हेटौँडामा काँग्रेसीजनको दौडधुप शुरु, जिल्ला सभापतिहरुको भेला तयारी तिब्र

२०७५, २९ जेष्ठ मंगलवार १०:१३

मकवानपुर, २९ जेठ । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारीका लागि मकवानपुरको हेटौँडामा दौडधुप शुरु भएको छ । आउँदो असार ५, ६ र ७ गते ३ नम्बर प्रदेश राजधानी हेटौँडामा हुने भेलाको तयारी तिब्र पारिएको हो । भेलाका लागि विभिन्न समिति गठन गरेर प्रचारप्रसार तथा तयारी तिब्र गतिमा अगाडि बढेको नेपाल काँग्रेस मकवानपुरले जनाएको छ ।

समितिमध्ये प्रचारप्रसार समितिले सभापति भेलाबारे सबै जिल्लाहरुमा जानकारी गराउने रणनीति तयार पारेर काम अगाडि बढाएको छ । समितिका संयोजक एवं काँग्रेस जिल्ला प्रवक्ता प्रदिप कोइरालाको अध्यक्षतामा सोमबार बसेको बैठकले जेठ ३० गतेदेखि साताव्यापी कार्यक्रम गर्ने समेत घोषणा गरेको छ ।

प्रचारप्रसारका लागि गाउँपालिका सभापति, भातृसंगठनका पदाधिकारी, शुभेच्छुक संस्थाका पदाधिकारी र संचारकर्मीहरुसंग छलफललगायतका कार्यक्रम तय गर्दै प्रचारप्रसारका लागि माईकिङ, व्यानरसहितका काम अघि बढाउने निर्णय समेत बैठकले लिएको छ ।

बैठकमा काँग्रेस मकवानपुरका क्षेत्रीय सभापतिहरु क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, २ का सभापति यतिराज सापकोटा, ३ का सभापति ताराप्रसाद चौलागाई, ४ का सभापति लोकबहादुर मोक्तानलगायत समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...