टिप्पणी : गृहमन्त्री बादलको आँखामा बादल लागेको बेला

२०७५, २५ श्रावण शुक्रबार ११:५७

हेटौँडा, २५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विषयमा आज चितवन विमानस्थलमा पत्रकारहरुलाई भन्दै थिए –‘प्रकाण्ड वारेन्ट जारी भएका व्यक्ति हुन्, गैरकानूनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए ।’

गृहमन्त्री बादलसँग पत्रकारले सोधे – प्रकाण्ड अपराधी हुन् ?’
बादलले भने –‘ जसले कानूनको उलंघन गर्छ त्यसलाई हामी अपराधी भन्छौँ ।’

यो संवाद समेत गृहमन्त्री रामबहादुर थापा बादलको धारणा सुनेपछि यो टिप्पणीकारलाई केही लेख्न मन लागेको हो । खासमा यि बादल तिनै व्यक्ति हुन्, जसको नाममा तत्कालिन सरकारले टाउको मुल्यो तोकेको थियो । अझ स्पष्ट भन्दा यिनै बादलसहित अन्य थुप्रै तत्कालिन माओवादीका नेताहरु आतंककारी थिए । यिनको नाममा पनि रेड कर्नर नोटिस जारी भएको थियो र यिनलाई पनि विध्वंस मच्चाएको आरोपमा तत्कालिन सरकारले पक्राउ पूर्जी जारी गरेको थियो । अन्र्तराष्ट्रिय प्रहरी संगठन पनि यिनीहरुलाई खोजी रहेको थियो ।

विस्तृत शान्ति सम्झौता मार्फत् शान्ति प्रकृयामा आएपछि पनि बादलहरु प्रचण्डसँग छुट्टिए । त्यसपछि उनले काठमाडौँको बागबजारमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्ड लाल गद्दार भएको घोषणा गरेका थिए । अहिले प्रचण्डसँग फेरि चोचोमोचो मिलाएर सरकारमा महत्वपूर्ण हैसियत बनाएका यिनै बादलको आँखामा बादल लागेको विश्लेषण गरिँदैछ ।

प्रचण्डसँग पार्टी टुक्राएर छुट्टिएपछि पनि बादलहरुले यो मुलुकमा चन्दा उठाएरै राजनीति चलाएका थिए । चन्दाकै भरमा उच्च स्तरको जीवन निर्वाह गरेका थिए । अहिले पनि गरिरहेका छन् । प्रचण्ड, बादल, ओली, देउवाहरु चन्दै उठाएर राजनीति गरिरहेका छन् । अझ ओली देउवाहरुभन्दाबढी चन्दा त प्रचण्ड बादलहरुले नै उठाएका सत्य सारा विश्वलाई जानकारी छ ।

प्रकाण्ड पक्राउको कारण राजनीति चलाउने त्यहि चन्दा मात्र हो त ? ठोकुवानै गरेर भन्न सकिन्छ – कारण त्यो मात्र होइन । आन्तर्यमा अरु थुप्रै कारण छन् । हुन त चन्दा उठाएर राजनीति गर्नु पनि चानचुन अपराध होइन । अहिलेका गृहमन्त्री बादलकै भनाइलाई स्वीकार गर्ने हो भने गैरकानूनी कृयाकलाप गर्नेहरु सबै पक्राउ पर्ने हो भने यिनै बादलले गृहमन्त्री छोडेर प्रहरीलाई आफ्नो हातमा हत्कडी लगाउन आह्वान गर्नुपर्छ । तर, यिनमा यस्तो आह्वान गर्ने नैतिक साहस छैन ।

विगतमा राज्यविरुद्ध विद्रोह गर्ने टिमको महत्वपूर्ण लिडर भएका कारण बादल पहिले जेल जान तयार हुनुपर्छ । किनकी चन्दा उठाउने भन्दा राज्य विरुद्ध विद्रोह गर्नु ठूलो अपराध हो । मानिस मार्न उक्साउने बादल ज्यानमारा मुद्धामा पनि हत्कडी लगाउन र जेल जान तयार हुनुपर्छ । मान्छे मार्ने र मार्न उस्काउने दुबै कानूनको नजरमा दोषी हुन् ।

चन्दा उठाउनु राम्रो काम हो भन्न खोजेको होइन । तर, सत्ताको मोजमस्तीमा फँसिसकेका बादलले प्रकाण्डमाथि जून भद्दा मजाक गरेका छन् त्यसको परिणाम त नेपाली राजनीतिमा ढिलोचाडो देखिनेनैछ । किनकी हिजो शेरबहादुर देउवाले प्रचण्ड भट्टराइहरुको मागमाथि भद्दा मजाक गरेको परिणाम १० वर्षको जर्जर युद्धको रुपमा जनताले भोगिसकेका छन् ।

जनताले गर्ने विद्रोहलाई स्वीकार गर्न सक्ने सामर्थ राज्य संचालकसँग हुनुपर्छ । राज्य संचालकहरु जिम्मेवार हुनुपर्छ र सरकारको आलोचनालाई झनै ठंडा दिमागले सोच्नुपर्छ । तर, बादलमा अहमता पलाइसकेको भन्ने संकेत भइरहेको छ । अहिले समाजिक संजालमै पनि सरकारको यो कदमको तिब्र विरोध भइरहेको छ र त्यो विरोध सत्तारुढ नेकपाकै कार्यकर्ताबाट बढी भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*