दुई पार्टी एकीकरणपछिको उमङ्ग

२०७५ जेष्ठ ११,शुक्रबार ०९:४५

-सञ्जय मित्र
धेरैको अनुमानलाई अप्रत्याशितरुपमा पराजित गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी र लेनिनवादी तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच एकीकरण भएको छ । देशका दुई ठूला कम्युनिष्ट पार्टीहरु औपचारिकरुपमै एक भएका छन् । दुवै पार्टी मिलेर एक भएको घोषणा हुनुअघिसम्म धेरैलाई शंका नै थियो । पहिलेदेखि माओवादी नेता प्रचण्डको अप्रत्याशितरुपमा काम गर्ने प्रवृत्ति पार्टी एकीकरणसम्म विद्यमान रहेको देखियो । पार्टी एकीकरण भएपछि अब सबै किसिमका शंकाहरु बजारबाट गायब भएका छन् र नेपालमा कम्युनिष्ट पार्टीको भविष्यको बारेमा धेरैले चिन्तन गर्न थालेका छन् ।

एकीकरण घोषणा आफैँमा अद्वितीय घटना थियो । करिब अढाई दशकभन्दा पहिले नेकपा माले र नेकपा माक्र्सवादी मिलेर बनेको नेकपा एमाले देशको आफैँमा ठूलो बामपन्थी दल छँदै थियो । एमाले घोषणा हुँदा माओवादी संयुक्त जनमोर्चाको रुपमा निकै सानो समूह थियो । एकता केन्द्र गठन भएपछि केही ठूलोजस्तो त भएको थियो तर लगत्तै फुटेर फेरि कमजोर बनेको थियो । माओवादी पार्टी घोषणा हुँदा पनि खासै ठूलो अस्तित्वको थिएन । झन् सशस्त्र संघर्षको घोषणा गरेपछिको अवस्थामा पार्टी निकै कमजोर थियो तर समय क्रममा यसले अर्कै किसिमको रुप लियो । सबैलाई थाहै छ, झन्डै देशभरि जनसरकारको गठन गरेर माओवादीले राज्यसित लडाइँ नै गरेको थियो । जनसत्ता नै खडा गरेको थियो र शान्ति प्रक्रियामा आएपछि ठूलो पार्टी बनेको थियो । अन्तरिम संसदमा एमाले र माओवादीको हैसियत बराबरी राखिएको थियो । त्यसपछि कहिले माओवादी ठूलो त कहिले एमाले ठूलो हुने काम भइरह्यो । गत संसदीय निर्वाचन, प्रान्तीय निर्वाचन तथा स्थानीय निर्वाचनमा एमालेभन्दा माओवादी निकै कमजोर देखियो तर देशव्यापी संगठन भएको माओवादीले आफू नजिते पनि तीनै तहको निर्वाचनमा अरुलाई हराउने हैसियत भने अवस्य नै बनाएको देखिन्छ । माओवादीको उपस्थिति यतिसम्म त अवश्य देखियो कि कुनै पनि मूल्यमा तेस्रो शक्तिभन्दा मुनि झर्ने अवस्था थिएन । हो, माओवादीले एमालेलाई साथ दिँदा एमाले निकै ठूलो र नेकालाई साथ दिँदा पनि एमाले ठूलै तर बहुमत आउन नसक्ने किसिमको ठूलो हुने निश्चित थियो ।

एमाले र माओवादी दुवै कम्युनिष्ट पार्टी नै भन्थे आफूलाई । झन्डा पनि कम्युनिष्ट पार्टीकै थियो दुवै पार्टीको । नयाँ संविधान जारी भएपछिको समयलाई राम्ररी नियाल्ने हो भने दुवै पार्टीको गतिविधिमा खास कुनै फरक देखिँदैनथ्यो । यस अवस्थामा दुई दल छुटै रहेर घाटा दुवै दललाई मात्र होइन देश र जनतालाई पनि हुने देखिन्थ्यो । दुवै बामपन्थी एकापसमा लड्नुपर्ने अवस्था थियो । लडाइँ मतपत्रमा सीमित भइसकेको थियो । मतपत्रको लडाइँमा जनताले वामपन्थीलाई नै मत दिए पनि कतिपय कारणले बाँडिन्थ्यो र वामपन्थीको मत बाँडिएपछि अर्को जित्थ्यो । समग्रमा वामपन्थीको मत बढी हुने तर जित्नेबेलामा वामपन्थीको जितले ठूलो महत्व राख्दैनथ्यो । विगतका चुनावहरुको विश्लेषण गर्ने हो भने यो कुरो सत्य देखिन्छ कि अधिकांश मत वामपन्थीको पक्षमा गएको देखिन्छ । अधिकांश मत वामपन्थीको पक्षमा जाँदा पनि उपस्थिति भने कमजोर हुनु मतदाताको लागि दुर्भाग्य बन्न पुग्थ्यो ।

