टिप्पणी : एसपी साहेब तपाइ आफ्नो काम गर्नुहोस्, हाम्रो काम हामी गर्छौ

हामीलाई थाहा छ : मिडियाको काम फैसला गर्ने होइन, खबरदारी गर्ने हो
२०७५, ३ आश्विन बुधबार २०:२८

मकवानपुर । अहिले मकवानपुरमा एउटा घटना चर्चामा छ । हेटौंडा १४ मयुरधापमा रहेको ओम आश्रममा झारफुक गर्दा हेटौंडा ११ की साबित्री पुडासैनीको मृत्यु प्रकरण । यो प्रकरणमा ओम आश्रमका ‘बाबा’ पुडासैनीको मृत्यु सम्बन्धमा दोषी छन् वा छैनन् भन्ने काम मिडियाको
होइन । यसको सम्बन्धमा पीडितको तर्फबाट परेको जाहेरी उपर प्रहरीले निश्पक्ष छानबीन गर्ने हो । प्रमाणको संकलन गर्ने र सो सम्बन्धमा आवश्यक अनुसन्धान कार्य सकिएपछि सरकारी वकिलको राय बमोजिम मुद्धा दर्ता हुने वा नहुने जे हुनुपर्ने हो सोही कार्य गर्ने हो ।

मकवानपुरका कुनै पनि मिडियाले ओम बाबाले नै हत्या गरेको हो भनी समाचार सार्वजनिक गरेका छैनन । बरु मिडियाहरुले प्रहरीको यो प्रकरणमा देखिएको उदासिनताबारे बोलिरहेका छन् । जाहेरीको आधारमा आरोपीमाथिको सुरु धारणा बनाएर अनुसन्धान कार्य प्रभावित पार्ने काम प्रहरीको होइन । प्रमाणको भारले के भन्छ, बैज्ञानिक अनुसन्धान कार्य गर्नबाट प्रहरी चुक्नु हुन्न । अनुसन्धान कार्यमा प्रहरीलाई आवश्यक सहयोग हुनुपर्छ तर प्रहरीले निश्पक्ष अनुसन्धानका लागि कसैले दिएको सुझावलाई दबाबको रुपमा बुझ्नु पनि हुन्न ।

पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले सुरुवातदेखि देखाएको कार्यशैली शंकास्पद छ । प्रहरी ती ओम बाबाबाट कैफियत हुनै सक्दैन भनी ढुक्क छ भन्ने उसको व्यवहारले देखाउँछ जसको कारण प्रमाणलाई तुरुन्तै सुरक्षित गर्नु र आरोपीलाई कस्टडीमा लिनु पहिलो कर्तव्य पनि प्रहरीले यो प्रकरणमा भुलेको छ ।

भोलिको दिनमा प्रमाण बुझ्दा र घटनाको बैज्ञानिक अनुसन्धान कार्य सम्पन्न भइसकेपछि ओम बाबा निर्दोश साबित हुन सक्छन् । वा पीडितको जाहेरीको आधारमा कसुर प्रमाणित भइ कानून बमोजिम हुन पनि सक्छ । अहिलेको अवस्थामा यि दुबै अवस्थालाई समान रुपमा बुझ्न आवश्यक छ । अनुसन्धान कार्यमा तठस्थता देखिएन र अनुसन्धान अधिकारी अझ भनौँ जिल्ला प्रहरी प्रमुख नै एकतिर कोल्टे पर्ने हो भने खबरदारी गर्ने काम मिडियाको हो, त्यो हामी जारी राख्छौँ नै । प्रहरीको काम निश्पक्ष र बैज्ञानिक अनुसन्धान कार्य गर्ने, प्रमाण संकलन गर्ने र सरकारी वकिल मार्फत् मुद्धा चल्ने वा नचल्ने राय लिई सोही बमोजिम गर्ने हो । त्यो काम मकवानपुर प्रहरी प्रमुखले गरुन् । मिडियाको काम के भइरहेको छ, घटनाक्रम अन्य समयजस्तै सामान्य रुपमा अघि बढेको छ कि छैन, प्रहरीले आफ्नो कर्तव्य कसरी निर्वाह गरेको छ, अन्य आरोपीलाई जस्तै ओम बाबालाई व्यवहार भएको छ वा छैन, किन ओम बाबालाई बिशिष्ठ व्यवहार भइरहेको छ, यसको कारणले अनुसन्धान कार्यमा असर पर्छ कि पर्दैन जस्त विषयमा निगरानी राख्ने हो र त्यही सूचना जनसाधारणसम्म पुर्याउने हो, त्यो हामी जारी राख्छौँ ।

यो पनि हेर्नुहोस् :

 

– यस्तो रहेछ बाबा को आश्रम, जहाँ मृत्यु भयो साबित्री पुडासैनीको

– प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

–  ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

– प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

– पुडासैनी मृत्यु प्रकरण : घटना विवरण लुकाउन सक्रिय छ मकवानपुर प्रहरी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*