हेटौँडामा होला त राजधानी ? संघीयताको मर्म लत्याएर प्रदेशको नामाकरण गर्ने दाउमा प्रदेश सरकार

२०७५, २६ असार मंगलवार १२:१६

हेटौँडा, २६ असार । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आउँदो साउन ३ गते बस्दै छ । साउन ३ को बैठकबाट नै प्रदेश नम्बर ३ को स्थायी राजधानी र नामका विषयले समेत चर्को स्वरुपमा चर्चा पाउने लगभग तय भइसकेको छ ।यो अवधीमा राजधानी रहने स्थानको विषयमा गठित समितिले समेत अध्ययन प्रतिवेदनको अन्तिम तयारी थालेको छ भने संघीय प्रदेशमा संघीयता र पहिचानको मुल मर्मलाई नलत्याएर पहिचानकै आधारमा ‘नेवाःताम्सालिङ प्रदेश’ नामाकरण गर्नुपर्नेमा समेत नागरिक समाजबाट प्रदेश सरकारलाई दवाब बढेको छ ।

त्यसो त राजधानीको विषयमा खासै ठूलो चर्चा गरिरहनु नपर्ने कुरालाई सरकारदेखि आमसर्वसाधारण नागरिकले समेत बुझिसकेका छन् । त्यसैले केही सांसदहरुले व्यक्तिगत स्वार्थहरुलाई आधार बनाएर राजधानीको लागि आफ्नै ठाउँलाई सिफारिस गर्दै आएका छन् । मकवानपुरमा राजधानी राख्ने विषयमा नेकपा सरकारलाई नै चुनौति छ । हेटौँडा राजधानी नतोकिए नेकपा सरकारलाई अर्को चुनावमा यहाँका मतदाताले लोप्पा ख्वाईदिने लगभग तय भएकै कुरा भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यता जनआन्दोलनको बलमा उभिएको पहिचान सहितको संघीय संरचनालाई लात हान्ने दाउमा रहेका नेताहरुलाई अर्को विद्रोह जन्मन सक्ने भयले समेत सताएको जानकारहरु बताउँछन् । तर पनि उनीहरु पहिचानको मुद्धालाई जातिय मुद्धा भनेर विष घोल्ने काममा लागेको प्रष्ट हुँदै आएको छ । यसै विषयमा केही साता अघि हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल बाहेक अरु सबैले पहिचानको मुद्धाको घुमाउरो पारामा जवाफ दिए । उनीहरु विवादमा नफसी अगाडि बढ्ने गरी भाषण दिइरहँदा मन्त्री जम्कट्टेलले मात्र पहिचानसहितको संघीयताको खुलेर बोले । ती बाहेक अन्य वक्ताहरुमा मुख्यमन्त्री डोरमणि पौडेलले ‘मधेसका जनतालाई मधेसकै जनताले हेप्ने हो’ भन्दै उल्टै दोष लगाएर पन्छिए ।

भूमि,व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कार्यक्रमको विषयभन्दा बाहिर गएर उत्पादनमुलक विकास भन्दै पन्छिए भने उपसभामुख राधिका तामाङले समेत पहिलो र दोस्रो अध्याय भन्दै रनभुल्ल पारिदिए । सभामुख सानुकुमार श्रेष्ठले अधिकार मात्र माग्ने कर्तव्य चाहिँ पुरा नगर्ने भन्दै फलाके । यी सबै अभिव्यक्तिहरुलाई केलाउने हो भने संविधानले व्यवस्था गरिदिएको पहिचान सहितको संघीयताको विषयलाई लत्याउने तरखरमा अधिकांश सांसदहरु लागिपरेको विश्लेषकहरु बताउँछन् ।

प्रदेशको राजधानी नाम ‘नेवाः ताम्सालिङ’ राख्नु जातिय भए अरु नै पहिचानका आधारमा उपयुक्त नाम राख्नुपर्ने कतिपयको धारणा छ तर प्रदेश सरकार भने बाग्मती, पशुपति जस्ता नाममा अडान लिने सुरमा भएको श्रोतले जानकारी दिएको छ । नेपाल मण्डल तथा नेवाः ताम्सालिङ जस्ता पहिचानको आधारको नामलाई जातिय भन्दै कुर्लने सांसदहरु आपसमा विवादमा मुछिएको कतिपयको आरोप छ ।

यसैबिच, प्रदेश नंबर ३ को राजधानीको स्थानको विषयमा अध्ययन गर्न बनेको समितिले मंगलबार दिउँसो प्रदेशसभालाई लिखित प्रतिवेदन बुझाउने लगभग तय भएको छ । समितिका सभापति दिपक निरौलाले प्रतिवेदनको अन्तिम खाका तयार भएको समेत बताउँदै आएका छन् ।
१२ जिल्लाबाट आएको सुझावको आधारमा जिल्ला तोकेर राजधानीको विषयमा प्रतिवेदन बनाइएको समितिको दाबी छ । प्रदेशसभाका सांसदहरुले राजधानीको लागि काभ्रे, नुवाकोट, चितवन तथा भक्तपुरको माग समेत गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*