९ बुँदे माग पुरा गर्न मुख्यमन्त्री पौडेल र कानुन मन्त्री जम्कट्टेलसँग ताम्सालिङ समितिको माग

२०७५, १४ बैशाख शुक्रबार १४:५९

–चन्द्र घलान
हेटौँडा, १४ बैशाख । तामाङका सवालमा विभिन्न ९ बुँदे मागसहित नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेश समिति (ताम्सालिङ) ले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापन पत्र बुझाइएको छ ।  आज बिहान मुख्य मन्त्री पौडेललाई हेटौँडाको एभोकाडो होटल परिसर र कानुन मन्त्री जम्कट्टेललाई लामसुरेमा समितिले ज्ञापन पत्र बुझाएको हो ।समितिका अध्यक्ष सोमबले तामाङद्वारा हस्ताक्षरित ९ बुँदे ज्ञापन पत्रमा प्रदेश नामाकरण, बिदा कटौति निर्णय फिर्ता तथा गाईको मासु खाएको आरोपमा जेल हाल्ने कानुन खारेज गर्नुपर्ने लगायतका मागहरु अघि सारिएको छ ।

तामाङको कुल जनसंख्याको ७३ प्रतिशत समुदाय ३ नम्बर प्रदेशमै बस्ने गरेको कुरा उल्लेख गर्दै ज्ञापन पत्रमा प्रदेशको मुख्य जाति तामाङको विकास, उन्नति र प्रगति बिना समग्र ३ नम्बर प्रदेशको समृद्धिको सपना पुरा नहुने उल्लेख गरिएको छ । तामाङ जातिको प्रमुख राष्ट्रिय पर्व सोनाम ल्होछार भएको उल्लेख गर्दै कम्तिमा ५ दिन मनाईने ल्होछारलाई प्रदेश नम्बर ३ को मुख्य सांस्कृतिक पर्वका रुपमा प्रवद्र्धन गरि कम्तिमा प्रदेश सरकारले ३ दिन बिदाको व्यवस्था मिलाउन माग गरिएको छ । ल्होछार सांस्कृतिक पर्व मात्र नभई चन्द्र पात्रो (मञ्जुश्री सम्वत) मा आधारित नयाँ वर्ष समेत भएकोले मञ्जुश्री सम्वतलाई प्रदेश सरकारबाट राष्ट्रिय सम्बतका रुपमा मान्यता दिन समेत ज्ञापन पत्रमा माग गरिएको छ ।

तामाङ समुदायको दोस्रो महत्वपूर्ण पर्व चैत पूर्णिमामा मनाइने तेमाल जात्रा भएको र त्यस अवसरमा विभिन्न धार्मिक स्थलमा यो जात्रा पर्वकै रुपमा मनाईने उल्लेख गर्दै प्रदेश सरकारले कम्तिमा २ दिन बिदाको व्यवस्था मिलाउनुका साथै विश्व आदिवासी दिवस अगस्ट ९ मा एक दिन सार्वजनिक बिदा दिन माग गरिएको छ ।

ज्ञापन पत्रको तेस्रो बुँदामा नेपालको संविधानको धारा ७ अनुसार प्रदेश सरकारले नेपाली भाषा बाहेक थप एकभन्दा बढी भाषालाई प्रदेशको सरकारी कामकाजी भाषा बनाउन सक्ने व्यवस्था भएको उल्लेख गर्दै प्रदेश नम्बर ३ को सरकारी कामकाजी भाषाका रुपमा तामाङ भाषालाई तोक्न आग्रह गरिएको छ । साथै प्रदेशमा तामाङ समुदायलाई शैक्षिक रुपमा अघि बढाउन प्रदेश सरकारबाट विशेष शैक्षिक योजना ल्याउन र प्रदेशका विद्यालयहरुमा तामाङ भाषाको शिक्षा अनिवार्य बनाउन समेत माग गरिएको छ ।

त्यस्तै भुकम्पबाट क्षति पुगेका तामाङ समुदायका धार्मिक, सांस्कृतिक एवं सामाजिक धरोहरहरुका रुपमा गुम्बा, बिहार, माने लगायतलाई पूननिर्माण गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ । साथै तामाङ समुदायका धार्मिक तथा सांस्कृतिक स्थलहरुलाई पर्यटकीय स्थलमा रुपमा विकास गर्न समेत माग गरिएको छ । ज्ञापन पत्रमा नेपाल संवैधानिक रुपमै धर्म निरपेक्षका रुपमा घोषणा भइसकेको अवस्थामा पनि मूल कानुनसँग बाझिने गरि ऐन,कानुनको निर्माण गरि गाईको मासु खाएको आरोपमा निर्दोष तामाङहरुको व्यक्ति हत्या तथा जेलमा सडाउने कार्यले हालसम्म निरन्तरता पाइरहेको भन्दै त्यस्ता कार्यहरुलाई तत्काल बन्द गर्न माग गरिएको छ । साथै प्रदेश कानुन निर्माण गर्दा मूल कानुनसँग नबाझिने बनाउन पनि माग गरिएको छ ।

ज्ञापन पत्रको छैठौँ बुँदामा तामाङ समुदायको आर्थिक अवस्था कर्णालीको भन्दा पनि कम देखिएको उल्लेख गर्दै ताम्सालिङ क्षेत्रमा रिङरोड निर्माण योजनालाई तत्काल पूर्णता दिनुपर्ने माग गरिएको छ । साथै ३ नम्बर प्रदेशमा तामाङ विकास परियोजना अघि सार्न प्रदेश मातहातमा तामाङ विकास समिति बनाएर स्पष्ट नीतिका साथ अघि बढ्न समेत जोडदार माग गरिएको छ । संविधानमा लेखिए अनुसार समानुपातिक समावेशी सिद्धान्त व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै तामाङ समुदायलाई समानुपातिक प्रतिनिधित्व र सहभागिताको सुनिश्चितताको माग गरिएको छ ।

संविधानको भावना र आई.एल.ओ. १६९ अनुसार संघ तथा प्रदेश सरकारले ऐन तथा कानुनहरु निर्माण गर्दा तामाङ समुदायको अधिकार स्थापित गर्न विशेष ध्यान दिन माग गरिएको छ । साथै विगतमा राजनीतिक दलहरुले गरेको पहिचानको ५ आधारको सहमति, ताम्सालिङ संयुक्त संघर्ष समितिसँग भएका १९ बुँदे सम्झौता र ३ नम्बर प्रदेश तामाङ र नेवार समुदायको ऐतिहासिक भएको उल्लेख गर्दै ३ नम्बर प्रदेशलाई संविधानको धारा २९५ (२) बमोजिम प्रदेशसभाबाट अविलम्ब ‘ताम्सालिङ–नेवा प्रदेश’ नामाकरण गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ । साथै मागहरु सम्बोधन नगरिएसम्म संघर्ष जारी रहने समेत उल्लेख छ ।

ज्ञापन पत्र बुझाउने क्रममा नेपाल तामाङ घेदुङका साहित्य तथा भाषा विभाग प्रमुख काजिमान थिङ, नेपाल बौद्ध गुम्बा विहार संरक्षण महासंघका महासचिव रामेश्वर ढकाल, महासंघ जिल्ला अध्यक्ष निरु थिङ, महासंघ जिल्ला सचिव अस्मिता वाईबा, नेपाल तामाङ घेदुङका बेली लामा, नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलान, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान, संघका सचिव दिलबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् ज्ञापन पत्र–

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...