मनहरीमा संरक्षण समितिको अनुगमन, कानुन बिपरित बालबालिकालाई श्रममा लगाउँदै व्यवसायी

२०७५, ३० जेष्ठ बुधबार १६:०६

मनहरी, ३० जेठ । मनहरीका होटल तथा ब्यापारिक प्रतिष्ठानहरुमा अबैधानिक रुपमा बालबालिकाहरुलाई काममा लगाइएको पाइएको छ । गाउँ बाल संरक्षण समिति मनहरीले विश्व बाल श्रम बिरुद्धको दिबसका अबसर पारेर मनहरी बजारमा गरेको अनुगमनका क्रममा ८ जना बालबालिकाहरुलाई विभिन्न होटल, लज तथा अन्य ब्यापारिक फर्महरुमा अबैधानिक रुपमा काम लगाइएको पाइएको समितिले जानकारी दिएको छ ।

अनुगमनका क्रममा अबैधानिक ढंगले बालबालिकालाई काममा लगाइएकाले तत्काल कामबाट हटाएर पढ्ने व्यवस्था मिलाउनका लागि आग्रह गरिएको छ । आग्रहलाई अटेर गरेमा कानून बमोजिम कारबाही गरिने चेतावनी समेत समितिले दिएको छ । बालबालिकाहरुलाई बालश्रममा लगाइएको बारेमा कानूनी रुपमा सचेत पार्ने हिसाबले अनुगमन गरिएको हो ।

समितिका अनुसार विभिन्न प्रलोभन, ललाई फकाई र दबाब तथा बाध्यता सिर्जना गरी काममा अबैध रुपमा लगाउनेहरुलाई ५० हजार रुपियाँसम्म जरिवाना र १ बर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । बजार अनुगमनका क्रममा बालश्रम गराइएको भेटिएकाले आगामी दिनमा पनि बाल श्रमलाई नहटाए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने गाउँ बाल संरक्षण समिति मनहरीका संयोजक एबम् मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताए ।

अनुगमनमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख बीरेन्द्र पनेरु, सशस्त्र आइआरटी पोष्टका प्रमुख होबहादुर खत्री, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति गोविन्द रिजाल, मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी लगायतको सहभागीता रहेको थियो । त्यस्तै विभिन्न गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरुको समेत अनुगमन सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...