शनिबार ६ जनालाई पुरस्कार, महालक्ष्मी साहित्य पुरस्कार पोखरेललाई प्रदान गरिने

२०७५, ७ भाद्र बिहीबार १२:४८

हेटौँडा, ७ भदौ । यही भदौ ९ गते शनिबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिने भएको छ । महालक्ष्मी साहित्य पुरस्कार तथा अन्य विविध विधामा सम्मान गरिन लागिएको हो ।

मातृभुमी साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले प्रदान गर्दै आएको १६ औ महालक्ष्मी साहित्य पुरस्कार विराटनगरका साहित्यकार विवश पोखरेललाई प्रदान गर्न लागिएको हो । मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेलले महालक्ष्मी साहित्य पुरस्कार २०७४ बाट विराटनगरका साहित्यकार पोखरेललाई पुरस्कृत गर्न लागेको बताए । उनले महालक्ष्मी साहित्य पुरस्कार राशी २१ हजाार १ रुपैया रहेको जानकारी दिए ।

यस्तै महालक्ष्मी विकास बैंक लिमिटेड हेटौडाका शाखा प्रमुख शम्भु प्रसाद पराजुलीले सोही दिन अन्य ५ विधामा पनि पुरस्कार वितरण गरिने बताए । उनले ईश्वरी स्मृति मातृभुमी पुरस्कार २०७४ बाट मैथली भाषाका साहित्यकार महेन्द्र कुमार मिश्र, नित्य गोविन्द स्मृति मातृभुमी संगीत पुरस्कार २०७४ बाट मकवानपुरका प्रयागराज मल्ल र श्याम श्रेष्ठ स्मृति मातृभुमी पुरस्कार २०७४ बाट वरिष्ठ नाटककार अशेष मल्ललाई पुरस्कृत गरिने बताए ।

त्यस्तै कनक सिंह वातावरण मातृभुमी सम्मान २०७४ बाट मकवानपुरका विष्णु प्रसाद ढकाल र होमनाथ बलदेवी मातृभुमी छन्द साहित्य सम्मान २०७४ बाट चितवनका साहित्यकार हुसैन खाँलाई सम्मान गरिन लागिएको पराजुलीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*