हेटौँडा उपमहानगरपालिकामा कर्मचारी गायब, खाली कुर्सी अगाडि सर्वसाधारणको लाईन, सुधार आउने छाँटकाँट नै छैन

२०७५, १८ जेष्ठ शुक्रबार १३:२८

–बलराम पुडासैनी
मकवानपुर, १८ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा ,कर्मचारी व्यवस्थापन , कार्यालयमा आएका विभिन्न फाईलहरुको व्यवस्थापन , कार्य प्रणालीको व्यवस्थापन यावत विषय लथालिङ्ग छ । सुधार गर्नुपर्यो भन्दै सर्वसाधारणको गुनासो र मिडियामा समाचार पटक–पटक आईरहेका छन् तर हेटौंडा उपमहानगरपालिकाको कार्यप्रणालीमा सुधार भने आउन सकेको छैन् । कर्मचारीको लापरवाहीको कारण सर्वसाधारणको सहजै सम्पन्न हुने काम पनि लामो समयसम्म अड्किरहेको छ । कार्यालययमा कर्मचारी नहुनु ,सर्वसाधारणको फाईल अलपत्र पर्नु जस्ता समस्या त साधारण हुन् ,सर्वसाधारणका सहजै हुने काम पनि हुदैन भन्दै मिति सार्दै फर्काउने चलन नगरपालिकाको पुरानै परम्परा हो ।

कार्यालयमा आउन पनि निकै अप्ठेरो मान्ने कर्मचारी कहिले काहिँ त कार्यालयमा हाजिरै हुँदैनन् । कार्यालयभित्रै बसेर काम गर्ने जिम्मेवारी पाएका कतिपय कर्मचारी १२ बजेसम्म कार्याल नै आउँदैनन् । तर किन ढिला आएको भनेर सोध्ने अधिकार पाएका व्यक्ति आँखामा पट्टी बाधेर बसेका छन् । मिडियाले कर्मचारीको हाजिरी विवरण माग्दा समेत थाहा नभएको बताउँछन् । अझै सर्वसाधारणको जिज्ञासामा सरकारी काम यस्तै हो भन्ने प्रतिक्रिया दिन्छन् ।

सर्वसाधारणहरुले आफ्नो फाईलको जिम्मा दिएको फाँटको कर्मचारी कार्यालयमा नआएपछि आफैं विभिन्न फाँटमा गएर फाईल लथालिङग हुने गरी खोतलीरहेका छन् । यो दृश्य आज कार्यालयमा प्रत्यक्ष देखिएता पनि यो यहाँको दैनिकी नै हो भन्नु उपयुक्त हुन्छ । सर्वसाधारणले ल्याएको नयाँ फाईल सामान्य तोक लगाएर फाईल दर्ता गराउनको लागि पनि १ हप्ता पछि आउनु भन्दै फर्काईन्छ । तर यस्ता लाजैमर्दो क्रियाकलाप नगरपालिकामा हुँदै आएता पनि सरोकारवाला निकायले केही बोल्न सकेको छैन । अनि कार्यालय सर्वसाधारणमैत्री बन्न सकेको छैन ।

स्रोतको सुचना पाएपछि आज शुक्रबार तु खबरको टोली नगरपालिकाको कार्यालयमा अवलोकनको लागि पुगेको थियो । करिब १ घण्टा सम्म बस्दा समेत घर आवासको निर्माण नक्सा पास , ईजाजत सम्पन्नता जस्ता कामको लागि काम गर्ने कर्मचारीका कुर्सी खाली थिए अनि सर्वसाधारण त्यहि कुर्सीको आडी लाईन लागेका थिए । केहि सर्वसाधारण भने नगरपालिका तर्फ धारे हात लगाउँदै घर फर्किरहेका थिए ।

यस बिषयमा तु खबरले नगरपालिकाका सुचना अधिकारी शंकर उपाध्यायलाई जिज्ञासा राख्दा उनले नगरपालिकामा यस्ता केही समस्या भएको स्विकार्छन् । तर उनले आज कति कर्मचारी आएका छन् ? कति बिदामा बसेका छन् भन्ने जानकारी दिन आफुले बुझ्नै पर्ने बताए । व्यवस्थापनको पक्षमा भने उनले सुधारको पहल गर्ने बताए ।

उपमहानगरपालिका कार्यालयमा जनप्रतिनिधिका रुपमा मेयर हरिबहादुर महत आईसकेका छन् । मेयरसाप देखेपछि कर्मचारी नै थरर हुन्छन् भन्ने किस्सा पनि हेटौँडामा चलेकै हो तर उनकै नाकमूनि कर्मचारी गायब हुँदा उनले थाहा पाए कि पाएनन् ? यस बारे बुझ्नै पर्ने भएको छ । कर्मचारी व्यवस्थापनमा खरो उत्रने मेयर महतले यो कुरा थाहा पाएमा कर्मचारीले डर कै कारण भए पनि सर्वसाधरणको काम गर्देलान् कि भन्ने आसा सर्वसाधरणहरुको रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...