सञ्चार माध्यमको विकास र पत्रकारिता

२०७५ जेष्ठ २३,बुधबार १७:२२
Shiva Chaulagain-Tukhabar By Chandra Ghalan

-शिव चौलागाईं
पत्रकारितालाई समाजको ऐना भन्ने गरिन्छ । समाजको ऐना यस अर्थमा की समाजको वास्तविक रुप जे हो त्यसलाई देखाउँनु । समाजका रुप अहिले साँच्चै पत्रकारितामा देखिन्छ त भन्ने आम प्रश्न पनि उब्जिएको छ । पत्रकारितालाई चौथो अंगका रुपमा स्वीकार गरिएको पनि यही कारण हो की व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका कार्य ठीक भए भएनन् भनेर पत्रकारितामार्फत आंैल्याउनुपर्दछ । के अहिलेको पत्रकारिताले साँच्चै चौथो अङ्गको भूमिका निर्वाह गरिरहेको छ त ? समाजका सत्य तथ्य घटना उजागर गर्नका लागि पत्रकारिता गर्ने गरिन्छ । अनि ‘आवाज विहीनहरुको आवाज’ नै पत्रकारिता हो भन्ने गरिन्छ के हाम्रो पत्रकारिताले आवाज विहीनको आवाज बोलिरहेको छ त ? पत्रकारितामा अहिले यी र यस्तै धेरै सवालमा चर्चा भइरहेका छन् ।

अहिले हामीले दैनिक पत्रिका, अनलाइन पत्रिका, टेलिभिजन अनि अन्य सामाजिक सञ्जालमा समाचार भनेर पढ्ने गरेका सबै समाचार वास्तवमा समाचार नै हुन् त ? एउटै विषयबस्तुमा पनि मिडियापिच्छे फरक फरक खालका समाचार पढ्ने अनि हेर्ने दर्शकले वास्तवमा कुन चाँही सही समाचार हो भनेर छुट्याउने कसरी ? पत्रकार र पत्रकारिताका विषयमा पनि बेलाबेला चर्चा भइरहेको हामी पाउँछौं । कुन सञ्चारमाध्यम ? को पत्रकार ? कसैले कसैलाई गनिसाध्य छैन, मानिसाध्य छैन मिडियाको भीडमा । नेपालमा वि.स. १९०८ मा जङ्गबहादुर राणा बेलायतबाट फर्कदा ल्याएको फलामे हाते प्रेस (जसलाई गिद्घे प्रेस पनि भनिन्छ ) बाट सुभारम्भ भएको पत्रकारिताको विकासले आज ठूलो फड्को छ । यो प्रेसपछि नेपालका भित्राइएको अर्को प्रेस मनोरञ्जन छापाखानाबाट इतिहासबाट अहिलेको पत्रकारिताको जग बनेको हो भन्ने कुरा बिर्सनु हुदैन । साहित्यकार मोतिराम भट्टले वि.सं. १९४२ मा गोर्खा भारत जीवन नामक नेपाली भाषाको पत्रिका बनारसबाट प्रकाशन गरेर नेपाली पत्रकारितामा एउटा इतिहास कोरेका छन् । के आजको दिनमा पत्रकारिताको विकासबारे हामी गर्व गरिरहँदा भट्टको योगदानको चर्चा गर्छौ ? इतिहासलाई हेर्दा नेपाली भाषामा नेपालबाट वि.सं. १९५५ मा प्रकाशित पहिलो पत्रिका सुधा सागर हो । नेपालमा पत्रकारिताको विकास ह्वात्तै भएको होइन । जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र नेपालमा पत्रिकाको प्रकाशन भएको पाइन्छ । ‘सुधासागर’ पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित अर्को पत्रिका ‘गोर्खा पत्र’ हो । सन् १९०१ बाट प्रकाशन आरम्भ भएको ‘गोर्खा पत्र’ अहिले सरकारी क्षेत्रबाट ‘गोरखापत्र’ दैनिक रुपमा प्रकाशन भइरहेको छ । विगतको सुधा सागर, गोर्खा पत्रले बोकेको नेपाली पत्रकारिताको इतिहास आजका नयाँ पुस्ताले कत्तिको सम्झन्छन् भन्ने प्रश्न हामीमाझ छ ।

छापामाध्यमसंगै वि.सं.२००७ सालबाट थालनी भएको रेडियो पत्रकारिताले अहिले नेपालमा ठूलो फड्को मारेको छ । अहिले देशका सबै क्षेत्रमा रेडियोको पहुँच छ । एउटै जिल्लामा असङ्ख्य रेडियो खुलेका छन् । स्थानीय नागरिकलाई सूचना, समाचार, मनोरञ्जन प्रदान गर्ने कार्यमा अहिले देशभर करिब सात सय वटा रेडियो लागि परेका छन् । सुन्दै काम गर्दै गर्न सकिने, पढ्न नजान्नेहरुका लागि पनि रेडियो सजिलो सञ्चारमाध्यम भएको छ । अहिले रेडियोबाट हरेक क्षण समाचार सम्प्रेषण भइरहेको हामी पाउँछौं, कहींकतै कुनै प्रकारका घटना भएका ब्रेकिङ् न्यूज दिएर स्कुप मार्ने कार्यमा स्थानीय एफएम रेडियोहरु लागि परेका छन् । नेपाली पत्रकारितामा प्रशारण माध्यमको विशेष भूमिका छ । धेरै पर जानु पर्दैन नेपालमा वि.संं.२०७२ साल वैशाख १२ गते को विनासकारी भूकम्प गएको बेलामा रेडियोले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । तर शहर, गाउँमा खुलेका यस्ता रेडियोहरुले के साँच्चै स्थानीयको आवाज जुन प्रकारले समेट्नुपर्ने हो त्यति गरेको पाइन्छ त ? छिटो, सजिलो सूचना सम्प्रेषणको माध्यमका रुपमा रेडियोले लोकप्रियता पाइरहेता पनि स्थानीय सवाललाई जति समेट्नुपर्ने हो त्यति समेट्न नसकेको गुनासो आइहरेको छ । राष्ट्रिय नेटवर्कका समाचार तथा कार्यक्रम प्रशारण गर्दै आइरहेका रेडियोले स्थानीय सवाललाई कतिको समेट्न सकेको छ भन्ने विषयमा बहस हुनु आवश्यक छ ।

