संचार माध्यमलाई व्यवसाय कर लगाउने निर्णयको हेटौँडामा विरोध

२०७५, २७ असार बुधबार १९:२४

हेटौँडा, २७ असार । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका संचारमाध्यमहरुलाई व्यवसाय कर लगाउने गरी आर्थिक विधेयक प्रस्ताव गरेपछि हेटौँडा उपमहानगरपालिकाभित्र संचालित संचारमाध्यमका प्रतिनिधिहरुले त्यसको विरोध गरेका छन् ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५–०७६ मा संचारमाध्यमलाई करको दायरामा ल्याउने प्रस्ताव खारेज गर्नुपर्ने भन्दै संचार माध्यमका प्रतिनिधिहरुले नगरप्रमुख हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा संचारमाध्यम राज्यले तोकेको निकायमा दर्ता भई सम्बन्धित निकायमा कर समेत तिरेर संचालनमा रहेको अवस्थामा पुनः उपमहानगरपालिकाले समेत करको दायरामा ल्याउन खोजेको प्रति आपत्ति जनाइएको छ ।

उपमहानगरपालिकाले संचारमाध्यमहरुलाई आफ्नो नियन्त्रणमा लिई अंकुश लगाउने काम गर्न लागेकोमा यसको विरोध गरिएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख हरिबहादुर महतले विगतमा पनि यो करबारे उल्लेख भएपनि कसैसंग कर नलिएको बताउँदै यसलाई छुट दिन सकिने बताए । मेयर महतले छुटको कुरा गरेता पनि यो आर्थिक विधेकमा संचार माध्यमलाई व्यवसाय कर लिने कुरा पारित भएमा यसले प्रेस स्वतन्त्रता माथि नै धावा बोल्ने जानकारहरु बताउँछन् । केन्द्रीय सरकारले समेत हस्तक्षेप गर्न नमिल्ने प्रेस स्वतन्त्रताको सवालमा यो करले संविधान र संघको नियमलाई समेत तोड्ने विश्लेषकहरु बताउँछन् । संचारमाध्यमलाई नियन्त्रण गर्ने कुनै पनि ऐन बनाउन उपमहानगरलाई अधिकार दिइएको छैन ।

यस विषयमा ज्ञापन पत्र बुझाउने क्रममा समेत मेयर महतसँग मकवानपुरे संचारकर्मीको चर्काचर्की समेत परेको थियो । तर मेयर महतले व्यवसाय कर लगाएरै छाड्ने अडान कसेका छन् भने यता संचालकहरुसँग कुनै छलफल बिना नै आउन लागेको नियम पारित भएमा आर्थिक बिधेयकलाई उपमहानगरपालिकामा नै जलाउने पक्षमा संचारकर्मीहरु छन् ।

ज्ञापनपत्र बुझाउन हेटौँडाका पत्रिका, रेडियो, अनलाईन, टेलिभिजन र अनलाईन टेलिभिजनका संचालक एवं प्रतिनिधिहरु उपमहानगरपालिका कार्यालयमा पुगेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...