पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष पदका उम्मेदवार गिरिजाप्रसाद अधिकारीले सार्वजनिक गरे यस्ता योजनाहरु

२०७५, १४ बैशाख शुक्रबार १८:१६

हेटौँडा, १४ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्ष पदका उम्मेदवार गिरिजा प्रसाद अधिकारीले आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । उनले विभिन्न योजनाहरु सार्वजनिक गर्दै ती योजनाहरु प्रदेश पत्रकार महासंघको पहिलो बैठकमा पेश गर्ने र त्यसमा आवश्यक छलफल तथा आवश्यक संशोधन समेत गरी कार्ययोजनाको रुपमा निर्णय गरी कार्यान्वयनमा लगिने बताएका छन् ।

१० वटै जिल्ला शाखाका अध्यक्षलाई प्रदेश पत्रकार महासंघमा पदेन सदस्यको रुपमा सहभागी गराउने नीति निर्माण गर्न केन्द्रीय समिति समक्ष प्रस्ताव लगिने उनले आफ्ना योजनामा उल्लेख गरेका छन् । त्यस्तै पत्रकारलाई विषयगत दक्षता बढाउने किसिमका तालिम, गोष्ठि जस्ता उपयोगी प्राविधिक सिपको व्यवस्था समेत गरिने बताएका छन् । पत्रकार महासंघ मकवानपुर शाखाका निवर्तमान उपाअध्यक्ष समेत भएका उनले आफ्नो कार्यकालमा कार्य समितिसँगको समन्वयमा पहिलो पटक प्राविधिक तालिम तथा सम्पादकहरुका लागि तालिम समेत व्यवस्था गरेका थिए । यस अघि महासंघले यस्ता कार्यहरु नगरे पनि उनी पत्रकारितामा लाग्नेहरुको लागि दक्षता बढाउन विभिन्न नयाँ तालिमहरु ल्याउने व्यक्तिका रुपमा चिनिएका छन् ।

त्यस्तै श्रमजीवि पत्रकारको हकहित, साना लगानीका मिडिया हाउसको स्थायित्वका लागि विगतमा कुरा धेरै हुने गरेको भए पनि त्यसको कार्यान्वयनका लागि यसपटक योजना बनाई काम गर्ने उनले प्रतिबद्धत्ता जनाएका छन् । प्रदेशभित्र कार्यरत श्रमजिवी पत्रकारको न्यूनतम तलब कम्तीमा २५ हजार कायम गर्न तथा साना–मझौला मिडिया हाउसलाई सक्षम बनाउन प्रदेश भित्रका सबै सरकारी तथा अर्धसरकारी निकायका सूचना, विज्ञापन प्रदेशकै संचार माध्यममा समानुपातिक हिसाबले दिन पर्ने गरी कानुन निर्माणका लागि दवाब दिने समेत उनले योजनामा उल्लेख गरेका छन् ।

प्रदेश महासंघको आफ्नै भवन सुविधा सम्पन्न तालिम हल र प्रादेशिक लाईब्रेरी निर्माण गरिनुका साथै प्रदेश स्तरमा रहेका सबै पत्रकार तथा मिडिया हाउसको जानकारी मुलक प्रोफाईल प्रकाशन गर्ने समेत योजना बनाएका छन् । मासिक खोजमुलक म्यागेजिन प्रकाशन गर्ने र सो म्यागेजिनमा प्रत्येक शाखाबाट १ जना प्रतिनिधि राखी व्यवस्थित गरिनुका साथै जिल्ला शाखाबाट सिफारिश भएका उक्त प्रतिनिधिलाई पारिश्रमिकको समेत व्यवस्था गर्ने योजना उनीसँग छ । ३ नम्बर प्रदेशका पत्रकारहरुलाई अन्य प्रदेशमा प्रत्येक वर्ष पत्रकारिता सम्बन्धी अध्ययन भ्रमण गराउने व्यवस्था मिलाइनुका साथै प्रदेश पत्रकार महासंघमार्फत अन्य छिमेकी देशहरुमा पत्रकारिता प्रवद्र्धन हुने गरि अध्ययन भ्रमण आदिको व्यवस्था समेत गर्ने उनको योजनामा उल्लेख छ ।

पत्रकार महासंघको पनि स्थानीय तहसम्म संरचना बनाउन आवश्यक पहल गर्ने र प्रेस काउन्सिल नेपाललाई प्रादेशिक संरचनामा लगी अधिकार सम्पन्न बनाउन समेत पहल गर्ने उनीसँग योजना छ । प्रदेशभित्र क्रियाशील अग्रज र समकालिन पुस्ताका पत्रकारलाई वार्षिक रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने व्यवस्था समेत गरिने उनले बताएका छन् । श्रमजीवि पत्रकारलाई दुर्घटना विमा, आकस्मिक उपचार कोषको व्यवस्थापन गरिनुका साथै श्रमजिवी पत्रकारले स्वदेश वा विदेशमा पत्रकारिता अध्ययन अनुसन्धान जस्ता कार्यमा जान चाहेमा जिल्ला शाखाको सिफारिसमा अध्ययन अनुसन्धान कार्यका लागि वर्षमा कम्तिमा ५ जनालाई आर्थिक सहायता–प्रोत्सहान उपलब्ध गराईने व्यवस्था गर्ने उनी बताउँछन् ।

पछिल्लो समयमा अनलाईन मिडियाको आकर्षण बढ्दो भएको भन्दै यसलाई व्यवस्थित गरी पत्रपत्रिका जस्तै वर्गाीकरणको व्यवस्था गर्न आवश्यक प्रयास गरिने उनले बताएका छन् । साथै प्रत्येक ६ महिनामा एउटा जिल्ला शाखासँग प्रदेश समितिले अन्तरक्रिया गर्ने समेत उनले आफ्ना योजनामा उल्लेख गरेका छन् ।

प्रदेश नम्बर ३ मा अन्य २० सदस्यहरु निर्विरोध भइसकेको अवस्थामा अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो । अधिकारी र उनका प्रतिद्वन्दी प्रताप विष्ट दुबैलाई अध्यक्ष पदका दाबेदार मानिएको छ । प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका संयुक्त उम्मेदवारका रुपमा उभिएका विष्टलाई चुनौति दिँदै अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । साँघु, नयाँ पत्रिका दैनिक, सौर्य दैनिक, साम साप्ताहिक, शक्ति एफएम, रेडियो सरोवर लगायत दर्जन हाराहारी सञ्चार संस्थामा आवद्ध रही हाल हेटौँडाबाट सञ्चालित तू खबर डटकमका सम्पादक समेत रहेका अधिकारीलाई व्यवसायिक पत्रकारिताको खम्बा रुपमा हेरिने गरेको छ ।

यस अघि नेपाल पत्रकार महासंघ मकवानुर जिल्ला शाखाको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवार बनेर सबैको होस् उडाईदिएका अधिकारीलाई श्रमजिवीका पक्षधर र विज्ञापनको समानुपातिक वितरण गर्न अग्रसर हुने पत्रकारका रुपमा समेत चिनिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...