सम्पत्ति विवरण नबुझाउने १६ सय जनप्रतिनिधिलाई कारवाही

२०७५, २८ जेष्ठ सोमबार ०८:५९

काठमाडौँ, २८ जेठ । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधिलाई कारवाही प्रक्रिया अगाडि बढाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको आजको नागरिक दैनिकमा समाचार छ ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले राष्ट्रिय सतर्कता केन्द्रले बुझाएको विवरणका आधारमा अख्तियारले ती जनप्रतिनिधिलाई चिठी काटेको बताए । स्थानीय तहका जनप्रतिनिधिले पद धारण गरेको, आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारका नाममा रहेको चलअचल सम्पत्ति सम्बन्धित निकायमा पेस गर्नुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११० मा उल्लेख छ ।

सतर्कता केन्द्रका अनुसार ५८ जिल्लाका गरी ११ हजार तीन सय ९० जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । तीमध्ये केही जिल्लाबाट सबै विवरण प्राप्त भइनसकेको केन्द्रका कम्प्युटर अधिकृत एकराज पोखरेलले जानकारी दिए ।

केन्द्रका अनुसार एक हजार चार सय ७४ जनप्रतिनिधिले म्याद सकिएपछि सम्पत्ति विवरण बुझाएका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार जनप्रतिनिधिले सम्बन्धित वडा, गाउँपालिका वा नगरपालिका कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्छ । यसको समन्वय सम्बन्धित जिल्ला समन्वय समिति कार्यालयले गर्छ । कार्यालयले त्यसको सूची सतर्कता केन्द्रमा पठाउँछ र केन्द्रले अख्तियारमा पठाउँछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...