मन्त्री स्थापित र लामा पदमपोखरीको स्थलगत भ्रमणमा, एयरपोर्ट र भ्यू टावर बन्ने सम्भावित क्षेत्रको अवलोकन

२०७५, २१ असार बिहीबार १७:३४

–चन्द्र घलान
हेटौँडा, २१ असार ।
प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को पदमपोखरी क्षेत्रमा स्थलगत भ्रमण गरेका छन् । केही समयअघि प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल सहितको टोली समेत पदमपोखरीमा पुगेर चक्रपथ निर्माण गर्ने लगायतका कुरामा चासो व्यक्त गर्दै पदमपोखरी–हेटौँडा–तिनताप्के चक्रपथको सम्भाव्यता समेत अध्ययन गरेका थिए । मन्त्री ढुङ्गेलसहितको टोली पछि पूनः अर्का दुई मन्त्रीले समेत पदमपोखरीको वस्तुस्थिति बुझ्दै स्थलगत भ्रमणमा पुगेपछि अहिले मन्त्रीहरु किन पदमपोखरीतिर मोडिए भन्ने कुराको चर्चा चल्न थालेको छ ।

वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलको समेत निर्वाचन क्षेत्रमा पर्ने भएका कारण अहिले पदमपोखरीमाथि प्रदेश सरकारको विशेष ध्यान गएको छ । हेटौँडाबाट नजिकै रहेर पनि विकासका गतिमा पछाडि परेको पदमपोखरीमा जनप्रतिनिधिहरु आएसँगै भएका केही विकासका प्रयासहरु र विभिन्न मागहरुका बारेमा समेत प्रदेश सरकारसम्म चर्चा चल्न थालेपछि पदमपोखरीमा विकासको सम्भाव्यता अध्ययनमा मन्त्रीहरुले चासो देखाएको उनले बताए ।

मन्त्री स्थापित र लामा मकवानपुरकी सांसद जुनेली श्रेष्ठसहितको टोलीसँगै पदमपोखरीको स्थलगत भ्रमणमा पुगेका हुन् । १२ नम्बर वडा अध्यक्ष घलान,१३ नम्बर वडा अध्यक्ष मनोजकुमार वाईबा सहित अन्य जनप्रतिनिधिहरु सहितको टोलीले मन्त्रीद्वयलाई पदमपोखरीका सहकारी तथा विकास सम्भावित क्षेत्रको अवलोकन गराएका छन् । मन्त्रीद्वयले हेटौँडा १२ हात्तिगौँडा तथा वडा नम्बर १३ पदमपोखरी क्षेत्रमा अवस्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था, गुप्तेश्वरी कृषि सहकारी, ग्रामिण स्वावलम्बन कृषि सहकारी लगायतको अनुगमन गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

‘एयरपोर्ट र भ्यू टावर बन्ने सम्भावित क्षेत्रको अवलोकन’
स्थलगत भ्रमणका क्रममा एक समय पदमपोखरीमा एयरपोर्ट बन्ने भनेर चर्चामा आएको क्षेत्रको समेत मन्त्रीद्वयले अवलोकन गरेका छन् । स्थानीय चुनाव तथा प्रदेश चुनावका समयमा यस क्षेत्रबाट चुनावमा होमिएका उम्मेदवारहरुले पदमपोखरीमा एयरपोर्ट निर्माणको सम्भावनाको बारेमा ठूलो बहस खडा गरेका थिए । तर पछि त्यो विषयले कुनै निरन्तरता पाएको छैन ।

केही जानकारहरुका अनुसार पदमपोखरीमा प्राविधिक रुपमा एयरपोर्ट बन्न नसक्ने भन्ने अष्पष्ट जानकारी दिएको भएता पनि अहिले त्यसको बारेमा सबै मौन छन् । एयरपोर्टसँगै पदमपोखरीमा मेडिकल कलेज बन्ने भन्ने बारेमा समेत बहस चलेको थियो । मन्त्रीद्वयले अवलोकनको क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ ठूलोथली नजिकै रहेको भ्यू टावर निर्माण गर्ने सम्भावित क्षेत्रको समेत अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा पदमपोखरी क्षेत्रमा विकासको ठूलो सम्भावना रहेको बताउँदै मन्त्रीद्वयले पदमपोखरी विकासको पूर्व तयारीमा जुट्नुपर्ने समेत बताएको वडाअध्यक्षद्वय घलान र वाईबाले जानकारी दिए । पदमपोखरीमा सरकारी लगानी पुराउन सके विकासको ठूलो सम्भावना रहेको मन्त्रीहरुले बताएका छन् । त्यसका लागि आफुहरु लागी पर्ने बताउँदै उनीहरुले विशेष योजना बनाएर पदमपोखरीको विकास गर्नुपर्ने बताएका छन् ।
वडा अध्यक्ष घलानका अनुसार वडा नम्बर १२ का लागि प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तर्फ ७० लाख तथा खानेपानीका लागि करिब १ करोड बजेटको समेत व्यवस्था गरेको बताएका छन् ।
यस अघि पूर्व सांसद केदार न्यौपाने, उपमहानगरपालिकाका उपमेयर मीना लामासहित पदमपोखरी पुगेका मन्त्री ढुङ्गेलले हेटौँडा १२ को रमन्टार र हेटौँडाको तिनताप्के जोड्ने निर्माणाधिन पुल तथा हेटौँडा ९ लामसुरे र हेटौँडा १३ पदमपोखरी जोड्ने कुख्रेनी खोलामा निर्माणाधिन पुलको समेत निरिक्षण गरेका थिए । उनले पदमपोखरीमा पर्यटनको सम्भावना तथा प्रदेशले पुराउनुपर्ने योजनाहरु, हेटौँडा १३ पदमपोखरीमा अवस्थित महेन्द्र उच्च माविमा प्राविधि शिक्षालय निर्माण गर्ने तथा उच्च माविमा प्राविधि शिक्षालय निर्माण गर्ने र इन्जियनिरङ कलेजको समेत सम्भाव्यता अध्ययन गरेका थिए ।

साथै छलफलका क्रममा पदमपोखरी र लामसुरे जोड्ने पुलको विषयमा समेत कुरा उठेपछि मन्त्री ढुङ्गेलले पुल बनाउन ल्याङ–ल्याङ गरिरहेमा ठेकदार कम्पनीलाई ब्ल्याक लिष्टमा राखी कारवाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...