टिष्टुङ महोत्सव २०७५ मुख्य मन्त्री पौडेलद्वारा उद्घाटन

२०७५, २४ आश्विन बुधबार १४:१८

मकवानपुर २४ असोज । मकवानपुर थाहा नगरपालिका टिष्टुङ (बज्रवाराही) मा आज एक समारोहकाबीच टिष्टुङ महोत्सव २०७५ को उद्घाटन गरिएको छ । महोत्सवको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा संसद विरोध खतिवडा, रामनारायण विडारी, जुनेली श्रेष्ठको विशेष आतिथ्यता रहेका छन् भने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, नेपाल पर्यटन बोर्ड प्रदेश ४ का निर्देशक मणीराज लामिछाने, मध्ये नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष अनन्त पौडेल लगायतकाको आतिथ्य रहेका छन् ।

कार्यक्रममा उपस्थितहरुलाई थाहा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शशीधर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा मकवानपुरको उत्तरी क्षेत्र टिष्टुङ पालुङ पर्यटकीय हब भएको मध्ये नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष पौडेलले चर्चा गरे । थाहा नगरपालिकाका मेयर लवशेर विष्टले पर्यटकीय संभावना भएर पनि ओझेलमा परेको थाहानगरको विकासका लागि सबैले सहयोग र योगदान दिनूपर्ने बताए ।

मेयर विष्टले प्रदेश राजधानीको चर्चा चलिरहेको सन्दर्भमा कुनै पनि हालतमा हेटौंडाबाट सर्न नहुने अडान राख्दै सार्नै परे थाहानगरले विकल्प दिने घोषणा गरे । काठमाण्डौबाट १३ किलोमिटरको दुरीमा रहेको थाहानगरको चित्लाङ र बज्रवाराही त्यसको विकल्पको रुपमा अघि सारे ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले स्थानीयताको प्रवद्र्धन हुने महोत्सवका लागि समन्वय गर्न तयार रहेको बताए । उनले प्रदेश राजधानी कुनै पनि हालतमा सर्न नहुने प्रष्ट्याए । कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि गरिएको महोत्सवको प्रशंसा गरिन् । कार्यक्रममा अतिथीहरु बोल्नेक्रम जारी छ ।