मुख्यमन्त्री पौडेल ज्यू ! सहकारी उद्घाटन मात्रै कि , विकास पनि गर्ने हो ?

२०७५, २८ आश्विन आईतवार २१:४६

बलराम पुडासैनी

मकवानपुर २८ असोज । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल आजभोली गोष्ठी सभा र सेमिनार उद्घाटनमा निकै व्यस्त हुन्छन् । यो सातामात्रै उनले मकवानपुरका ४ वटाभन्दा बढी सहकारी र १ दर्जन भन्दाबढी सभा र गोष्ठीको उद्घाटन गरे । मुख्यमन्त्री आफैंं सहकारी उद्घाटनमा व्यस्त भएपछि प्रदेश सरकारका अन्य मन्त्रीहरु समेत स–साना सभा तथा गोष्ठीमा प्रमुख अतिथिको रुपमा भाषण गर्दै समय खर्च गरिरहेका छन् । लामो समयपछि नेपालीले पाएको स्थायी सरकार साथै प्रदेश सरकारले केहि गर्ला भनेर मख्ख परेका जनता आजभोली जिम्मेवार पदका व्यक्तिको यस्तो कार्यशैलीको कारणै निराश भएका छन् ।

मुख्यमन्त्री पौडेल मकवानपुरवासी भएको नाताले पनि मकवानपुरका स–साना कार्यक्रममा जानुपर्ने बाध्यता पनि उनसंग होला, तर समग्र प्रदेशको जिम्मेवार स्थानमा बसेका उनी सभा गोष्ठी र सेमिनार उद्घाटनमै व्यस्त भएपछि प्रदेशको समानुपातिक विकासमा समस्या देखिएको छ । प्रदेश सरकार निर्माण भएको लामो समय बितिसक्दा समेत सरकारद्वारा गतिलो एउटा विकासको भिजन समेत निर्माण भएको जनताले महशुस गरेका छैनन् ।

समग्र ३ नम्बर प्रदेशकै मुख्यमन्त्री भएपछि पौडेल आजभोली संकुचित भएको बाह्य जिल्लाका जनताको आरोप छ । मकवानपुरमा मात्रै अधिकाँश समय विताउने अनि मकवानपुरका स –साना कार्यक्रममा समेत आफुलाई व्यस्त राख्ने गरेको भन्दै अन्य जिल्लाका जनताले उनी संकुचित भएको आँकलन गर्न थालेका छन् । अझ, विकास र भिजन निर्माणमा मुख्यमन्त्री र अन्यमन्त्रीको संलग्नता वडाध्यक्षकै स्थान भन्दा माथि उठ्न नसकेको जनताहरुको गुनासो छ । उनी प्रदेशको मुख्यमन्त्री हुन् तर उनी मकवानपुर भन्दा बाह्य जिल्लाको प्रदेशस्तरिय कार्यक्रममा गएको समेत त्यति जानकारी छैन ।

व्यवसायिक पसलको उद्घाटन अनि सहकारीको साधारणसभामा प्रमुख अतिथिको रुपमा भत्ता बुझ्दै आएका मुख्यमन्त्री पौडेलले प्रदेशको उन्नती अनि विकासमा जोडदिने समय कहिले व्यवस्थापन गर्लान ? अधिकाँशको प्रश्न यस विषयमा छ ।

‘शुखी नेपाली समृद्ध नेपाल’ भन्दै पौडेललाई भिजन भएको नेताको रुपमा अधि सारियो । जिल्लामा उनलाई भिजन भएको नेताको रुपमा पनि लिन्छन् । तर पछिल्लो समय उनको कार्यशैली वडाअध्यक्षको जस्तै भएको छ । अनि उनको कार्यशैलीकै कारण प्रदेशका अधिकाँश सहरहरुलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने विषय समेत ओझेलमा परेको जनताले महशुस गरेका छन् ।

मकवानपुरकै सन्दर्भमा पनि आगलागि नियन्त्रणको लागि गतिलो दमकल छैन, तर भिआइपीहरुको लागि दामी गाडी छ । सार्वजनिक स्थानमा भएका सिसिटीभी अधिकाँश बिग्रीएर थन्किएका छन् । बजारमा सवारी चाप छ । सडक फराकीलो छैन । बर्खाको समयमा सडकमै पानी जमेर पोखरीनै बन्छ । यसको मर्मतमा सरोकारलाको ध्यान छैन, । तर मुख्यमन्त्री ज्यूले, सभा, गोष्ठी तथा समारोहमा हेटौंडा स्मार्ट सिटी बनाउँछु भन्दै भाषण गर्दै आएका छन् ।

पछिल्लो समय उनको दिनचर्यालाई मुल्याङकन गर्ने जनताले प्रश्न गर्न थालेका छन् ‘मुख्यमन्त्री ज्यू, सहकारी उद्घाटनमा मात्रै व्यस्त हुने हो कि विकासका केहि योजना पनि छन् ? , त्यसो त प्रदेश राजधानीको विषय पनि अहिले चर्चामा छ । राजधानी मकवानपुरमा राख्ने वा सार्ने भन्ने विषयमा प्रदेशसभा सदस्यहरुकै फरकफरक धारणा आईरहेका छन् । प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल राजधानी अन्तै सार्ने दाउमा छन् । भौतिक पुर्वाधारमन्त्री केशव स्थापित आजभोली गुमनाम जस्तै भएका छन् । प्रदेशसभा सदस्यहरु राजधानी सार्ने र नसार्ने दुई पक्षमा छन् । जिम्मेवार स्थानका मानिसहरु यसरी अनावश्यक विषयमा समय खर्चर्दै हिड्ने, राजधानीकै विषयमा प्रदेश सरकारको समय बित्ने गर्दा राजधानीकै विषयमा अहिलेको प्रदेश सरकारको कार्यकाल सकिएला कि भन्ने शँका जनतामा छ ।
प्रदेश सरकारको कर बृद्धिका कारण स्थानीय तहलाई समेत काम गर्न निर्क सास्ती भएको छ ।   भाषणले मात्रै प्रदेश सरकारलाई केन्द्र सरकारभन्दा फरक देखाउन सकिँदैन यसका लागि काम गर्नुपर्छ । अस्तव्यस्त यो समयमा प्रदेश सरकारले निकै सुस्त गतिमा काम गरिरहेको छ । वाक्कै भएका जनताले प्रश्न गर्न थालेका छन् सुखी नेपाली समृद्ध नेपाल कहिले बन्छ ?