अचम्म–आकाशबाट बादल चोरी गरेको आरोप

२०७५, २० असार बुधबार १०:१७

इरान, २० असार । तपाईले विभिन्न चोरीका आरोपहरु सुन्नु भएको होला तर एउटा यस्तो आरोपको बारेमा तपाईलाई थाहा नहुन सक्छ । इरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएपछि विश्वको ध्यान त्यता खिचिएको छ ।

इरानका एक सैन्य जनरलले इरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् ।
ईरानको सिभिल डिफेन्स अर्गनाइजेसनका प्रमुख घोलम रजा जलालीका अनुसार ईरानमा भइरहेको जलवायु परिवर्तन आशंकाको घेरामा रहेको छ । उनले विदेशी हस्तक्षेपका कारण ईरानमा जलवायु परिवर्तनको नकारात्मक असर धेरै हुने गरेको दावी गरेका छन् ।

ईरानको आकाशमा बादल छाए पनि वर्षा नहोस् भन्ने चाहनाले इजरायल र उसको सहयोगी मुलुकले ईरानी आकाशका बादललाई निस्क्रिय बनाउने गरेको उनको आरोप छ । यसअघि ईरानका पूर्वराष्ट्रपति मोहमद अहमदीनेजादले पनि यस प्रकारको आरोप लगाएका थिए । उनले युरोपेली मुलुकले विशेष उपकरण प्रयोग गरी बादललाई कैद गर्ने गरेको आरोप लगाएका थिए ।

ईरानका मौसम विभागका प्रमुख अहद वजिफले भने यस प्रकारको तर्क सहि नभएको बताएका छन् । उनले बादल कसैले पनि चोरी गर्न नसक्ने बताए । ईरानमा लामो समय खडेरी रहेको स्वीकार गर्दै उनले यसलाई विश्वमै भइरहेको समस्या भनेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*