तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

२०७५ आश्विन ६,शनिबार २२:२८

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए ।

बैठकको निर्णय अनुसार यही असोज १९ गते मकवानपुरको कैलाश गाउँपालिका अन्तर्गत कालिकाटारमा र असोज २० गते राक्सिराङ गाउँपालिकाको चैनपुरमा कार्यक्रम गरिने छ । त्यस्तै मनहरी गाउँपालिकाको रजैयामा असोज २१ गते र थाहा नगरपालिकाको शिखरकोटमा रहेको विकास घरमा असोज २२ गते कार्यक्रम हुने भएको छ । साथै इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा असोज २३ गते र भिमफेदी गाउँपालिकामा असोज २४ गते कार्यक्रम हुने भएको छ ।
कार्यक्रममासम्बन्धित वडाका समाजसेवी,बुद्धिजीवी, अगुवा लगायतको सहभागिता रहने तामाङ घेदुङ मकवानपुर अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए । बैठकमा नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा मकवानपुर ईन्चार्ज सुनिल मोक्तान, संघीय सदस्य जानकी तामाङ, प्रदेश सदस्य ठूलीमाया मोक्तान, जिल्ला अध्यक्ष लिलाकुमार घलान, जिल्ला कमिटि सदस्य भीमलाल सिंतान लगायतको उपस्थिति रहेको थियो ।

अभियान अन्तर्गत प्रदेश नम्बर ३ का ललितपुरस्थित गोदावरी नगरपालिका, बाग्मती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, काभ्रेको नमोबुद्ध नगरपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, सिन्धुलीको घ्याङलेक गाउँपालिका, सुनकोशी गाउँपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका,बकैया गाउँपालिका, धादिङको धुनीबेशी नगरपालिका लगायतका स्थानमा अभियान अन्तर्गत संगठन निर्माण भइसकेका छन् भने अन्य स्थानीय तहमा समेत गठन हुने क्रम जारी छ ।

वि.सं.२०१३ सालमा स्थापना भई वि.सं. २०४८ सालमा विधिवत दर्ता भई अनवरत सञ्चालनमा रहेको नेपाल तामाङ घेदुङले तामाङ समुदायको सामाजिक, सांस्कृतिक आर्थिक, शैक्षिक पक्षहरुको सुदृढिकरण र तामाङ एकतामा जोड दिँदै समुदायगत रुपमा तामाङलाई राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य सहित यो अभियान सुरु गरेको हो । ताम्सालिङ क्षेत्रका तामाङ बसोबास रहेको सबै स्थानीय तहहरुमा घेदुङको संगठन निर्माण गर्ने, सामाजिक सांस्कृतिक तथा राजनीतिक मुद्धालाई उठाउँदै तामाङ एकतामा जोड दिने, ताम्सालिङ पहिचान र अधिकारमुखी आन्दोलनमा स्थानीय तहबाटै जनमत सिर्जना गर्नु, तामाङ समुदायको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा जोड दिने र घेदुङलाई तामाङको सुख–दुःखको साथी, संस्था र साझा संस्थाको रुपमा विकास गर्ने उदेश्य अभियानको रहेको छ ।