सामाजिक क्षेत्रमै क्रियाशील भइ रहने चाहना छ : गिरी

२०७५, १७ श्रावण बिहीबार १२:२९

नवलपरासी जिल्लामा वि.सं.२०४१ साल फागुन २९ गते जन्मिएका सुशीलराज गिरीसँग विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा विभिन्न अभियानमार्फत संलग्न भएर कार्य गरेको अनुभवले उनी बालअधिकार अभियन्ताका रुपमा चिनिन्छन् । बाबु विश्वराज विमल र आमा रविमाया गिरीका चार सन्तान मध्येका जेठो सुशील २०४२ सालदेखि हेटौंडाका स्थायीबासी हुन् । गंैडाकोटस्थित कालिका माविबाट सन् २००० मा एसएलसी उत्तीर्ण गिरीले चितवनको एपेक्स एकेडेमीबाट सन् २००२ मा दश जोड दुई उत्तिर्ण गरे । सन् २००५ मा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट समाजशास्त्र तथा अङ्ग्रेजी विषयमा स्नातक तथा सन् २०१० मा अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका हुन् ।

नेपालका अलावा विदेशको अध्ययन गरेको उनीसँग अनुभव छ । दक्षिण अफ्रिकामा द फाइनान्सियल म्यानेजमेन्ट इस्टिच्युट अफ साउदन अफ्रिकाबाट विजनेश एकाउन्टिङ् र प्राक्टिकल बुक किपिङ् (सन् २००७) सम्बन्धी अध्ययन गरेका उनी हाल नेपाल ल क्याम्पस काठमाडौंमा एलएलबी दोस्रो वर्ष अध्ययनरत छन् । उनीसँग नेपाल बाहेक विभिन्न ११ वटा देश घुमेको अनुभव पनि छ । भारत, दक्षिण अफ्रिका, दुबई, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, इटली, जर्मन, फ्रान्स, कतार, अस्टे«लिया घुमेर प्राप्त अनुभव उनी आफ्नो कार्यमा समेट्छन् ।

बहुमुखी प्रतिभाका धनी गिरी विभिन्न क्षेत्रमा जानकार छन् । बालबालिका र युवा सम्बन्धी तालिम, राष्ट्रिय योजना नीति निर्माणसँग सम्बन्धित तालिम, आपतकालीन् अवस्थामा बालबालिका तथा युवासँग काम गर्ने बारे विभिन्न मानव अधिकार बारे तालिम, खोज अनुसन्धान सम्बन्धी तालिम, वकालत पैरवी सम्बन्धी तालिम, परियोजना प्रस्ताव लेखन सम्बन्धी तालिम प्राप्त उनी फुर्सदका समयमा अनलाइन तालिममा समेत सहभागिता जनाउने गर्दछन् । यस्ता विभिन्न तालिमले आफ्नो ज्ञानलाई फराकिलो बनाएको उनको भनाई छ ।

