जनताको विश्वास र भरोसामा तलमाथि हुन्न : प्रधानमन्त्री

२०७५, ६ आश्विन शनिबार १५:०९

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताएका छन् ।

बाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको जनाएका छन् ।

उनले कम्युनिष्ट एकताबद्ध हुँदा कोही नतर्सन आग्रह गर्दै सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट गरेका छन् । प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्ने बताए ।



Loading...