सञ्जय साहको लेख : बालिकामाथि बढ्दो दूर्व्यवहार र नियन्त्रण

२०७५, १० आश्विन बुधबार २२:५४

रौतहटको गरुडा र गढीमाई नगरपालिकाभित्र एक हप्तामा दुईवटा बलात्कारका घटना सार्वजनिक भए । गरुडा नगरपालिकाको कुनै ठाउँमा भएको घटनाको पुरुष चाहिँ १६/१७ वर्षको र बालिका चाहिँ ८ वर्षकी थिइन् । एकान्तमा पाएर जबरजस्तीकरणी गरिएको देखिएको थियो । गढीमाई नगरपालिकाको घटनाका पुरुष पचास आसपास र बालिका १२/१३ वर्षकी सार्वजनिक भएको थियो ।

गत सोमवार सर्लाही पुलिसले चन्द्रपुरका करिब ३१ वर्षको एक पुरुषलाई पक्राउ गरेर रौतहट पुलिसलाई बुझायो । पक्राउ परेको पुरुष चन्द्रपुर नगरपालिकाकै थियो । पुरुषले १६ वर्षकी एक किशोरीलाई जबरजस्तीकरणी गरेको थियो ।

बाराको जितपुर सिमरा उपमहानगरपाकिलाको अठार वर्षका एक पुरुष मंगलवार गत पक्राउ परेको सार्वजनिक भयो । पुरुषले आफ्नै गाउँकी पाँच वर्षकी एक बालिकामाथि जबरजस्तीकरणी गरेको थियो ललाइफकाई ।

कञ्चनपुरकी तेह्र वर्षीया बालिकामाथि भएको जबरजस्तीकरणी र हत्याले देश करिब दुई महिनादेखि अपराधी पत्ता लगाउने कार्यमा जुटेको छ । घटनाको विरोध त करिब देशभर नै भयो । निर्मला हत्याकाण्डले देशलाई तताएको छ ।

काठमाडौँमै एक युवतीमाथि सामूहिक बलात्कारको घटना भएको सार्वजनिक भएको छ । बालिकालाई होटलभित्र लगेर सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएको थियो मंगलवार नै ।

रौतहटको चन्द्रपुरमा गत हप्ता दुई बालिकामाथि मध्यरातमा एसिड प्रहार भयो । छिमेकीले नै एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । अठार र पन्ध्र वर्षका दुई किशोरी आफ्नो घरमा सुतिरहेको बेला मध्यरातमा एसिड प्रहार भएको थियो । पचास वर्षका एकजना पुरुषले पन्ध्र दिनमा एक सय असीपटक फोन गरेको थियो । यति धेरैपटक फोन गर्दा पनि अठार वर्षीया किशोरीले फोन रिसिभ नगरेको झोंकमा रिसाएर उसले एसिड प्रहार गरेको थियो । एकतर्फी प्रेम गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानमा देखिएको सार्वजनिक गरिएको छ ।

रामेछापमा एक किशोरीले छड प्रहार गरेर एकजना वृद्धको हत्या गरेको समाचार सेलाएकै छैन । गत हप्ता ती किशोरीले वृद्धको हत्या गरेर प्रहरीमा छडसहित उपस्थित भएको बताएकी थिइन् । किशोरीले आत्मसमर्पण गरेको बताएकी थिइन् । दुव्र्यवहार गर्न खोजेको कारण बताएकी थिइन् प्रहरीमा ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्ने एकजना साँसदले देशमा महिलामाथि दुव्र्यवहारको घटना बढेको बताउनु भएको थियो । देशमा एकपछि अर्को घटना सार्वजनिक भइरहेको छ ।

नेपालमा मात्र होइन, भारतमा पनि केही महिनादेखि महिलामाथि दुव्र्यवहार बढेको घटना सञ्चारमाध्यमहरुले प्रकाशन र प्रसारण गरिरहेका छन् । सहर र गाउँ अर्थात् शिक्षितहरु बस्ने र तुलनात्मकरुपमा कम शिक्षितहरु बस्ने ठाउँमा यस प्रकारका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

बालिकामाथि अर्थात् महिलामाथि नै दुव्र्यवहारका घटनामा वृद्धि भएको छ । यस प्रकारको घटनामा वृद्धि भएको कुरालाई कसैले अस्वीकार गर्न पनि सम्भव छैन । सार्वजनिक भएका घटनाहरुमात्र नहुन पनि सक्छन्, कतिपय घटना त गुपचुपमै मिलाउन खोजिएको हुन सक्छ । दबाब दिएर मिलाएको पनि हुन सक्छ । किनभने कतिपय घटनाहरु तत्काल सार्वजनिक नभएर दुई चार दिनपछि सार्वजनिक भएको पनि देखिएको छ । पीडितलाई डर, त्रास तथा लोभ देखाएर राखिएको समेत देखिएको छ । कतिपय अवस्थामा महिलाले आफूमाथि भएको घटनालाई आफैँले लुकाउन खोजेको पनि देखिन्छ । आफूमथि भएको दुव्र्यवहारलाई सार्वजनिक गर्दा समाजमा इज्जत जाने र पछि परन्तुसम्म यसको नकारात्मक असर परिरहने भएकोले महिला पक्षबाट नै सकेसम्म गोप्य राखिएको हुनुपर्छ ।