मिजासिलो स्वभावका गिरी विभिन्न क्षेत्रका कार्यानुभवले खारिएका छन् । स्कुल स्तरबाट जुनियर रेडक्रस सर्कल लगायत विभिन्न समितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाएकैले हुनसक्छ हालसम्म उनी हरेक क्षेत्रमा क्रियाशील हुँदा नेतृत्व तहमै हुन्छन् । बाबु विश्वराजको २० औं वर्षदेखिको विकास अभियानको सक्रियताले पनि आफूलाई सामाजिक अभियानमा लागिपर्न प्रेरणा दिएको गिरी बताउँछन् । गिरी सन् २००२ देखि २००६ सम्म स्वयम्सेवी भएर रेडक्रस लगायत सामाजिक अभियानमा लागिपरे । बालकल्याण समाज मकवानपुरले सञ्चालन गरेको बाल संरक्षण सम्बन्धी परियोजनामा उनी कार्यक्रम संयोजकका रुपमा सक्रिय रहे । हिमराइट्स नेपालको युवा सरोकार सम्बन्धी कार्यक्रममा कार्यक्रम संयोजक, एबीसी नेपालको किशोरकिशोरी अधिकार सम्बन्धी कार्यक्रमको कार्यक्रम संयोजकको भूमिकामा उनले कार्य गरे । यस्तै, जिल्ला विकास समिति मकवानपुरको न्यूनतम सर्त तथा कार्य सम्पादन मापन मूल्याङ्कनकर्ताका रुपमा मकवानपुरका साविकका विभिन्न गाविसमा तीन वर्ष काम गरेको अनुभव उनीसँग छ । बालविवाहको अवस्थाबारे अनुसन्धानकर्ताका रुपमा भूमिका, विभिन्न अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले नेपालमा पहिलो पटक भएको ‘नेपाल बालिका सम्मेलन २०७२’ मा पनि मकवानपुरमा नेतृत्वदायी भूमिका निर्वाह गरे । यस्तै, गिरीले नेपालमा सम्पन्न संविधानसभाको चुनावमा “चुनावमा बालबालिका प्रयोगका विषयमा पर्यवेक्षणको भूमिका पनि निर्वाह गरे ।

गिरीले विभिन्न विषयमा स्रोत व्यक्तिका रुपमा पनि जिम्मेवारी पूरा गरेका छन् । विशेषतः बाल संरक्षण, घटना व्यवस्थापन, अधिकारमुखी अवधारणा, मानवअधिकार एवम् नेतृत्व विकास, असल शासन, सूचनाको हक, प्रस्तावना एवम् प्रतिवेदन लेखन, जीवन उपयोगी शीप, सुरक्षित बसाईं सराई, स्थानीय शासन प्रणालीबारे युवा लक्षित समसायिक सवालमा तालिमका लागि उनी ज्ञाता हुन् । मकवानपुरका साथै विभिन्न जिल्लामा यी विभिन्न विषयमा उनले स्रोत व्यक्ति भएर तालिम प्रदान गरेका छन् ।
पत्रकारिता, साहित्य, घुमफिरमा रुची राख्ने उनै गिरीसँग हामीले सामाजिक अभियानमा उनको सक्रियता, केही व्यक्तिगत तथा केही सामाजिक सवालमा कुराकानी गरेका छौं ।

आजभोली के मा व्यस्त हुनुहुन्छ ? पछिल्लो समय यहाँले गर्नु भएको काम ?
आजभोली फ्रिल्यान्सरका रुपमा छु । दुई महिना अघि अष्ट्रेलियामा थिए । उताबाट फर्केपछि सर्लाहीमा बाल संरक्षण समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्घि तालिम गरियो । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ४ र ५ फाखेलमा बाल संरक्षण नीति बनाइयो, र अहिले फाखेल बालमैत्री वडा घोषणा पनि भयो । यही बिचमा मकवानपुरगढी गाउँपालिकाको ८ वटै वडामा मध्यस्थता नेपालले मकवानपुरगढी गाउँपालिकासँग सहकार्य गरेर सञ्चालन गरेको वडा स्तरीय बालक्लव गठन कार्यक्रमम सहजीकरण गरियो । बाल विवाह सम्बन्धी प्रदेश ३ स्तरीय र मकवानपुर जिल्ला स्तरीय नीतिगत संवाद कार्यक्रममा सहजीकरण गरियो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को जिल्ला युवा समिति मकवानपुर र मनहरी गाउँपालिकाको आयोजनामा भएको नमूना युवा संसद कार्यक्रममा सहजीकरण गरियो । पर्साको पोखरिया नगरपालिका र छिपहरमाई गाउँपालिकामा सामाजिक परिक्षणमा समेत सहजीकरण गरियो । अहिले एउटा संस्थाको परियोजनाको लागि प्रस्तावना लेखनमा लागिपरेको छु भने एउटा नयाँ संस्था सञ्चालनको तयारीमा छु । समग्रमा सामाजिक अभियानका साथै आफूले सिकेको सीप बाँड्ने कार्यमै आजभोली व्यस्त छु ।

