प्रदेश सरकारले हेटौंडामा मेडिकल कलेज संचालन गर्ने

२०७५, २१ आश्विन आईतवार ०७:४४

मकवानपुर २१ असोज । प्रदेश–३ सरकारले चिकित्सा शिक्षा अध्यापनका लागि मेडिकल कलेज सञ्चालन गर्ने भएको छ ।
प्रदेशमा मेडिकल कलेज सञ्चालनसम्बन्धि विधेयक आफूले प्रदेशसभामा पेश गरिसकेको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । विधेयकमा सबै दल र सांसद्हरुको सहमति रहेकाले सर्वसम्मतिले पारित हुने उनले बताए ।

मन्त्री दुलालका अनुसार मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढेको हो । भरतपुर र हेटौंडाको सरकारी अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रस्तावमा उल्लेख छ । ‘सहुलियतमा चिकित्सा शिक्षा अध्ययन गराउने उद्धेश्यसाथ मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउ“दैछौं,’ दुलालले भने–आगामी वर्षदेखि एमबीबीएस पढाउन सुरु हुन्छ । मन्त्री दुलालका अनुसार चालु आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत् प्रदेशका १० हजार बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने योजना छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेशस्तरमा खेलकुद परिषद् स्थापना गरी यही वर्षभित्र प्रादेशिक खेलकुद कार्यक्रम गर्ने भएको छ । मन्त्री दुलालले खेलाडीको व्यावसायिक सुरक्षाका लागि कार्यक्रम बनाइएको र हेटौंडाको गौरीटारमा खेलकुद प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने योजना समेत अघि बढाइएको जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयले प्रदेशमा दुई वटा वहु– प्राविधिक महाविद्यालय स्थापनाका लागि वार्षिक कार्यक्रम तय गरिसकेको छ । दक्षिणी क्षेत्रका लागि हेटौंडा र उत्तरी क्षेत्रका लागि सिन्धुपाल्चोकमा त्यस्तो केन्द्र रहने छ ।

आजको हेटौंडा सन्देशमा समाचार छ ।