सरकार विरुद्ध चिकित्सक आन्दोलित

२०७५, १६ भाद्र शनिबार ०७:५५

काडमाडौं १६ भदौ । १ भदौदेखि लागू भएको मुलुकी ऐनले बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न भएको भन्दै चिकित्सकहरू पुनः आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघले सरकारलाई मुलुकी ऐन सच्याउन दबाब दिन १८ देखि २२ भदौसम्मको आन्दोलन घोषणा गरेको छ । संघका महासचिव डा। लोचन कार्कीले आन्दोलनका क्रममा आकस्मिक स्वास्थ्य सेवा भने सञ्चालन हुने बताए ।

मुलुकी अपराध संहिता ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सरकारले चिकित्सकलाई अपराधीको सूचीमा राखेको भन्दै यस्तो अवस्थामा बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न गर्ने भएकाले आइतबार सेवा दिन नसक्ने जनाएको छ ।

संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट विवादित दफा तथा उपदफाहरूमा संशोधन गर्ने प्रतिबद्धता आएकाले १५ भदौसम्म आन्दोलन स्थगित गरेको थियो । तर, १५ भित्र ऐन संशोधनको प्रतिबद्धताअनुसार सरकार अगाडि नबढेकाले पुनः आन्दोलनमा उत्रन बाध्य भएको संघको भनाइ छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको हस्ताक्षर संकलन तथा ५ हजार काउन्सिल प्रमाणपत्र मेडिकल काउन्सिललाई बुझाउने क्रम जारी रहेको महासचिव डा। लोचन कार्कीले बताए ।

आन्दोलन कार्यक्रम
१८ भदौमा देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द
१९ भदौदेखि आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी नलिने
२० भदौदेखि आकस्मिक बाहेक अन्य अप्रेसन बन्द
२१ भदौदेखि आकस्मिक सेवाबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द
२२ भदौदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द
आजको नयाँ पत्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*