तपाई विशेषत: बालबालिका तथा युवाका क्षेत्रमा विभिन्न अभियानमा सक्रिय हुनुहुन्छ । बालबालिका तथा युवासँग सम्बन्धी अहिलेका सवाल के हुन् ?
मकवानपुरमा केन्द्रित रहेर बालबालिकाको सवालमा हेर्दा बाल विवाह एउटा गम्भीर सवालका रुपमा छ । पहिले अभिभावकको करकापमा बाल विवाह हुने गरेकोमा अहिले आफूखुशी बाल विवाह गरेको पाइन्छ । यस्तै, बालबालिका सडक, नदीछेउ, गलैचामा काम गर्ने इट्टाभट्टामा जाने लगायतका बाल श्रमको समस्या छ । गाउँघरमा विद्यालयनै छाडि घरायसी काममा संलग्न हुने, विभिन्न होटलमा संलग्न हुने, बेचविखन तथा ओसार पसार, शारिरीक, मानसिक एवम् भावनात्मक दुव्र्यबहारमा बालबालिका परेको पाइएको छ । युवाका सवालमा कुरा गर्नुपर्दा वैदेशिक रोजगार, बेरोजगारी समस्या, आजको भोलि नै तत्काल प्रतिफल खोज्ने समस्या युवामा रहेको पाइन्छ । युवा लागुऔषध दुव्र्यशनमा फसेको समेत पाइन्छ । गुणस्तरीय समय सापेक्ष र रोजगारीमूलक शिक्षाको अभाव, व्यवसायिक शीप र प्रविधिको पहुँचबाट युवा टाढा छन् र यस कारण समाजमा युवाका विभिन्न सवाल सम्बोधन हुन सकिरहेको छैन ।

बालबालिका, युवाका अलावा तपाई अन्य विभिन्न सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ । रेडक्रस अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अहिले पनि विभिन्न सामाजिक अभियानमा अभियन्ताका रुपमा आफू अग्रपंक्तिमा रहेर काम गर्नुहुन्छ । यो सामाजिक क्षेत्रमा लाग्ने सोच अथवा प्रेरणा चाँही तपाईंले कसरी पाउँनुभयो ?
बुबाले सामाजिक विकास अभियानमा लामो समय काम गर्नुभयो । सायद बुबाको सामाजिक अभियानको छाप ममा पनि परेको हो । म सन् २००२ देखि रेडक्रसमा सक्रियतापूर्वक लागिपरे । त्यो बेला समुदाय देख्ने, चिन्ने मौका पाइयो । विपदका बेला राहत, उद्घारको काम गरियो । मकवानपुर जिल्लाको आधा भन्दा बढी ठाउँ सन् २००६ सम्ममै पुगियो, त्यहाँको समुदाय चिनियो, अवस्था थाहा भयो । अब सामाजिक रुपमा लाग्नुपर्छ भन्ने सोच पलायो । वि.सं. २०६१ सालमा आएको ठूलो बाढी पहिरोले मकवानपुरका विभिन्न ग्रामीण क्षेत्रमा निकै जनधनको क्षति भयो । त्यो बेला पीडितहरुको पीडा प्रत्यक्ष देखियो । त्यसले मन छोयो र समाजसेवा गर्नुपर्छ भन्ने भावना ममा जागृत भयो । त्यस्तो बेलामा बालबालिका झन् जोखिममा पर्ने देखियो । बालबालिकाका लागि ध्यान दिने खासै कोही पनि हुने नभएकाले उनीहरुका लागि बोल्नुपर्छ भन्ने लाग्यो । अनि सामाजिक रुपमा लाग्नका लागि प्रेरणा मिल्यो ।

