‘नो पार्किङ’ मा मउवासंघ र हेटौँडा उपमहानगरपालिकाको जुहारी, ट्राफिक प्रहरी र सवारी चालक ट्वाँ

२०७५, २२ असार शुक्रबार १७:१०

हेटौँडा, २२ असार । हेटौँडा बजारको मुख्य क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाले एकोहोरो रुपमा ‘नो पार्किङ जोन’ घोषणा गरेपछि मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबिच जुहारी चलेको छ । व्यवसायीको हितमा लागेको संघ र एकल निर्णयमा पुगेको उपमहागरपालिका मध्ये व्यवसायी भने संघकै पक्षमा देखिएका छन् ।

संघले विज्ञप्ति निकालेर उपमहानगरको विरोध नै गरिसकेको छ भने राप्तिरोडका व्यवसायीले सटर नै बन्द गरेर हेटौँडा उपमहानगरपालिकाको निर्णयको विरोध गरेका छन् ।

यसैबिच हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–४ स्कूल रोडमा समेत नो पार्किङ जोन घोषणा गरेको छ । स्कूल रोड क्षेत्रमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै नो पार्किङ जोन घोषणा गरिएको भनिएता पनि व्यवसायीहरु भने यसबाट चिढिएका छन् ।

शुक्रबारबाट स्कूलरोडमा सवारी पार्किङ गर्न नमिल्ने गरी स्कूलरोडलाई नमूना व्यवसायीक केन्द्र बनाउने उदेश्यले नो पार्किङ क्षेत्र बनाइएको वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देलले दाबी गरेता पनि व्यवसायीहरु र सर्वसाधारणहरुले त्यसको बेवास्ता गर्दै सवारी पार्किङ गरेका छन् । स्कूल रोडमा आउने ब्यवसायी तथा ग्राहकहरुले भैरब चोकमा रहेको खाली जग्गामा पार्किङ गर्नुपर्ने बताइएको भएता पनि उनीहरुले सहज तरिकालाई अपनाएर उपमहानगरको निर्णयलाई लोप्पा ख्वाइदिएका छन् ।

यता मउवा संघ र उपमहानगरको जुहारी परेपछि नो पार्किङ जोनलाई कार्यान्वय गर्ने निर्देशन पाएका ट्राफिक प्रहरी र सवारी चालकहरु के कुरा मान्ने भनेर अलमल्लमा परेका छन् । ‘नो पार्किङ’ ट्वाल्ल परेर हेर्नु र उपमहानगरको निर्णयमा रिसाउनु सिवाय अरु विकल्प नभएको उनीहरु बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*