मनहरीमा सुनारले ९४ वर्षमा नागरिकता परिचय पत्र पाए

२०७५, ६ आश्विन शनिबार ११:४१

हेटौंडा ६ असोज । मनहरी–४ की ठूलीमाया सुनारले ९४ वर्ष उमेरमा नागरिकता परिचयपत्र पाएकी छन् । सुनारजस्तै नागरिकताबिहिन नागरिकलाई सेवा दिन वडा कार्यालयले नागरिकता शिविर सञ्चालन गरेको हो । साबिक हा“डीखोला–७ हाल मनहरी–४ को बिकट बस्तीमा अझै पनि नागरिकता लिन बाँकी रहेका नागरिक रहेका छन् ।

स्थानीय पशुपतिनाथ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा ठूलीमायासँगै ७७ जनाले नागरिकता परिचयपत्र प्राप्त गरेका छन् । नागरिकता प्रमाणपत्र प्राप्त गर्नेमध्ये १९ जनाका आफन्त नातेदार नभएका कारण जनप्रतिनिधिको सिफारिसका आधारमा नागरिकता प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

नागरिकता परिचयपत्र नहुँदा सरकारले दुई दशकदेखि ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएकालाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताबाट उनीहरु बञ्चित रहेको वडाअध्यक्ष धु्रब खड्काले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ आफैं नागरिकता बिहिनलाई नागरिकता दिलाउन अघि सरेका थिए । उनले नागरिकता बनाउन कठिनाइ भोग्दै आएकाहरुलाई प्राथमिकता दिएर सिफारिस गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बिसक्सेन ढकाल, प्रशासकीय अधिकृत नबीन लामालगायत उपस्थित रहेका थिए ।



Loading...