समाजमा बोल्नुपर्ने, आवाज उठाउनुपर्ने अथवा हामीले ध्यान दिनुपर्ने विषय अनेक छन् नि तपाई किन विशेषत: बालबालिका र युवाका सवालमा बढी सक्रिय ?
माटाको भाँडालाई कस्तो आकार दिने भन्ने कुरा कुमालेको हातमा हुन्छ । बालबालिकालाई सही मार्ग दिन सकियो भने सही मानव बनाउन सकिन्छ । बालबालिका देशका कर्णधार, आधारस्तम्भ भएकाले उनीहरुलाई अघि बढाउन आवश्यक छ भन्ने लागेर नै बालबालिकाको सवालमा सक्रिय भएको हुँ । यस्तै, वि.सं.२०६८ को गणना अनुसार नेपालमा ४०.३५ प्रतिशत युवा छन् । देश बनाउँने भूमिका वास्तवमा युवाको काँधमा छ । जसरी घर मजबुत बनाउँन जग बलियो बनाउँनुपर्छ त्यसैगरी देश विकास गर्न अथवा देश बनाउन बालबालिका तथा युवालाई समेटेर उनीहरुका लागि आवश्यक शिक्षा, दिक्षाको व्यवस्था गर्नुपर्छ अनि असल नागरिक बन्छन्, देश विकास हुन्छ ।

तपाईंले विभिन्न देश घुम्नुभयो । ति देशहरुमा नेपालीपन, नेपालीको अवस्था, सवाल चाँही के पाउँनुभएको छ ?
विभिन्न समयमा विभिन्न देश घुम्ने, बुझ्ने मौका पाइयो । विदेशमा धेरै नेपाली भेट्ने कुराकानी गर्ने मौका पाइयो । विभिन्न देशमा रहेका अधिकांश नेपालीको अवस्था दयनीय छ । यस्तो अवस्थामा पनि हाम्रो देश बाहिर रहेका किन रहे भन्ने मनमा लाग्यो । सामाजिक असुरक्षाका कारण देश छाड्ने गरेको पाइयो । अरु देशमा स्वास्थ्य, शिक्षा सरकारले जिम्मा लिन्छ । हामी कहाँ त्यो छैन, त्यो भएर पनि देश छाड्न बाध्य बनेको पाइयो । नेपालमा गैसस लगायतले जति काम गरेपनि जबसम्म सरकार जिम्मेवार हुदैन, तबसम्म विकास सम्भव छैन ।

तपाईं यतिका देश पुग्नुभयो, युवाहरु अहिले जसरी पनि बाहिर जान चाहन्छन्, पढ्ने, पैसा कमाउने उनीहरुको चाहना हुन्छ । तपाई ति देश घुमिरहँदा उतै बसौं भन्ने लाग्दैन ?
आफ्नै ठाउँ, देशमा केही गर्नुपर्छ भन्ने चाहना ममा छ । विकासमा आफ्नो सार्थक सहभागिता हुनुपर्छ भन्ने लाग्छ । पैसा नै सबैथोक हो भन्ने पनि लागेन । अर्काको देशमा पसिना चुहाउने भन्दा पनि आफ्नै देशमा दुःख गर्नुपर्छ भन्ने लाग्छ । आफ्नै देशमा प्रसस्तै अवसर तथा सम्भावनाहरु छन् । केही छैन भनेर निराश हुनुभन्दा पनि भएका अवसर बुझ्दै रमाउँदै अघि बढ्नुपर्छ भन्ने लाग्छ । त्यस्तो खासै बाहिरै बसौं भन्ने पनि लागेन । राम्र्रो गर्ने, मेहनत गर्नका लागि नेपालमै पनि प्रसस्त सम्भावना छन् भन्ने लाग्छ ।

घुमेका विभिन्न देशमध्ये चाँही तपाईंलाई कुन देश मनप¥यो ?

