विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रको लापरवाही अत्ती भो !

२०७५, २८ भाद्र बिहीबार १८:५६
file photo

बलराम पुडासैनी/ जी. न्यौपाने

मकवानपुर २८ भदौ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रको चरम लापरवाहीको कारण हेटौंडामा विभिन्न समस्या देखिन थालेको छ । पटक पटक विजुली जाने, आउने गर्दा समेत प्राधिकरण बेखबर जस्तै भएर बसेको छ । अझ हाई भोल्टेज विजुली प्रवाह भएको कारण मंगलबार मात्रै हेटौंडाका ६ भन्दा बढी स्थानमा क्षति पुगेको छ ।

त्यसो त हेटौंडावासीहरु निवेदन र गुनासा लिएर प्राधिकरणको ढोका ढकढक्याउन नगएका होईनन् तर प्राधिकरणको वेवास्ता र लापरवाहीको कारण हेटौंडावासी विजुलीकै कारण ज्याननै जाने हो कि भन्दै त्रासमा बसेका छन् ।

गएको मंगलबार हेटौंडामा विद्युत प्रसारणमा भएको समस्याका कारण केहि स्थानमा क्षती पुग्यो । हाई भोल्टेजका कारण हेटौंडा कमलडाँडा निवासी मनोज अग्रवालको घरमा विजुली सर्ट भई १ लाख भन्दा बढीको क्षति भएको भन्दै अग्रवालले तु खबरलाई गुनासो गरेका छन् । उनले भने ‘ विजुली सर्ट भई आगलागी हुँदा १ लाख भन्दा बढीको क्षती भयो तर आफुहरुले समयमानै आगलागी नियन्त्रण गर्न नसकेको भए पुरा घर नै जलेर नष्ट हुन्थ्यो ।’

अग्रवालको घर नजिकै रहेको ब्रम्हदिक एकेडेमीकाृ ४ वटा एडप्टर सोहि दिन विजुली हाईभोल्टेज प्रवाह भएकै कारण पड्किएको एकेडेमीका प्राध्यापक रामबाबु सापकोटाले बताए ।

त्यसैगरी नजिकै घर भएका पत्रकार प्रताप विष्टको घरमा समेत विजुलीको कारण क्षती पुग्यो । उनको घरमा रहेको ईलेक्ट्रोनिक सामानहरु विग्रीयो । उनले ईलेक्ट्रीसीयनलाई बोलाएर चेकजाँच गर्दा हार्इ भोल्टेजकै कारण विग्रीएको थाहा पाए । नजिकैका अन्य ४ वटा भन्दा बढी घरमा विजुली सर्ट भएको छ । जसबाट केहि क्षतीहरु समेत भएको छ ।हाई भोल्टेजकै कारण हेटौंडा १२ मगरटोलमा समेत ट्रान्स्फर्मर जलेको स्थानीय सुर्य घलानले जानकारी दिए ।

मकवानपुरका अन्य स्थानमा पनि खाना खाने बेला भएपछि झ्याप्प विजुली जान्छ । सामान्य हुरी चल्दा वा सिमसिम पानी पर्दा समेत विजुली आउने जाने गर्छ ।  हेटौंडाका सडकका बिचमा सडकनै अवरोध हुनेगरी विजुलीका पोलहरु गडिएका छन् । विद्युत विस्तारको हालत नाजुक अवस्थामा छ । पोलमा विजुलीका तारहरु गज्याङगुजुङ भएका कारण विद्युत सर्ट हुने अनि कहिलेकाँही तारहरु विद्युत सर्टभई बलेका समेत प्रत्यक्ष देख्न सकिन्छ ।

विजुलीको यो नाजुक अवस्थाका कारण मकवानपुरबासी सबैलाई समस्या भएको छ । ग्रामीण भेगमा ट्रान्सफर्मर चेँकजाँच हत्तपत्त हुँदैँन । विद्युत प्राधिकरणका प्राविधिकलाई चित्तबुझे जान्छन् नत्र १५ दिनसम्म कार्यालयमा धर्ना दिँदासमेत कुनै वास्ता गर्दैनन् । समस्या सामान्य मात्रै होईन । केहि समयअधिमात्रै मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा पनि ट्रान्सर्फर पड्कँदा ३० भन्दा बढी घरका ईलेक्ट्रोनिक सामानहरु जले ।

सहि तरिकाले विजुली विस्तार नगर्दा निकै जोखिम हुन्छ ,तर सम्बन्धित निकायको यस विषयमा चासो भने किन देखिँदैन ? सर्वसाधारणहरुले गुनासो गर्न थालेका छन् । दिनमै १७ पटकसम्म विजुली जाने आउने गर्दासमेत प्राधिकरण मौन बस्नुले प्राधिकारणबाटै नियोचित रुपमा अघोषित लोडसेडिङ गराईएको हेटौंडाबासीको आरोप छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*