फरक र मौलिक ढंगले मकवानपुरको थाहा नगरमा टिस्टुङ सडक महोत्सब हुने

२०७५, २५ श्रावण शुक्रबार १६:१६

मकवानपुर २५ साउन । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरमा टिस्टुङ सडक महोत्सब हुने भएको छ । बिगतमा भन्दा फरक र मौलिक ढंगको महोत्सब आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

बज्रवाराही बजार व्यवस्थापन समिति र न्हु दँ मूल समारोह समितिले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेको आयोजक कमिटीले जानकारी दिएको छ ।
आगामी असोज २४ देखि २७ गतेसम्म ४ दिनका लागि सडक महोत्सवको मिति तय गरिएको मूल आयोजक समारोह समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

आयोजकले महोत्सवको नारा ‘ऐतिहासिक टिस्टुङ हाम्रो पहिचान, समृद्ध टिस्टुङ हाम्रो अभियान’ भन्ने नारा तय गरेको छ । हाल ५१ सदस्यीय मूल समारोह समिति गठन गरेर अघि बढेको आयोजकले बताएको छ । महोत्सवका लागि स्थानीय व्यवसायीहरु, राजनीतिक दल, वडा समिति लगायत सरोकारवालाहरुसँग छलफल गर्नुका साथै नगर कार्यपालिकासँग महोत्सवको विषयमा स्वीकृति लिइसकेको संयोजक श्रेष्ठले बताए ।

आयोजक समितिका संयोजक श्रेष्ठका अनुसार उपसमिति समेत निर्माण गरिसकीएको छ । जसमा ईश्वरलाल रुम्बाको संयोजकत्वमा झाँकी व्यवस्थापन, मुक्तिनाथ उप्रेतीको संयोजकत्वमा गायन र रामकाजी महर्जनको संयोजकत्वमा नृत्य उपसमिति बनाईएको छ । यस वर्षबाट शुरु गरिएको टिस्टुङ सडक महोत्सवलाई हरेक वर्ष निरन्तरता दिने गरी पहल गरिने बताइएको छ ।

नेपाल सम्वत् अनुसार नयाँ वर्षको अवसरमा २०५४ सालदेखि टिस्टुङ बज्रवाराहीमा न्हुँः दँ भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामना कार्यक्रम आयोजना गरिँदै आएको छ ।

श्रेष्ठका अनुसार महोत्सवमा सरस्वति बजार पुरै सजाइनेछ । स्थानीय व्यवसायीहरुले आआफ्नो पसल विशेष सजाउने छन् र सामानहरु प्रदर्शन तथा विक्री गर्ने छन् ।यसको अतिरिक्त स्टलहरुमा थाहा नगरमा उत्पादन भएका कृषि उपजहरुको प्रदर्शन तथा विक्री गर्नुका साथै थाहा नगरम रहेको इट्टा, पाइप, कपास, कपडा जता उद्योगका उद्यत्पादनहरुलाई प्रदर्शन तथा विक्री गरिनेछ । थाहा नगरमा रहेका सहकारी , बैंक, वित्तीय संस्था तथा अन्य निजी, सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रवर्धन कक्षहरु पनि महोत्सवमा राखिनेछ ।

टिस्टुङ सडक महोत्सव असोज २७ गते सकिने भए पनि यसको औपचारिक समापन भने कार्तिक २२ गते मात्र हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा स्थानीय कलाकारहरुलाई अवसर दिईने पनि आयोजकले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...