कमलरी बालिका अझै मालिकको कब्जामा, उद्वार गर्न माग

२०७५, ३१ जेष्ठ बिहीबार १३:५८

कञ्चनपुर, ३१ जेठ (रासस) । कञ्चनपुरका मुक्त कमलरीहरुले अवैधरुपमा काममा लगाइएका कमलरीको उद्धार गर्न माग गरेका छन् । मुक्त कमलरी विकास मञ्चमा आबद्ध मुक्त कमलरीले अवैधरुपमा घरेलु कामदारका रुपमा राखिएका कमलरी बालिकाहरुको उद्धार गर्न माग गरेका हुन् । ‘सरकारले कमलरी प्रथाको अन्त्यको घोषणा गरेपनि केही मालिकहरुले अवैधरुपमा घरमा राखेका छन्’ मञ्चका उत्प्रेरक अञ्जु चौधरीले भनिन्, ‘सरकारले घरमा कमलरी राख्न नपाउने गरी कानूनी व्यवस्था गरेको छ तर पनि अझै कमलरी बालिका मालिकको घरबाट मुक्त हुन सकेका छैनन् ।’

मञ्चका अनुसार कञ्चनपुरमा हाल छजना मुक्त कमलरीले मालिकका घरमा काम गर्दै आएका छन् । मञ्चले उनीहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न माग गरेको हो । गैर कानूनीरुपमा राखिएका मुक्त कमलरीलाई उद्धार गर्न प्रशासन कार्यालयमा समेत दबाब दिइएकामा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले छिटो उद्धार गर्ने आश्वासन दिएको मुक्त कमलरी विकास मञ्चका उत्प्रेरक चौधरीले बताइन् ।

मञ्चका अनुसार बेलौरी नगरपालिकामा ४ र बेदकोट नगरपालिकाको लालपुरबाट एकजना कमलरी उद्धारको सूचीमा छन् । केही दिनअघि मञ्चले भीमदत्त नगरपालिका वडा नं २ महोलियाबाट एक कमलरीको उद्धार गरेको थियो । उक्त मञ्चले सबै मुक्त कमलरीलाई छिटो परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै भूमि सुधार कार्यालयमा ज्ञापनपत्र पनि दिएको छ । मञ्चले ९०० कमलरीलाई परिचयपत्र दिन माग गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*