आलुको भरमा विद्यार्थी पढाउँदै शिक्षक

२०७५, २८ जेष्ठ सोमबार ०८:४२

जुम्ला, २८ जेठ । निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जुम्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै गर्दै आएको छ । पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको आजको नागरिक दैनिकमा समाचार छ । पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताएका छन् ।

उनका अनुसार विद्यालयमा शिक्षक दरबन्दी कम हुँदा निजी स्रोतबाट राख्नुपरेको छ । सरकारले दरबन्दीका शिक्षकलाई मात्र तलबभत्ता उपलब्ध गराउँछ । निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयको अन्य आम्दानीले नपुगेपछि तरकारीखेती गरेर रकम जुटाउनुपरेको उनले बताए ।

यहाँ उत्पादित आलु सदरमुकाममा प्रतिकेजी ३० रुपैयाँमा बिक्री हुन्छ । व्यापारीले गाउँमै पुगेर आलु खरिद गर्छन् । विद्यालयले गरेको आलुखेतीको सिको गाउँका स्थानीयले पनि गरेका छन् । विद्यालयलाई सरकारले पर्याप्त शिक्षक दरबन्दी नदिँदा दुई दशकदेखि निजी स्रोतमा शिक्षक राख्नुपरेको छ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा दुई राहत दरबन्दीका र दुई निजी स्रोतका शिक्षक छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...