‘आफैले बनाउनु भएको समिति मेयर ज्यूले आफैले मान्नु भएन’– मउवा संघ अध्यक्ष कटुवाल

२५ मिटर सडकको सवालमा यसो भन्छन् कटुवाल
२०७५ श्रावण १३,आईतवार १९:४५
file photo

मकवानपुर, १३ साउन । मकवानपुर उद्योग वाणिज्य संघ यतिखेर राप्ति रोडमा दुई पाङ्ग्रे सवारीको पार्किङको लागि माग राख्दै हेटौँडा उपमहानगरपालिकाले राप्तिरोडमाथि गरेको अन्यायको विरुद्धमा शान्तिपूर्ण विरोधमा उत्रिएको छ । राप्तिरोडमा दुई पाङ्ग्रे सवारीलाई पार्किङ गर्न दिनुपर्ने या त कतै पनि पार्किङ गर्न नदिने नियम बनाउनुपर्ने माग सहित यही साउन १६ गतेसम्म चरणबद्ध विरोधमा मउवा संघ उत्रिएको छ । यसै विषयमा तु खबरका जी. न्यौपानेले मउवा संघका अध्यक्ष कृष्ण कटुवालसँग गरेको कुराकानी ।

अहिलेको आन्दोलन के विषयमा हो ?

–आन्दोलन पनि नभनिकन यसलाई विरोधको कार्यक्रम भन्नुपर्छ । एक महिनादेखि राप्तिरोडमा मात्र दुई पाङ्ग्रे सवारीलाई पार्किङ गर्न दिइएको छैन । दुई साईड नभए पनि एक साईड मात्र पार्किङ गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो । यदि पार्किङ गर्नै नदिने हो भने राप्तिरोडमा मात्र होईन सबै ठाउँमा पार्किङ निषेध गर्नुपर्यो भन्ने हाम्रो माग हो ।

विकासको हिसाबले त बाटोमा सवारी साधन पार्किङ गर्नु त्यति राम्रो मानिदैन नि होईन र ?
– दुई पाङ्ग्रेलाई मात्र पार्किङ दिनुस् भन्या हाँै हामीले । हामी विकासको विरोधी होईनौँ । १६ मिटर बाटो र २५ मिटर बाटोको सन्दर्भमा कुरै गर्ने हो भने १६ मिटरको हकमा हामी मुआब्जा नलिइकनै छोड्न तयार छौँ । तर २५ मिटरको बाटोको सन्दर्भमा कुरा गर्ने हो भने यदि सरकारले मुआब्जा दिएर बाटो फराकिलो गर्छ भने हामी त्यसमा तयार छौँ । र त्यो नभएसम्मलाई एक ठाउँमा पार्किङ गर्न दिनुपर्यो ।

विरोध कहिलेसम्मलाई हो ?
–आजलाई कालोपट्टि बाँधेर काम गर्ने, साउन १४ गते बिहान ११ बजेसम्मलाई पसल बन्द गर्ने र १६ गते उपमहानगरपालिकामा धर्ना दिने कार्यक्रम छ ।

२५ मिटर र १६ मिटर बाटोको कुराको कहिले टुङ्गो लाग्छ ?
– १६ मिटर कि २५ मिटर बाटो भन्ने विषयको छिट्टै टुङ्गो लाग्ने कुरा बुझिएको छ । करिब ३–४ महिनामा यो कुरो टुङ्गो लागिसक्ने कुरा जानकारीमा आएको छ ।

व्यवसायी कति छन् राप्तिरोडमा ?
–३००–४०० सम्म व्यवसायीहरु राप्तिरोडमा व्यवसाय गर्छन् । उनीहरु पार्किङको असुविधा हुँदा मर्कामा छन् ।

दुई पाङ्ग्रे मात्र भन्नुभयो, अरुलाई पनि त पार्किङ एरिया चाहिएला नि ?
–हो अहिलेलाई दुई पाङ्ग्रेलाई मात्र पार्किङ एरिया चाहिएको हो । सवारी साधनहरु अरु पनि छन्, उनीहरुलाई तोकिएको पार्किङको काम पनि सुरु भएको छैन । काम सुरु नभएसम्म उपमहानगरपालिकाले एउटा निश्चित एरिया तोक्नुपर्ने हो । हामी सहरभित्र ठूला गाडी नचलोस् भन्छौँ, यो सहरीकरणभित्र पर्छ । त्यसो भन्दै गर्दा पैदलयात्रीहरु, साईकलयात्रीहरु र अटो लगायतका सवारी साधनहरुलाई पनि छुट्टै व्यवस्था भयो भने राम्रो हुन्छ ।

हेटौँडामा २५०० वटा अटोहरु संचालनमा छन् । ७–८ लाख तिरेर अटो खरिद गरेका छन् । महिनामा १५ हजारजति किस्ता बुझाउनुपर्छ उनीहरुले, पार्किङ एरिया नपाउँदा उनीहरुको व्यवसाय मर्कामा परिरहेको कुरालाई कसरी हेर्नुहुन्छ तपाईहरुले ?

– उनीहरुलाई भनेको रानी दरबार अगाडिको खाली ठाउँ, भैरव रोडको खाली ठाउँ र चौकिटोल भनिएता पनि पार्किङ एरिया निर्माण नगरिदिँदा अटो चालकहरु मर्कामा परेका हुन् । विकल्पै नल्याईकन उपमहानगरपालिकाले काम गरेका कारण समस्या बढेको हो ।

सबै कुरालाई हेर्दाखेरी मेयर ज्यूको एकल निर्णय जस्तो देखियो नि ?
–हो, उहाँले एउटा पार्किङ अध्ययन समिति पनि बनाउनु भएको छ । त्यसमा उपमेयर मीना लामा संयोजक हुनुहुन्छ । म आफै त्यसको सदस्य हुँ, वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली, हेटौँडा २ का वडाअध्यक्ष हरिबहादुर राउत, मउवा संघ सदस्य समिर डंगोल सदस्य रहेका छन् । समिति त बन्यो तर छलफलमा उपमहानगरपालिकाले कहिले पनि बोलाएन । संयोजक रहनुभएका उपमेयर लामा पनि यस कुरामा अन्यौलमा हुनुहुन्छ ।

१६ गतेसम्म तपाईँहरुको विरोधको कार्यक्रम छ, यदि तपाईहरुको माग सुनुवाई भएन भने के गर्नुहुन्छ ?
– यदि हाम्रो माग सुनुवाई भएन भने कडा प्रतिश्पर्धा गर्न हामी बाध्य हुनेछौँ । त्यो त्यतिखेर मात्र थाहा हुन्छ । तर हामीलाई विश्वास छ, त्यस्तो समय आउँदैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*