सौन्दर्यताका हिसाबले नेपाल नै सबैभन्दा राम्रो । प्रणाली नीति, नियम कार्यान्वयनको पाटोमा हामी सबैभन्दा पछाडी भन्ने लाग्यो । अरु देशमा प्रणालीले बाँधेको र नागरिक आफैं सचेत छन् । हामीमा गैरजिम्मेवारपन बढी छ । हामी अधिकार धेरै खोज्ने र कर्तव्यमा त्यति ध्यान नदिने गरेकाले पनि पछाडी परेका हौं ।

तपाईं आफ्नो देशको विकास, समृद्घिप्रति चाँही कत्तिको आशावादी हुनुहुन्छ ?

अहिले स्थानीय तहमा जन प्रतिनिधी आएका छन् । अवसर तथा चुनौतीहरु प्रसस्तै छन् । केही गरौं भन्ने भावना भएका जन प्रतिनिधी छन्, युवा नेताहरु पनि हुनुहुन्छ । साँच्चै चाहने हो भने अब नेपालमा विकासका ढोका खोल्ने समय हो यो । लामो समयदेखिको सङ्क्रमणको अन्त्य भएको छ । जनका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनमा आएको छ । देशमा संघीयताको अभ्यास भइरहेको छ । सिंहदरबारको अधिकार गाउँमै ल्याउने भनिएको छ । अझै पनि केही तयारीहरु हुदै होलान्, सरकारका तर्फबाट युवाहरुका लागि पनि समेटेर केही अवसरहरु आएका छन् । सर्टिफिकेट धितो राखेर ऋण पाइने व्यवस्था सरकारले गरेको छ । यस्तो सरकारी निर्णयले केही उद्यम गर्ने चाहना भएका, शिक्षा आर्जन पनि गरेका तर पैसा नभएर बसेकाहरुका लागि अवसर बन्नसक्छ । हामी केही होला भन्ने आशामै बस्ने हो । पक्कै पनि आगामी दिनमा उद्योग कलकारखाना खुल्ला, वैदेशिक रोजगारीमा जानुभन्दा यही केही गर्ने वातावरण बन्दै जाला, समग्रमा देश विकासको गति अघि बढ्ला । हामी निराश हुनुहुन्न, आशावादी हुनुपर्छ र म पनि उत्तिकै आशावादी छु ।

अलिकति व्यक्तिगत कुरा गरौं, फुर्सदको समयको तपाईंको रुची चाँही के हो ?
सामाजिक अभियानमा सक्रिय हुनाका अलावा भ्रमण नै मेरो रुची हो । मलाई देश तथा विदेशमा घुम्न रहर लाग्छ । अध्ययन गर्ने तथा मुभी हेर्ने पनि रुची छ । घरमा हुँदा कहिलेकाही घरायसी काममा सहयोग गर्नुका साथै छोरोसँग खेल्ने, टिभी हेर्ने गर्छु ।

तपाईंसँग पत्रकारिताको पनि अनुभव छ । हेटौंडाबाट प्रकाशन हुने कुराकानी साप्ताहिकमा जोडिनुभएको थियो । के लागेर पत्रिकामा संलग्न हुनुभएको थियो ?

नेपालमा माओवादी जनयुद्घका बेलामा म हेटौंडाबाट प्रकाशन भएको कुराकानी साप्ताहिकमा रिपोर्टरको भूमिका अनुभव बटुले । पत्रकार साथीहरुसँग रिर्पोटिङ्का लागि विभिन्न ठाउँमा पुगियो । पत्रकारिता,मिडियालाई वास्तवमा त्यतिकै राज्यको चौथो अङ्ग भनिएको होइन । पत्रकारितामार्फत समाजको सकारात्मक रुपान्तरण गर्न सकिन्छ । म सामाजिक अभियानमा बढी सक्रिय भएँ । पत्रकारितालाई नै मूल पेशा बनाएर भने अघि बढिएन, एउटा समय थियो त्यो, साथीभाई थिए पत्रकारिता बुझ्ने मौका मिल्यो बस यति ।

