प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

२०७५, ८ आश्विन सोमबार १४:१२

काठमाडौँ, ८ असोज । सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो ।

परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्ताबसँगै गठनका लागि आवश्यक कानून समेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले जानकारी दिए ।

जिल्लास्तरमा रहेको युवा समिति खारेज गर्दै प्रदेश र स्थानीय तहको माग बमोजिम नै परिषद्ले प्रदेश र स्थानीय युवा परिषद् गठन गर्न लागेको हो । प्रदेशमा ‘प्रदेश युवा परिषद् र स्थानीय तहमा ‘नगर/गाउँपालिका युवा परिषद्’ नाम रहने छ ।

प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाउनका लागि परिषद्का सदस्य भावना भट्टको संयोजकत्वमा सात सदस्यीय मस्यौद समिति गठन गरिएको छ । उक्त समितिले प्रदेश युवा परिषद्को नमूना ऐन बनाएर सात वटै प्रदेशमा पठाउने परिषद्का सचिव पौडेलले बताए ।–रासस