हेटौँडाको सालक पार्कमा पर्यावरण विषयक काव्य गोष्ठी

२०७५ श्रावण २७,आईतवार १०:३४

मकवानपुर, २७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित सालक पार्कमा शनिबार पर्यावरण विषयक काव्य गोष्ठी सम्पन्न भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको २२७ औँ साहित्य श्रृङ्खला अन्तगर्त गोष्ठी भएको हो ।

चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुन दाहालको प्रमुख आतिथ्य तथा झर्ना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं २ का अध्यक्ष बखानसिंह पाख्रिन र हेउमनपा वडा नं १७ का वडा सदस्य टीकाप्रसाद तिमल्सिना विशिष्ट अतिथिका रूपमा रहेका थिए । नेपालकै नमूना सामुदायिक वनमध्येको एक चुच्चेखोला सामुदायिक वनद्वारा दुर्लभ जनावर सालकको संरक्षणका निर्मित पार्कको पर्यावरणीय संरक्षणमा विशिष्ट योगदान रहेको र उक्त अभियानमा मकवानपुरका साहित्यकारहरूलाई जोड्ने उद्देश्यले काव्य वाचन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतमले सालक पार्कका विषयमा साहित्यकारहरूलाई विस्तृत जानकारी गराएका थिए । त्यस्तै काव्यवाचनका क्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, झरनाकै संस्थापक जनार्दन खनाल, जनसाहित्यक मञ्चका केन्द्रीय सदस्य मसान उपासक, साहित्य सङ्गम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपाने, आँचल साहित्य कला पुञ्जकी उपाध्यक्ष पूर्णकला घिमिरे, गजल मञ्च मकवानपुरका सदस्य सन्जित श्रेष्ठ, रौतहटका कवि जनक दुलाल, कविहरू बबी थापा, विश्वनाथ सञ्जेल, विश्व राई, सन्तराम राई, देवराज लामिछाने, सुमन पराजुली लगायतले पर्यावरण विषयमा रचना वाचन गरेका थिए ।

कार्यक्रम हेउमनपा वडा नम्बर १७ र चुच्चेखोला सामुदायिक वनको व्यवस्थापनमा सम्पन्न भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*