प्रदेश राजधानी हेटौँडामा यस्तो हरिबिजोग, पेट्रोल पम्प र बैंकहरुको गतिविधि संकटकालमा जस्तो

२०७५, २७ बैशाख बिहीबार १७:५५

–बलराम पुडासैनी
मकवानपुर, २७ बैशाख ।
३ नम्बर प्रदेशको राजधानी हेटौँडामा यदि तपाई राती ९ बजेपछि पेट्रोल पम्पमा पेट्रोल हाल्न जानुभयो भने पाउनुहुन्न । ईमरजेन्सी परेर पैसा निकाल्नको लागि बैंकका एटिएम बुथहरु धाउँदा एटिएम बुथहरुमा सटर लागेका हुन्छन् । सुनसान सडक अनि सुनसान पेट्रोल पम्प र सटर झारिएको बैंकको एटिएम । यो दृश्य देख्दा संकटकालकै झ–झल्को आउँछ । त्यसोत अहिले संकटकाल हुँदै होईन र संकटकालमा जस्तो सुरक्षा थ्रेट पनि छैन । कमर्शिएल बैंकका संचालकहरु र पेट्रोलियम व्यवसायीहरुको हेपाहा प्रवृतिको कारणले नै मकवानपुरमा राति ९ बजेपछि पेट्रोलको समस्या र एटिएम संचालनमा आउँदैनन् । जसका कारण सर्वसाधारणहरुलाई निकै नै सास्ती भएको छ ।

प्रदेशको राजधानी समेत रहेको हेटौंडामा यस्ता सामान्य समस्याहरुको समाधानमा सरोकारवालाहरुको चासो किन गएन ? सामाजिक संजालहरुमा सन्सनी मच्चिएको छ । सुरक्षाको दृष्टिकोणले समेत पैसा बोकेर हिँड्नुको सट्टा एटिएम कार्ड मार्फत बैंकबाट पैसा झिक्नु उपयुक्त मानिन्छ । ईमरजेन्सी परेको अवस्थामा त झनै पैसाको आवश्यकता पर्दछ तर राती ९ बजेपछि मकवानपुरका अधिकाँश एटिएम बुथहरुमा सटर लगाईएका हुन्छन् । खुलेका एटिएमहरुमा पनि विभिन्न समस्याहरु देखिन्छ । कुनैमा पैसा हुँदैन, कुनैमा सर्भिस डेड, जसको कारण सर्वसाधारणले पैसा झिक्न सक्दैनन् । दिउँसोको समयमा समेत सर्भर डाउन भयो भन्दै एटिएम बुथहरुमा सटर लगाईएको हुन्छ । यस बिषयमा सरोकारवालाहरुलाई जिज्ञासा राख्दा सर्भर डाउन भएको कारण समस्या भएको बताउँछन् । तु खबरले बैंकका संचालकहरुसंग जिज्ञासा राखेर समाचार यसअघि पनि तयार पारेको थियो । जसमा सबै बैँकवालाहरुको जवाफ यो समस्या चांडै नै सुर्धार्ने भन्ने थियो । तर समस्या जस्ताको तस्तै छ ।

त्यसैगरी राती ९ बजेपछि पेट्रोल आवश्यक पर्ने सर्वसाधारणहरु पम्पको सटर हेरेर फर्कन्छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा हुँदै विभिन्न स्थानमा चल्ने सवारी साधनमा हेटौंडा आईपुग्दा पेट्रोल सकियो भने हेटौंडाका पेट्रोल पम्पहरुमा पेट्रोल पाइँदैन । हामीले पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने व्यवसायीहरुलाई यस बारेमा जिज्ञासा राख्दा जनशक्ति अभाव भएको गुनासो गर्छन् । त्यति मात्र होईन, ‘अरुले त बन्द गर्छन्,हामी किन रातभरि बस्नु’ भन्ने जवाफ दिन्छन् ।
हेटौंडामा करीब ढेढ दर्जन भन्दा बढी बैंकहरु छन् भने त्यसको तुलनामा केही कम मात्रामा पेट्रोल पम्पहरु रहेका छन् । पछिल्लो समय यस समस्याको बिषयमा सामाजिक संजालहरुमा समेत विभिन्न आक्रोशित अभिव्यक्ति तथा गुनासाहरु समेत भाईरल बनिरहेका छन् । देख्दा सानो तर निकै नै गम्भीर विषयका यस्ता सवालमा मकवानपुरको प्रशासन , सुरक्षा निकायका , बैंकवाला,पेट्रोलियम व्यवसायीहरु सबैको चासो जानु आवश्यक देखिएको बुद्धिजीविहरुको आँकलन छ अनि प्रदेशको राजधानीका रुपमा ख्याति कमाएको हेटौँडाले लाजको घुम्टो ओढ्नुपर्ने अवस्था आज पनि उस्तै छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...