मकवानपुर पनि ‘निपा’ भाईरसको उच्च जोखिममा

२०७५, १३ जेष्ठ आईतवार १२:२८

काठमाडौँ, १३ जेठ । नेपाल ‘निपा’ भाइरसको जोखिममा रहेको देखिएको छ । ६ वर्षदेखि चमेरोमा गरिएको अनुसन्धानले नेपाल पनि ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको पाइएको हो । अनुसन्धानकर्ताका अनुसार हालसम्म नेपालमा ‘निपा’ भाइरस पत्ता लागेको छैन । दक्षिण एसियामा अहिलेसम्म भारत र बंगलादेशमा मात्र ‘निपा’ भाइरस देखिएको छ । त्यस्तै निपा भाईरसको जोखिममा मकवानपुर र दरबारमार्ग रहेको निष्कर्श समेत निस्कीएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

निपा भाइरस फैलाउने चमेरो
६ वर्षदेखि सिएमडिएन नामक संस्थाले प्रिडिक्ट नेपाल र क्यालिफोर्निया विश्वविद्यालयसँग मिलेर नेपालका विभिन्न स्थानमा चमेरोमा अध्ययन अनुसन्धान गरिरहेका छन् । नेपालका चमेरोमा देखिएको भाइरसको प्रारम्भिक रिपोर्ट नेपाल सरकारलाई बुझाएको सिएमडिएनका कार्यकारी निर्देशक डा. दिवेश कर्माचार्यले जानकारी दिए । चिकित्सकहरूका अनुसार ‘निपा’ भाइरस मलेसियामा पहिलोपटक सन् १९९८ मा देखिएको थियो । त्यसयता छिमेकी देश भारत र बंगलादेशमा समेत देखिएको छ । ‘निपा’ भाइरस फैलाउने टेरोपस जातको चमेरो नेपालमा पनि रहेको अनुसन्धानका क्रममा फेला परेको छ । ‘हामीले लामो समयदेखि जनावरबाट मानिसमा सर्न सक्ने गम्भीर प्रकारका भाइरस (इबोला, निपा, एचआइभी)मा अनुसन्धान गर्दै आएका छौँ । ६ वर्षदेखि चमेरोमा देखिने ‘निपा’ भाइरसमा केन्द्रित भएका छौं,’ डा. कर्माचार्यले भने, ‘हाल नदेखिए पनि नेपालमा ‘निपा’ भाइरस संक्रमित हुने सम्भावना प्रबल छ ।’

दरबारमार्ग र मकवानपुर उच्च जोखिममा
संस्थाले काठमाडौंको दरबारमार्ग र मकवानपुर जिल्लाको सिलिंगेमा बसोबास गर्ने चेपाङ बस्तीमा गएर चमेरोको अनुसन्धान गरेको थियो । चेपाङ समुदायले चमेरो खाने गरेको अनुसन्धानमा देखिएको छ । चमेरो खाने र चमेरोले दिसा गरेको स्थानमा बढी घुलमिल भएमा ‘निपा’ भाइरस सर्ने गर्छ । कर्माचार्यले चमेरोबाट मानिसमा सर्ने र मानिसबाट महामारीको रूप लिने भएकाले सुरक्षित रहन आग्रहसमेत गरे । उनका अनुसार चमेरो र मानिस रहेका ठाउँ उच्च जोखिममा देखिएको छ ।

कोरोना भाइरस पनि देखियो
सिएमडिएनले गरेको अनुसन्धानले नेपालको चमेरोमा कोरोना भाइरस पत्ता लागेको छ । दरबारमार्गका चमेरोमा सो भाइरस देखिएको हो । कर्मचार्यले कोरोना भाइरसले के असर गर्छ भन्ने विषयमा अनुसन्धान जारी राखेको बताए । आठ सय चमेरोको नमुना संकलन गरेर नयाँ भाइरसबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

समस्या आए उपचार गर्ने ठाउँ छैन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले नेपालमा कुनै समस्या आए उपचार गर्ने निश्चित ठाउँ नभएको बताए । भारतमा देखिएको रोग नेपालमा ढिलोचाँडो देखिने भन्दै पुनले बिरामीहरूको छुट्टै उपचार गर्ने स्थान सरकारले तय गर्नुपर्ने शुभलाभ दिए । भारतमा १२ जनाको ज्यान लिएको ‘निपा’ भाइरस नेपालमा भित्रिएको अवस्थामा उपचार गर्ने ठाउँ नभएको उनले गुनासो गरे । पुनका अनुसार ‘निपा’ भाइरसबाट मृत्यु हुने दर ७० प्रतिशतदेखि सतप्रतिशत रहेको छ । चिकित्सकले ‘निपा’ भाइरसलाई इबोला भाइरसभन्दा डरलाग्दो रूपमा राखेका छन् ।

