हेटौँडाबाट कृषि मन्त्रीको उद्घोष– १ हजार ४ सय ५० युवालाई रोजगारी, विदेशबाट फर्किएकालाई प्राथमिकता

२०७५, १५ असार शुक्रबार १७:४६

मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आगामी आर्थिक वर्ष २०७५–०७६ मा १ हजार ४ सय ५० युवालाई स्वरोजगार बनाउने उद्घोष गरेका छन् । १५ औँ राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा–१९ नेवारपानीमा भएको कार्यक्रममा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् ।

भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले युवालाई स्वरोजगार बनाउन बजेटको समेत ब्यवस्था गरिसकेको उनले बताए । ‘हामीले बजेटको ब्यवस्था पनि गरिसकेका छौं, विदेशबाट फर्किएका युवाहरुलाई पहिलो प्राथमिकता दिएर काम गर्छौँ,’ उनले भने । अहिलेको समयमा युवालाई विदेश पठाउनुभन्दा कृषिमा आकर्षित बनाउन सक्ने वातावरण तयार पार्नुपर्नेमा उनले जोड दिए । उनले त्यसका लागि नयाँ आर्थिक वर्षमा युवालाई कृषि क्षेत्रमा स्वरोजगार बनाउने लक्ष्यका साथ मन्त्रालयले काम थालेको समेत दाबी गरे ।

वडा नम्बर १९ का वडा अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले मकवानपुरमा धान उत्पादनको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिारी चक्रबहादुर बुढा, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल लगायतको आतिथ्यता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*