हाँडीखोलामा लामिटार कप फुटबल प्रतियोगिता हुने

२०७५, ९ आश्विन मंगलवार १९:१२

मकवानपुर, ०९ असोज । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलामा रहेको लामिटार यूथ क्लवको आयोजनामा पहिलो लामिटार कप फुटबल प्रतियोगिता हुने भएको छ । मनहरी गाउँपालिका–३ हाँडीखोलामा रहेको क्लवले दशैं, तिहारलगायतको पर्वको सन्दर्भमा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

मनहरी गाउँपालिकाभित्रका क्लवहरुको सहभागितामा हुने प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेता टिमले २५ हजारसहित ट्रफी, मेडल र प्रमाापत्र प्राप्त गर्ने क्लवका उपाध्यक्ष अनिल राईले जानकारी दिए । यही असोज १२ गतेसम्म टिम दर्ताको मिति राखिएको छ । ‘कति क्लव सहभागी हुन्छ सोही अनुसार प्रतियोगिताको मिति तय हुनेर्छ’, उनले भने, ‘दशैं, तिहारको सन्दर्भमा शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने उद्देश्यले खेल खेलाउन लागेका हौँ ।’ प्रतियोगिताको समापन फुलपातिको अघिल्लो दिन गरिने आयोजकको तयारी छ ।

प्रतियोगितामा मनहरी गाउँपालिकाका करिब २० टिमको सहभागिता रहने र करिब ३ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएका क्लवका सचिव निरन्जन उप्रेतीले बताए । ‘स्थानीय संघसंस्था एवम् सहयोगी व्यक्तिहरुको सहयोगमा हामीले खेल सञ्चालन गर्न लागेका हौँ’, सचिव उप्रेतीले भने, ‘मनहरी गाउँपालिका एवम् अन्य सहयोगीको सहयोगमा निर्माण गरिएको चौरको बिषयमा जानकारी दिनको लागि पनि यो खेल महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौं ।’ उनले मनहरी गाउँपालिकाका क्लवहरुलाई तोकिएको समयभित्र टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन अनुरोध समेत गरे ।