सरकार नै अन्योलमा
नेपालमा नयाँ भाइरस देखापरे कुन अस्पतालमा उपचार हुन्छ भन्नेमा सरकार नै अनभिज्ञ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले गम्भीर बिरामी भएर उपचार गर्न आए उपचार गर्ने ठाउँ नभएको स्वीकार गरे । ‘निपा भाइरस लागेका बिरामीको उपचार वीर अस्पताल र टिचिङ अस्पतालमा सम्भव हुँदैन,’ उनले भने, ‘निजी स्वास्थ्य संस्थाले नगर्न सक्छन् । सेना र सशस्त्र प्रहरीको अस्पतालले उपचार गर्छन् कि ।’

निपा र इबोला भाइरस पत्ता लगाउने ल्याब प्रयोगविहीन

सरकारले चार वर्षअघि खरिद गरेको बायोसेफ्टी लेभल (बिएसएल) थ्री ल्याब प्रयोगविहीन भएको छ । निपा र इबोलाजस्ता कडा खालका भाइरस परीक्षण गर्ने बिएसएल थ्री सरकारकै असहयोगका कारण प्रयोगमा नआएको हो । नेपाल कडा रोगबाट हुने संक्रमणको उच्च जोखिममा रहेको औँल्याउँदै विश्व स्वास्थ्य संगठनको आर्थिक र विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा ‘बिएसएल थ्री’ ल्याब सन् २०१५ मा जडान गरिएको थियो । ‘नेपाल नयाँ भाइरसको उच्च जोखिममा रहेकाले संक्रमणको अवस्थामा तत्काल नेपालमै परीक्षण गर्ने उद्देश्यले बिएसएल थ्री जडान गरिएको थियो, तर सञ्चालनमा ल्याउन सकिएन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी तत्कालीन निर्देशक डा. गीता शाक्यले बताइन् । स्वास्थ्य अधिकारीहरूका अनुसार बिएसएल थ्री ल्याबमा स्वाइनफ्लु, जिका, निपा, सार्स र सामान्यतया इबोला भाइरससमेत पत्ता लगाउन सकिन्छ ।

१० करोड लगानी व्यर्थ
बिएसएल थ्री ल्याब १० करोड रुपैयाँमा जडान गरिएको थियो । डा. शाक्यले २०१५ मा नेपालमा स्वाइनफ्लु देखिएको अवस्थामा ल्याब भित्र्याएकी थिइन् । सोही वर्ष विश्व स्वास्थ्य संगठनले मान्यता दिएको थियो । तर, ल्याबले निरन्तरता पाउन सकेन । यो ल्याब स्थापना गर्नेमा नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा भारतपछि दोस्रो हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी तत्कालीन निर्देशक डा. गीता शाक्यले भनिन्, ‘नेपालमा यो ल्याब निकै आवश्यक छ ।’

किन चलेन ल्याब ?
सामान्य ल्याबले परीक्षण गर्न नसक्ने नमुनाहरू बिएसएल थ्री ल्याबमा परीक्षण गरिन्छ । तर, योजना नहुँदा ल्याब सञ्चालनमा ल्याउन नसकिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका उपनिर्देशक डा. विष्णु उपाध्यायले बताए । ‘अनुसन्धानको क्षेत्रमा सरकारको उपस्थिति शून्य छ । जसकारण उक्त ल्याब प्रयोगमा आउन सकेन,’ उनले भने, ‘सरकारले ल्याबका लागि नमुना संकलन गर्ने, परीक्षण गर्ने र ओसार्ने एउटा टिम दिनुपर्छ । छुट्टै अफिस, छुट्टै कर्मचारी र सवारीसाधन आवश्यक पर्छ । देशभर सम्भावित रोगबारे टिमले अनुसन्धान गर्ने र यो ल्याबमार्फत परीक्षण गर्नुपर्छ । तर, सरकार गम्भीर देखिँदैन ।’

नेपालमा पनि निपा भाइरस छ
भारतमा निपा भाइरस देखियो भनेपछि नेपालका सरकारी निकाय चनाखो भएका छन् । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका उपनिर्देशक डा. विष्णु उपाध्यायले नेपालमा पहिले नै निपा भएको दाबी गरे । ‘भारतमा निपा फैलाउने चमेरो र नेपालमा पाइने चमेरो एकै प्रकारका हुन् । रातिको समयमा चमेरोले काँक्रालगायत फलफूल खाने र त्यही फलफूल मान्छेले पनि खान सक्छन् । चमेरोको मासु नै खाने समुदाय पनि नेपालमा छ । मान्छेमा नसरेको मात्रै हो, तर हामी सधैँ निपा भाइरसको जोखिममा छौँ,’ उपाध्यायले भने । -नयाँ पत्रिकाबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...