमा फोन ग(यो । तत्काल घटनास्थल पुगेको प्रहरी थापामगर र दोचेलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार त्यसवेला उनीहरूले आफू ज्यामी–मजदुर भएको र उक्त नोट ठेकेदारले दिएको बताएका थिए । दुवैलाई हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र उक्त नोट छाप्ने मुख्य योजनाकार पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र नयाँ बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन–८ का नारायण श्रेष्ठ रहेको रहस्य प्रहरीले थाहा पाएको थियो ।
आजको नयाँ पत्रिकामा समाचार छ ।