अभाव, पीडा र अन्धकारमा जीवन बिताइरहेका विपन्न तथा अझ ग्रामीण समुदायका विपन्न समुदायका बालिका, किशोरी, युवती वा महिलामाथि यस प्रकारको घटना तुलनात्मक रुपमा बढी भएको हुन सक्छ किनभने यस विषयमा यस प्रकार पछाडि परेको वर्ग वा समुदायले न्यायको लागि आवाज उठाउने साहस गर्दैनन्, साथ दिने कमै हुन्छन् तथा आवाज उठाउँदा पनि हेप्नेको संख्या बढी हुन पुग्दछ । यसकारण यस प्रकारका घटनाको सही तथ्यांक बाहिर नआएको पनि हुन सक्छ ।

भदौ १ गते कार्यान्वयनमा आएको मुुलुकी संहिताले पतिले पत्नीको इच्छा नभएको समयमा शारीरिक सम्बन्ध बनाउन खोज्दा वा बनाउँदा बलात्कार भएको मानिने र त्यसवापत जेल सजायसम्म हुन सक्ने व्यवस्था गरेको छ । यसै गरी विवाहको उमेरभन्दा कम उमेरकी युवतीसित मन्जुरीमा पनि सम्बन्ध स्थापित गर्दा बलात्कार मानिने व्यवस्था गरेको छ । कानुन यति कडा हुँदाहुँदै पनि यस प्रकारको घटना अत्यधिक मात्रामा सार्वजनिक भइरहनु आफैँमा एउटा लाजमर्दो कुरा भएको छ । यस लाजमर्दो कुरालाई पनि समाजले पचाएको छ वा पचाउँदै गएको छ । बलात्कार, दुव्र्यवहार वा यस प्रकारका अन्य घटनाका पक्राउ परेका दोषीहरुलाई सजाय दिएरमात्रै समस्याको समाधान हुने देखिँदैन । यस प्रकारका घटनाका पछाडिका कारणहरुलाई निवारण गर्नु आवश्यक छ ।

महिलामाथि बलात्कार, दुव्र्यवहार तथा अपाच्य व्यवहारको मुख्य कारण महिलालाई कमजोर ठान्नु नै हो । कोही कसैले आफूभन्दा बलियोमाथि जबरजस्ती वा दुव्र्यवहार गर्नै सक्दैन सामान्यावस्थामा । महिलालाई कमजोर ठानेपछि दुव्र्यवहार गर्न उसको मनले ठान्छ होला । केही हदसम्म खुल्लारुपमा जताततै पाइने र जुनसुकै उमेरकाले तथा जतिसुकै बेला पिउन पाउने मदिराको असर पनि हो । अलिकति सामाजिक सञ्जालको प्रभावले पनि हुन सक्छ । हात हातमा पुगेको मोबाइल र मोबाइलमा चलाउन सक्ने इन्टरनेटले पनि केही मात्रामा विभिन्न साइटहरुमा पाइने अश्लील सामग्री हेरेर पनि बढेको हुन सक्छ । विभिन्न मिडिया तथा सिनेमा र टेलिभिजनहरुले प्रसारण गर्ने सामग्रीको प्रभावले पनि समाजमा उत्तेजनात्मक विकृति बढाएको हुनुपर्छ । खुल्लापनको प्रभावले आजका किशोरी, युवती तथा महिलाहरु आफूलाई बचाउन असमर्थ भएको हुनुपर्छ । महिलाहरुले पुरुषमाथि सतर्क रहेर विश्वास गर्नुको साटो अन्धविश्वासजस्तो पूर्ण विश्वास गर्दा धोका पाएको पनि हुन सक्छ । कतिपय अवस्थामा निकै कम उमेरका बालिकालाई ललाइफकाइ दुव्र्यवहारजस्तो गम्भीर अपराध गरेको हुनुपर्छ । वा कतिपय अवस्थामा मन मिलेर नै शारीरिक सम्बन्ध स्थापित गरेको वा नियमितरुपमा गर्ने गरेको भए पनि अरुले जानेपछि दुव्र्यवहार, बलात्कार वा जबरजस्तीकरणी गरेको हो भन्ने कुरो बताइएको हुन सक्छ ।