नेपालमा वि.सं.२०४२ बाट आरम्भ भएको टेलिभिजन पत्रकारिताले पनि यतिबेला छलाङ् मारेको छ । अहिले सरकारी टेलिभिजनका रुपमा नेपाल टेलिभिजन छ भने नीजि क्षेत्रमा असङ्ख्य टेलिभिजन सञ्चालनमा छन् । छापा, रेडियोको तुलनामा श्रव्य र दृश्य दुवै माध्यमको पत्रकारिताका लागि टेलिभिजन लोकप्रिय बन्न पुग्यो । अहिले राष्ट्रिय तथा स्थानीय रुपमा खुलेका टेलिभिजनले आफ्नो पत्रकारिताको भूमिका निर्वाह गरिरहेका छन् । अहिले न्यू मिडियाका रुपमा लोकप्रियता पाइरहेको अनलाइन पत्रकारिताको नेपालमा सङ्ख्यात्मक रुपमा वृद्घि भइरहेका छन् । सङ्ख्या बढ्नुमात्र ठूलो होइन, केही राम्रा अनलाइन सञ्चारमाध्यमको पत्रकारिताले नागरिकलाई क्षणभरमै सूचनाको भोक मेटाइरहेका छन् । नेपालमा सन् १९९५ मा साउथ–एशिया डटकम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लिकेशन हाउसको अंग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई साइटमा राखेपछि अनलाइन पत्रकारिता आरम्भ भएको हो । तर अनलाइन पत्रकारिता जति लोकप्रिय बन्दै गइरहेको छ त्यति नै बद्नाम पनि हुदै जान थालेको विश्लेषण गरिन्छ ।

पछिल्लो समय यी विभिन्न सञ्चार माध्यमबाट नेपालमा भइरहेको पत्रकारिताको स्थिती हेर्दा सन्तोषजनक मान्नु ठिक हुन्छ । विशेषगरी राजनीतिक सवाललाई नेपालका सञ्चारमाध्यमले प्राथमिकता दिएको पाइन्छ । आवाज विहीनहरुको आवाज बोल्ने सञ्चारमाध्यमले राजनितीलाई प्राथमिकता दिएर आवाज विहीनहरुका आवाज सम्बोधन गर्न नसकेको गुनासो पनि उत्तिक्कै आइरहेको छ । पत्रकारितामा प्राथमिकता केलाई कति दिने भन्नेमा सञ्चारमाध्यम चुकीरहेको गुनासो पनि उत्तिक्कै छ । लुकेका र लुकाइएका सूचना बाहिर ल्याएर पत्रकारिताको धर्म निर्वाह गर्नुपर्ने माध्यम विज्ञापनशैलीका समाचारले भरिन थालेको देखिन्छ । जब समाचारका ठाउँ प्रचारात्मक गतिविधीले भरिन्छ, तब आवाज विहीनहरुको आवाज पत्रकारितामा कसरी समेटिन्छ ? ‘जसको सीता खाई, उसकै गीता गाई ’ खालको पत्रकारिता गर्ने सञ्चारमाध्यम र पत्रकारका कारण पत्रकारिता क्षेत्रमाथि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । स्वतन्त्र, निष्पक्ष र विश्वसनी पत्रकारितालाई केही केही बद्मासीका कारण नागरिकले नराम्रो मान्ने स्थिती बन्न जान्छ । सञ्चारमाध्यमले निष्पक्ष रुपमा पत्रकारिताको धर्म निर्वाह गर्छन् भन्ने विश्वास आम नागरिकमा जागृत गराउने गरी पत्रकारिता गर्नु अहिलेको सञ्चारमाध्यमको दायित्व हो । अहिले सामाजिक सञ्जालको जमानामा कुनै एउटा समाचार सेयर ग¥यो भने क्षणभरमा भाइरल हुने अवस्था भएकाले हरेक कुरा सम्प्रेषण गर्दा निकै ध्यान दिनु आवश्यक छ । विगतका पत्रकारिताबाट सिकेर अबको पत्रकारिताको यात्रा अघि बढाउनु पत्रकारको दायित्व हो ।

लेखक चौलागाईं, मध्यस्थता मिडिया प्रालिद्घारा सञ्चालित मध्यस्थता साप्ताहिक, मध्यस्थता डटकमका सम्पादक एवम् रेडियो अनमोल ९० मेगाहर्जका समाचार प्रमुख हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*