वाम दलहरुबीचको एकीकरण समयको आवश्यकता थियो । हरेक चुनावमा मत दिने मतदाताहरुले पनि एकता चाहेका थिए । देशको पनि आवश्यकता पनि यस अर्थमा थियो कि हरेक वर्ष संसदमा माओवादी तथा एमालेको संसदीय दलको कार्यालयदेखि लिएर अन्य खर्च राज्यलाई तिर्नु परेको थियो । अर्थात् दुई दल हुँदा राज्यलाई पनि बढी खर्च गर्नुपरेको थियो र यसभन्दा पनि बढी देशका वर्तमान पुस्ताका सम्पूर्ण नागरिकलाई एकचोटि वामपन्थीको पूर्ण बहुमतको र एउटै पार्टीको सरकार देख्ने चाहना थियो । गत स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी छुटाछुटै चुनाव लड्दा धेरै ठाउँमा दुवै दलले थोरै मतले चुनाव हारेको देखिएको थियो । यसले गर्दा माओवादी र एमालेले गत असोजमा पार्टी एकीकरण नै गर्ने निर्णय सार्वजनिक ग¥यो । पार्टी एकीकरण गर्नुभन्दा पहिले त्यत्तिवेला नजिकै आइसकेको प्रान्तीय तथा संघीय निर्वाचनमा तालमेल गरेर चुनावमा सहभागी हुने कुरा मुख्य थियो । तालमेल होला कि नहोला भन्ने थियो र तालमेल भयो तथा मिलेरै चुनाव लडे । चुनावमा अपेक्षाकृत जित हासिल पनि भयो । एकीकरण गर्ने निर्णय र तालमेललाई नेपाली जनताले अनुमोदन गरेपछि झन् दुवै दललाई मिलाएर एउटै बनाउनुपर्ने नैतिक बाध्यता पनि आयो । एकीकरणको कुरो चल्दाचल्दै कहिले के समस्या आउँथ्यो त कहिले कस्तो नमिल्दो कुरो पनि आउँथ्यो जसले दुवै पार्टी एक नहुने भनी सोच्नेहरुको मनोविज्ञानलाई उत्साहित बनाउँथ्यो तर अप्रत्याशित घोषणा गर्दै जेठ ३ त्यो ऐतिहासिक दिन बन्न पुग्यो जसले सारा आशंकाहरुलाई पाखा लगाउँदै नेपाल कम्युनिष्ट पार्टी बनेको उद्घोष भयो ।

यस पार्टीको देशको सात प्रान्तमध्ये ६ वटामा सरकार छ । देशको ७५३ स्थानीय तहमध्ये अधिकांशमा सरकार छ र केन्द्रमा निकै लामो समयपछिको निकै सशक्त सरकार छ । झन्डै दुई तिहाई बहुमत भएको सरकार अब एउटै पार्टीको रहेको छ । पार्टी एकीकरणपछि दक्षिण एसियाका शक्शिाली दलमध्ये यस पार्टीको नाम पनि अग्र पङ्क्तिमा लिन थालिएको छ । यस पार्टीको महत्व आपैmँमा बढेको छ ।

एकीकरण घोषणापछि प्रायः हरेक जिल्लामा खुसियाली मनाइएको छ । दुवै पार्टी एक भएपछि अब जनवर्गीय संगठनहरु पनि एक हुन थालेका छन् । झन्डै सबै तह तथा वर्गीय संगठनका कार्यकर्ताहरुको मनोबल पार्टी एक भइसकेको अवस्थामा पुगिसकेको छ । अब दुई पार्टी होइन, हरेक पार्टीमा हुने गुटउपगुटजस्तो अवस्थामात्र रहला तर त्यो पनि बाहिर सार्वजनिक हुन गाह्रो छ । कुनै कार्यकर्ताले अर्को कार्यकर्तासित घात गर्ने सोचाइ राख्न पनि डर भएको छ किनभने पार्टी निकै शक्तिशाली भएको छ । अहिले कोही कार्यकर्ता पार्टीको लाइनबाट अलिकति पनि फरक हुँदा ऊ राजनीतिमा निकै पछाडि पर्ने सम्भावना भएकोले एकताको पक्षमा रहेर आफूले अलिकति त्याग गर्नुपरे पनि त्यागका लागि अधिकांश कार्यकर्ता तयार भएको देखिन्छ ।

दुवै पार्टी एक भएपछि अधिकांश कार्यकर्तामा उत्साह र उमंग देखिएको छ । अब सरकारले देशको लागि केही गर्छ भन्ने आत्मविश्वास पनि बढेको छ र अन्य दलका कार्यकर्ता तथा नेताहरुमा नेकपालाई देखेर केही पछाडि परेका छौँ कि भन्ने लघुताभाष पनि हुन थालेको पाइएको छ । नेकपाको पुनरोदयले जसरी सर्वत्र स्वागत पाएको छ, त्यसरी चुनौती पनि थपिएको छ । देशलाई सही दिशामा लैजान र लाखौँ कार्यकर्ताको साथै सिंगै देशकै मुहार फेर्न अहिले कसैले बाटो छेक्ने नहुनाले नेकपाले देश र जनताको लागि के कति काम कसरी गर्न सक्छ भन्ने देखाउने अवसर पनि हो । एकताको गाँठो अझ बलियो भएर देशको लागि सफल सिद्ध होओस् । यस देश र यस देशका नागरिकको मान सम्मान बढोस् । कार्यकर्ताहरुको उमंग निरन्तर बढिरहेको देख्न पाइयोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*