कारण जे सुकै भए पनि दृश्यमा भने महिलामाथि दुव्र्यवहारको घटना बढेको पाइएको यथार्थ हो । घटना सार्वजनिक भएपछि सामान्यतया महिलामाथि सहानुभूति र पुरुषमाथि आक्रोश उब्जेको देखिन्छ । यो परम्परादेखि चल्दै आएको प्रवृत्ति हो । पीडितप्रति सहानुभूति राख्नुलाई निकै राम्रो मान्न सकिन्छ । सहानुभूति राखेर नै धेरै हदसम्म सामाजिक फैसला लिइएको पाइन्छ ।

बालिका, किशोरी, युवती, महिलामाथि हुने दुव्र्यवहारप्रति समाज उति जिम्मेवार हुन सकेको छैन वा समाजले पनि नकारात्मक भूमिका खेलेको छ । दुव्र्यवहार गर्ने पुरुष्डा चाहिँ शानले घुम्ने र महिला भने शिर निहुराएर बस्नु पर्ने, लाज महिलालाई हुनुपर्ने विपरीत सामाजिक मानसिकताको कारणप्रति समाज जिम्मेवार हुन सकेको छैन । गाउँ समाजमा मिलाइने दुव्र्यवहारको घटनालाई हेर्ने हो भने पीडितलाई झन् पीडा दिने काम भएकोजस्तो देखिन्छ भने अदालतमा पनि पीडकपक्षको वकिलले सोध्ने प्रश्नको उत्तर दिन सहज हुँदैन । यसकारण महिलाहरु दुव्र्यवहारको घटनालाई सकेसम्म लुकाउन चाहन्छन् । आखिर सबैलाई थाहा छ अपराध लुकाएर कम हुने होइन । अपराध लुकाउँदा अपराधीको मानसिकतामा अझ वृद्धि हुन्छ । त्यसले अपराध बढाउनमै सहयोग पुग्न सक्छ । तर सामाजिक संरचना नै यस प्रकारको भइसकेको छ कि पीडितलाई जीवनभर दोषी मान्न बेर मान्दैनन् । बलात्कृत बालिका, किशोरी वा युवतीको बारेमा धेरैले थाहा पायो वा गाउँसमाजभन्दा बाहिर कुरो पुग्यो भने ऊसित बिहे गर्न कोही मान्दैनन् भन्ने सोचाइ छ । केही हदसम्म यो सत्य पनि हो, बलात्कृत युवतीको बारेमा थाहा पाएपछि बिहे रोकिएको देखिएको पनि हो । यसैले कानुनले पनि यस प्रकारले पीडितको पहिचानलाई गोप्य राख्न भनेको छ । पीडक चाहिँ जीवनभर आत्मग्लानी अनुभव गर्दैन । यो विपरीत मनोविज्ञान भएको समस्या भएकोले यसलाई निराकरण गर्न कठोर कानुनको आवश्यकता छ । कतिपयले बलात्कारीलाई फाँसीको सजायको माग यसैकारणले पनि गरेको हुनुपर्छ ।

गाउँघरका महिलाहरु यस प्रकारको सजायको माग गर्छन् – बलात्कारीलाई नपुंशक बनाइनुपर्छ । कसैले बलात्कारीको गुप्ताङ्गलाई नै काट्नुपर्छ भन्ने माग पनि गर्दछन् । मानवता विरोधी यस प्रकारमा मागभन्दा कानुनले बलात्कारीको सम्पत्तिजति सबै बलात्कृत महिलाको नाउँमा पास गरिदिनुपर्छ र उसलाई कम्तीमा तीस वर्ष जेल सजाय गर्नुपर्छ । वा कम्तीमा महिलाको जीवनभर भरणपोषण हुने गरी र ती महिलाप्रति दोहो¥याएर हेर्नै नपरे गरी कानुन बनाउनुपर्छ । अनि मात्र यस प्रकारको घटनाबाट महिलाको सुरक्षाको डर हुँदैन ।

सभ्य समाज नबनुन्जेल महिलाहरु सुरक्षित रहने देखिन्न । कतिपयले स्थानीय तहको सरकार गठन भएपछि दुव्र्यवहार बढेको आरोप पनि लगाउँछन् । यस प्रकारका दुव्र्यवहारमा स्थानीय तहको सरकारमा रहेकाहरुको आफन्त वा संरक्षकत्वको अवस्था के छ, यस दृष्टिले पनि अनुसन्धान हुनु जरुरी रहेको देखिन्छ । यदि यस प्रकारको आरोपलाई प्रमाणित गर्ने कुनै चिन्ह भेटिन्छ भने यो दुर्भाग्य होला । स्थानीय सरकारको भविष्य राम्रो नहुन सक्छ ।