मकालु एयर दूर्घटना, बिमान दूर्घटना हुनुको कारण खोजी गर्न माग

२०७५, २ जेष्ठ बुधबार २०:२३

काठमाडौँ । मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो । उहाँहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ ।

एजेयू–नाइन–एन कलसाइनको जहाज आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोट उडेको थियो । दुर्घटनास्थल सिमिकोटदेखि १० दशमलब ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताउनुभयो ।

जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमिकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुई जना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो । टोलीले शव निकाल्न नसकेपछि सिमिकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्टर त्यसतर्फ गएको थियो ।

घटनास्थल समुद्री सतहदेखि १२ हजार ८ सय फिट उचाईमा अवस्थित छ । नाईन एन एजेयु कल साइन भएको सो जहाजमा क्याप्टेन भट्टराई र को–पाइलट नेपाली मात्र सवार थिए ।

यसैबीच, विमान दुर्घटना हुनुको कारण खोजी गरी तत्काल समस्या समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको संसदमा विशेष समय लिएर सांसद दिलेन्द्रप्रसाद बडुले पटकपटक हुने गरेका विमान दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको हो । पटक(पटक विमान दुर्घटना हुँदा पनि कारण पत्ता लगाएर समस्याको समाधान गर्न नसकिएको भन्दै सांसद बडुले दुर्घटनाको कारण खोजी विमान दुर्घटना रोक्नु पर्ने बताउनु भयो । आज बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटनामा परी चालक दलका दुई जना सदस्यको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै बडुले विमान दुर्घटना रोक्न सरकारलाई संवेदनशील हुने सचेत गराउनु भएको छ । सांसद बडुले विमान दुर्घट्नामा मृत्यु भएका चालक दलका सदस्यका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...