सरिखेतमा सडक निर्माणलाई प्राथमिकता, बजेट खर्च बारे स्थानीयको चासो

२०७५, २७ असार बुधबार २०:०५

मकवानपुर, २७ असार । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतमा बुधबार सार्वजनिक सुनुवाई भएको छ । राक्सिराङ गाउँपालिकाले १,२,३ (साविकको सरिखेत) र ४ र ५ (साविकको राक्सिराङ गाविस) नम्बर वडालाई समेटेर सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा त्यस क्षेत्रका उपभोक्ता समिति, बिभिन्न टोल विकास संस्था, राजनीतिक दल, महिला समुहका प्रतिनिधिहरु र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले सडक निर्माण, विभिन्न विषयगत क्षेत्रको बजेट खर्च, शुसासन र पारदर्शीताका बरेका प्रश्न गरेका थिए ।

सहभागीहरुको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाले सिमिति स्रोत साधनकाबीच राम्रो काम गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले कुनै भुगोल र समुदायलाई भेदभाव नगरी बजेट बितरण र विकासका कामहरु गरिरहेका छौं’, उनले भने ।

राजमार्गदेखि गाउँपालिका केन्द्रसम्म पुग्ने मोटरबाटो निर्माण र वडाहरुबाट गाउँपालिका केन्द्र पुग्ने सडक निर्माण पहिलो प्राथमिकतामा रहेको अध्यक्ष मल्लले बताए । मनहरीदेखि चैनपुर सडकमा यसै आर्थिक वर्षमा मोटर सञ्चाल गर्ने लक्ष्य राखेपनि जिल्ला समन्वय समिति र उपभोक्ता समितिका कारण पुरा नभएको बताए । ‘जिल्ला समन्वय समितिले उक्त सडकमा बजेट लगानी गरेको पत्र दियो तर मोटर चल्ने बाटो निर्माणको स्टेटमेन्ट देखिएन’, उनले भने, ‘उपभोक्ता समितिले पनि समयमा काम नसकाउँदा यसै आर्थिक वर्षमा काम सकाउन सकिएन ।’

गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले न्यायीक समितिमा आएका बिवाद र मुद्धाहरुमा निष्पक्ष ढंगले छानबिन र निर्णयहरु गरिँदै आएको बताईन् । तर अझै पनि न्यायीक समितिमा भन्दा प्रहरीमा मुद्धा लिएर जाने क्रम बढि रहेको उनको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कार्यक्रमा तेस्रो गाउँसभाबाट पारित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।

गाउँ कार्यापालिका सदस्य सिमोन बिकले स्वागत मन्तब्य तथा सञ्चारकर्मी शिवकुमार काशीले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न विषयत कार्यालका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । करिब डेढसय जना सरोकारवाला सहभागि कार्यक्रमको संयोजन एस.एम.एस. मिडिया प्रा.लि.ले गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*