कविता : अन्तरविरोध

२०७५, २७ भाद्र बुधबार १२:०८
प्रमोद अधिकारी

सधैं सधैं सर भन्नुहुन्थ्यो
तिमीले यो पटक पनि फस्ट हुनुपर्छ
मैले कहिल्यै दोस्रो हुनुपरेन ।

रुख असाध्यै मनपर्ने म
रुखजस्तै बन्न चाहन्थें
लटरम्म फल्ने
सितल छायामा बसेर
भूँईबाट टप्प टप्प टिप्न मिल्ने ।

बाबाको नाक काटिन
मामुको वचन पनि खेर फालिन
आफन्तको स्याबासी
छिमेकीको रुवाबासी
जब अाँख्ला हाल्दै हाल्दै गए
मैले कहिल्यै जमिनतिर हेरिन ।

किताबको किरो भन्थे
साथीहरू डाहा गर्थे
सरहरु मेरो विद्यार्थी भन्थे
विद्यालयले त शहरभरि
होर्डिङ बोर्डमै टाँसिदिएछ
बडेमानको मेरो फोटो ।

फुलका चित्रहरु जब कागजमा रोप्न थालें
कलमका रंगहरुले कागजमै लालीमा भर्न थालें
न माटोको महक थाहा भो
न फुलको सुवास थाहा भो
फुल्नु, फल्नु, झर्नु सबै कागजमै भएपछि
कागज नै बगैंचा बन्यो मेरो ।

सर तपाईंसँग कुनै गुनासो छैन
जब किताब नै संसार भयो
अक्षरहरुमा डुब्दा डुब्दै
पत्तै भएन
किताबले त मेरो रहरको रुख मारिसकेछ ।

मलाई त बाँस बनाइ रोपिसकेछ
यति अग्लिदै अग्लिदै गएछु
अाज अाफ्नै उचाइ बोझ भइरहेछ ।

पाठ्यक्रमले थिचेको मेरो मस्तिष्क
पाठै पाठको पहाडमुन्तिर
सिसिफसको लडाइँ लडिरेछु म
भन्देउन साथी !
मंगल , चन्द्र पुग्नेहरुले
कुनचाहिँ किताब पढेका रहेछन् ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*