तपाईंलाई आफूले गरेका कस्ता कार्य देखि आफैंलाई खुशी लाग्छ ? आज सम्झिनुहोस् न आफूलाई खुशी लागेका केही कामहरु ।
मैले विभिन्न समयमा विभिन्न अभियानमा रहेर आफ्नो भूमिका निर्वाह गरे । आफूले जिम्मेवारी बहन गरेको अभियानबाट बाल विवाह रोकिँदा, आफूले प्रदान गरेको परामर्शका कारण विदेश जान तयार भएका युवाले विदेश नगई स्वदेशमै प्रगति गर्दा, विपद् जोखिममा परेका बालबालिकालाई सहयोग गरेको कार्यले मलाई खुशी मिल्छ । मैले आफ्नो व्यक्तिगत रुपमा पनि विभिन्न खालका सहयोगहरु गरेको छु । आफ्नो जन्मदिन बालगृहहरुमा गएर मनाउँने गर्छु । बेलाबखतमा बालबबालिकालाई आफ्नो तर्फबाट विभिन्न सहयोग गर्ने गरेको छु । यस्ता विभिन्न सहयोग गर्न पाउँदा मलाई खुशी लाग्छ ।

तपाईंका जीवनका योजनाहरु के छन् ?
मलाई निरन्तर सामाजिक अभियानमै सक्रिय भइरहने मन छ । एउटा बोर्डिङ् सञ्चालन गरिरहको छौं । हेटौंडा मयुरधापमा रहेको बोर्डिङ्लाई बुबाले व्यवस्थापन गरिरहनुभएको छ । बोर्डिङ्लाई आवश्यक सहयोग गर्नेछु । साथै, सञ्चालनको तयारी गरिएको संस्थामा सक्रिय हुनेछु । समय अनुसार जीवनमा आवश्यक पर्ने विभिन्न कार्यमा लागिपर्ने छु ।

विभिन्न अभियानमा व्यस्त भइरहनुभएको बेलामा हामीलाई समय उपलब्ध गराइदिनुभयो । आफ्नो कार्यानुभव, देश विदेश घुम्दा प्राप्त अनुभव सुनाइदिनुभयो, यहाँलाई धन्यवाद ।
तपाईलाई पनि म सँग कुराकानी गर्नुभएकोमा धन्यवाद । विभिन्न सामाजिक अभियानमा लाग्ने अवसर प्राप्त गरेको थिए । अहिले पनि लागिपरेकै छु । मैले सिकेको बुझेको कुरा आफ्नो सञ्चारमाध्यममार्फत पाठक समक्ष पु¥याउँदा त्यसबाट धेरैलाई प्रभाव पर्छ भन्ने सोचले नै मलाई तपाईले स्थान दिनुभएको हुनसक्छ यसका लागि म आभार व्यक्त गर्दछु । जीवनको हालसम्मको भोगाईमा बालबालिका तथा युवाका सवालमा विभिन्न अभियानमा लागिपरेको कार्यानुभव म सँग छ । यी अनुभवलाई धेरै समक्ष पु¥याउन पाउँदा मलाई पनि खुशी लागेको छ । वास्तवमा हामी आफूले देखे, भोगेका कुरा बाड्याँै भने कसैका लागि केही गर्ने सोच पनि बन्न सक्छ । नेपालमा अहिले कति युवा काम पाइएन, बेरोजगार भइयो भनेर निराश भइरहनुभएको छ । यो कुराकानी गर्दागर्दै पनि कतिपय युवा विदेश गइरहनुभएको होला । हामी त्यति धेरै निराश र त्यति धेरै आत्तिहाल्नु पर्ने देशमा छैनौं । विस्तारै विकास समृद्घि आउँदैछ । प्रतिक्षा गरौं, समृद्घि सम्भव छ हाम्रै पालामा । मलाई अन्तरवार्ताको लायक ठानेर केही मेरा व्यक्तिगत, केही सामाजिक अभियानसँग जोडर कुराकानी गर्ने मौका दिनुभएकोमा तपाईं लगायत तपाईको मिडियालाई फेरी पनि धन्यवाद भन्न चाहन्छु ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*