टिप्पणी : प्रदेश राजधानीमा भिआइपीलाई चढ्न दामी गाडी छ, आगो निभाउन गतिलो दमकल छैन

२०७५, २३ श्रावण बुधबार ११:५३
तस्बिर–दिलबहादुर लामा

मकवानपुर २३ साउन । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा अहिले एउटामात्र दमकल छ । कहिँ आगो लागि हाल्यो भने त्यसलाई नियन्त्रणमा ल्याउन हम्मेहम्मे पर्छ । आज बुधबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगो लाग्यो । त्यसलाई नियन्त्रण गर्न हेटौंडामा मौजुदा दमकल, प्रहरी र राज्यको अन्य संयन्त्रले सकेन । करिव २ घण्टाभित्र करोडौँको सम्पत्ति नष्ट भयो । हेटौंडा उपमहानगरपालिकाको दमकलले पानी ओसार्नै सकेन । एकपटक पानी हालेर फेरी पानी लिन दमकल गयो । तर, त्यो बीचमा आगलागीले सबै सबै सखाप जस्तै भइसकेको थियो ।

हेटौंडा, ३ नम्बर प्रदेशको राजधानी हो । यहाँ मूख्य मन्त्री, मन्त्री र अन्य ‘ठूलाबडा’ लाई चढ्न भनेजस्तो सवारीसाधनको व्यवस्था हुन्छ । मेयर साहेबहरुलाई चढ्न नयाँ गाडीको टेन्डर निकाल्न चाहिँदो बजेट हुन्छ । तर, आपतविपतको बेला सबैको साझा प्रयोगमा आउने दमकल किन्नतिर कसैको ध्यान छैन ।

ओम्याक्स सिनेमा हलमा लागेको आगो निभाउन वडा प्रहरी कार्यालयको प्रहरी त्यहाँ पुगेसँगै पुगेका तरुण दलका नगर सभापति सुनिल गिरी भन्छन्, ‘हामी अभागी सहरका बासिन्दा हौँ ।’ करीव २ घण्टा आगो निभाउन ओम्याक्सभित्र बिताएका गिरीको अनुभवमा एउटा गतिलो दमकल नहुँदा आँखै अगाडि करोडौँको सम्पत्ति जलेर सकियो ।

हेटौंडामा थप दमकल किन्ने चर्चापरिचर्चा यस्तै बेला हुने गर्छ । केही दिन चल्छ त्यसपछि दमकल ‘इस्यू’ हराएर जान्छ । आजको घटनामा छिमेकी जिल्ला बाराबाट दमकल नआएको भए आगो नियन्त्रणमा अझै निकै कठिनाई हुने थियो र थप के के क्षति हुन्थे भन्ने कुरा अहिलै अनुमान लगाउन सकिन्न ।

हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले दमकल ल्याउन आवश्यक पहल भइरहेको बताए । उनले आफू निर्वाचित भइसकेपछि दमकलको लागि पहल गर्दै आएको समेत बताए ।

मेयर महतले यसो भने पनि यसअघि पनि यस्ता पहलहरु भइरहेकै हुन् । केबल दमकल नआएको मात्र हो । अब दमकल आउने गरी पहल गर्न ढिला भएन र ?
आज आगो लागेको ओम्याक्स सिनेमा हल र प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको दुरी मोटरसाइकलमा ५ मिनेट मात्रको छ । मु्ख्य मन्त्री डोरमणि पौडेललाई पनि यस्ता समाजिक विषयवस्तुका बारे चासो राख्ने फुर्सद मिलेको छैन । नत्र पौडेललाई पनि हेटौंडामा आपतविपतको बेला चाहिने दमकल छैन भन्ने जानकारी नै छ । उनलाई पनि एक÷दुई दमकल हेटौंडाका लागि आवश्यक छ भन्ने लाग्नुपर्ने हो । हेटौंडामा दमकल कहिले आउँछ त मुख्यमन्त्री ज्यू ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...