संसदमा बानियाँको चेतावनी–‘घमण्ड गरे नेकपा जनताबाट फुलस्टप हुनुपर्ला’

२०७५, १३ जेष्ठ आईतवार १८:२९

हेटौँडा, १३ जेठ । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएर संसदमै हल्लाखल्ला मच्चाइदिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगर्ने र घमण्डमात्र प्रर्दशन गरिरहेमा जनताले आगामी निर्वाचनबाट नेकपालाई पूर्ण विराम लगाईदिने बताउँदै चेतावनी दिएका हुन् ।

‘अहिले एमाले र माओवादी केन्द्र मिलेर नेकपा अण्डरलाईन हुनु भएकोमा बधाई छ’–उनले भने–‘तर जनताको हितमा काम नगरी एकताको घमण्डमात्रै गर्दा अन्डरलाईनबाट फुलस्टप हुनुपर्ला, सचेत रहनुस् ।’ ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल स्वयमले नै आफु अधिकारविहिन रहेको भन्दै गोष्ठी, सेमिनार र उद्घाटनमा भाषण गर्दै हिँडेको प्रति आपत्ति जनाउँदै उनले अत्यावश्यक विधेयकहरु ल्याउन नसक्नु सरकारको कमजोरी रहेको बताए । एक सय दिन पुरा गर्दै गर्दा प्रदेशसभा बैठक कक्ष व्यवस्थापन र संसदीय दलको कार्यालय उपलव्ध गराउन नसकेको भन्दै उनले सरकारको कटाक्ष समेत गरे ।

भुकम्प पीडितलाई पुर्ननिर्माणमा सहयोग पुग्ने गरी काम गर्न सरकार चुकेको भन्दै मूख्यमन्त्री र मन्त्रीहरु विकास भन्दा निरासा बाँड्न व्यस्त रहेको बताए । उनले प्रदेश सरकार गठन भएको जनताले महसुस गर्न नपाएको भन्दै जनताको लागि योजना भन्दा पनि आफु केन्द्रित गतिविधिमा सरकार अलमलिएको आरोप लगाए ।
उनले यातायात क्षेत्रमा सिण्डिकेट भएको भन्दै व्यवसायीलाई दुःख दिने सरकारले मेडिकल र शिक्षामा भएको कार्टेलिङ र वेथितिबारे मौन रहेको भन्दै सरकारको विरोध गरे । यातायात र निर्माण व्यवसायीलाई सरकारले अपराधीको व्यवहार गरेको भन्दै प्रदेश सरकारदेखि संघीय सरकारसम्म नीजि क्षेत्रलाई निरन्तर प्रहार गरी धरासायी बनाउन लागि परेको उनको दावि थियो ।

सरकार गठनको एक सय दिनमा प्रतिपक्षले विधेयक पारित गर्ने लगायतका काममा सहयोग गरेपनि प्रदेश सरकारले गति लिन नसकेको भन्दै बेलैमा आफ्नो शैली नसुधारे जनताको तर्फबाट संसदमा आफुहरुले भूमिका निर्वाह गर्ने चेतावनी समेत बानियाँले दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...