अबैध लागूऔषध सहित ५ जना पक्राउ

२०७५, २९ आश्विन सोमबार १२:१८
File Photo

काठमाडौं, २९ असोज । काठमाडौं, बारा, सिराहा र सुनसरीका विभिन्न ठाउँहरूबाट अबैध लागूऔषध सहित ५ जनालाई प्रहरीले आईतबार पक्राउ गरेको छ ।

काठमाडौं कीर्तिपुर नगरपालिका–१० बाट १२ ग्राम लागूऔषध ब्राउन सुगर सहित पर्सा बीरगंज महानगरपालिका–१५ घर भएका १५ बर्षीय बिष्णु सर्राफलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै बारा जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरबाट धादिङ गजुरी गाउँपालिका–८ का १८ बर्षीय विवेक लामालाई अबैध लागूऔषध चरेश करिब १२ किलोग्राम सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरको प्रहरी टोलीले निजलाई कालो झोलामा लुकाई–छिपाई ल्याएको उक्त लागूऔषध चरेश सहित पक्राउ गरेको हो ।

यस्तै सिराहा औरही गाउँपालिका–३ पिप्रा टोल बस्ने ६८ बर्षीय रामप्रसाद यादवलाई २.५ किलोग्राम लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले निजको घरमा खानतलासी गर्दा सुटकेशमा लुकाई–छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा, ९१ हजार २ सय ७० नेपाली रुपैयाँ र १ हजार ४ सय ७० भारतीय रुपैयाँ सहित यादवलाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलाको पुल छेउबाट मोरङ बिराटनगर महानगरपालिका–५ का ३६ वर्षीय सन्जिब पुडासैनी र सोही ठाउँ बस्ने ३४ बर्षीय सन्दिप पुडासैनीलाई करिब ५० ग्राम लागूऔषध चरेश सहित प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोस्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा.६७ प ९९४५ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट उक्त चरेश बरामद भएपछि मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिएको हो ।

घट्नाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।