काँग्रेस सदस्यद्वारा प्रदेशसभा बैठक अवरोध, २४ घण्टाका लागि स्थगित

२०७५, २५ जेष्ठ शुक्रबार ०६:२१

सुर्खेत, २५ जेठ (रासस) । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको नवौँ बैठक बिहीबार अवरुद्ध हुनाका साथै २४ घण्टाका लागि स्थगन भएको छ । प्रदेशसभा प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यले पहिलो र दोस्रो अधिवेशन चलेयता पहिलो पटक सभा अवरुद्ध गरेका हुन् । सभामुख राजबहादुर शाहीले काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पाँच मिनेट बोल्ने समय दिनुभएको थियो । उहाँले विभिन्न विषयमा बोलेलगत्तै काँग्रेसका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।

नेता शाहीले सरकारले तीन तीन विधेयक भिन्नाभिन्नै तरिकाले ल्याएपछि भिन्नाभिन्नै दफामा उल्लेख गर्नुपर्ने भन्दै प्रदेशसभा सदस्यको क्षमतामाथि प्रश्न गर्नुभयो । उहाँले प्रदेश सरकारले रातो किताब र कर्णाली–रारा पर्यटन वर्ष २०७५ को यथार्थ खर्च सार्वजनिक नगरेसम्म बैठक चल्ने नदिने चेतावनी दिनुभएको थियो । त्यससँगै काँग्रेसका सबै सदस्यले उभिएर मौन विरोध गर्दा सभामुख शाहीले बस्न अनुरोध गर्नुभयो । सदस्यले बारम्बारको अनुरोध नमान्दा सभामुख शाहीले आधा घण्टाका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो । आधा घण्टापछि बैठक चल्ने अवस्था नदेखिपछि सभामुख शाहीले यही जेठ २५ गते अपराह्न ३ बजे बैठक बस्ने जनाउँदै सूचना टाँस गरी बैठक स्थगन भएको जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम प्रभावित हुने

प्रदेशसभामा आज भएको अवरोधले शुक्रबार कर्णाली प्रदेश सरकारले ल्याउन लागेको आव ०७५/०७६ को नीति तथा कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ । सरकारले भने शुक्रबार नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गृहकार्य गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...