बन्दुके शैलीको अनुगमनदेखि २५ मिटर सडक विस्तारसम्मको विषयमा मउवा संघ अध्यक्ष कटुवालले मुख खोले

२०७५ बैशाख १०,सोमबार २०:३४
file photo

प्रस्तुति–बलराम पुडासैनी
मकवानपुर, १० बैसाख ।
मकवानपुरको व्यवसाय जगतमा निकै नै समस्याहरु छन् । बजार व्यवस्थापन अस्तव्यस्त छ । बजारका पसलहरुमा एउटै सामानको मुल्य फरक–फरक छ । बजार अनुगमन व्यवस्थित छैन, बजारका केहि पसलका खाध्य पदार्थको गुणस्तरको कुनै लेखाजोखा नै छैन, ती खाद्य पदार्थ सेवनले स्वास्थ्यलाई ठूलो हानि गर्ने सम्म देखिएको छ । यस्ता विषयहरुमा संचार माध्यमहरुमा समाचार पनि बेलाबखतमा प्रकाशन–प्रसारण हुने गरेका छन् । सुधार गर्ने सरोकारवालाहरुले पनि सुधारको आश्वासन दिंदै आएका छन् । सुधार आउन भने सकेको छैन ।

ठूलो कठिनाईका बावजुत मकवानपुर उद्योग वाणिज्य संघसहितको सरोकारवाला निकायले रोक लगाए पनि बजारको रोडसम्म सामान राखेर बेच्ने प्रचलन यथावत नै छ । यसको अर्थ व्यवसायीक जगतका सबै कुरा नराम्रा छन् भन्न खोजेको होईन तर केहि यस्ता बेथितिहरु छन् जसको कारण उपभोक्ता मारमा पर्ने अवस्थामा छन् । यस्ता समस्याको निराकरणमा सरोकारवालाहरुको उपस्थिति कस्तो छ ? के उनीहरुले मात्र प्रयासले समस्या सुल्झिन्छ ? हामीले यही विषयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालसंग वान–टु–वान वार्ता गरेका छौँ ।

प्रश्न–मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि के–के काम गर्नुभयो ?
उत्तर – चुनाव जितेको लामो समय त भइसकेको छैन, तैपनि मैले मेरो कार्यकालमा आफुले व्यवसायीहरुको हितका लागि काम गर्ने अठोटका साथ काम गरिरहेको छ्ु । चुनावमा व्यवसायीसंग मत माग्दा बोलेको कुराहरु अनुसार नै काम गरिरहेको छु । पहिलो चरणमा मैले खाध्य प्रविधिसंगको सहकार्यमा ३ पटक बजार अनुगमन गरेँ , ३० कोठे अतिथि सदन भवन निर्माण गर्नको लागि योजना तयार गरेको छु जसको साइत निकालेर भुमी पुजा समेत गरिसकेको छु । उक्त भवनको निर्माणका लागि नक्सा पासको काम भईरहेको छ । चाँडै नै शिलान्यासको काम समेत हुनेछ । आफुले सोचेको भन्दा बढी दाताहरुले सहयोग गर्ने जानकारी मलाई छ ।

त्यसैगरि कार्यालयमा हुने गरेको बेतिथिको अन्त्य गर्ने कार्यको थालनी गरेको छु । कार्यालयमा हाजिर गर्ने प्रणाली समेत लथालिङ्ग भएको अवस्थामा आएको थिएँ तर हाल कार्यालयलमा ईलेक्ट्रोनिक हाजिर गर्ने मेसीनको व्यवस्था गरेको छु । कर्मचारीको डाटा निकालेको छु । संस्थाको हरेक खरिद विक्रीको प्रणालीलाई व्यवस्थित गरेको छु । अनावश्यक खर्च कटौती गरेको छ्ु । अन्य थुप्रै कामहरु गर्ने कार्य योजना तयार छन् र ती कार्यान्वय गरेरै छाड्नेछु ।

प्रश्न –बजार अव्यवस्थित छ ,उपभोक्ताको गुनासो उत्तिकै छ ? बेथिति बढ्दै गएको छ कसरी नियन्त्रण गर्नुहुन्छ ?
उत्तर–म व्यवसायीको छाता संगठनमा छु । व्यवसायीको हितको लागि काम गर्छु तर यसको मतलब मैले व्यवसायीले जे गरेनी सहने भन्ने हुन्न । व्यवसायीले गरेका सहि कुराको सर्मथन गर्ने हो । उपभोक्ता र व्यवसायी दुवैलाई सहज होस् भनेर मैले केही कार्ययोजनाहरु तयार पारेको छु । सर्वप्रथम बजार व्यवस्थित गर्नेछु ,जसको सुरुवात भईसकेको छ । पार्किङ व्यवस्थापनको लागि जिल्ला ट्राफिकसँग छलफल गरेर अघि बढ्ने कार्य योजना छ ।, फुटपाथ व्यवस्थापन केहि हदसम्म गरिसकेको छु र अझै व्यवस्थित गर्नेछु । खाध्य पदार्थको गुणस्तर परिक्षण चेकजाँच गर्नेछु । सामानको मूल्य बारे अनुगमन गर्नेछु ,यसले सबैको हित गर्छ भन्ने मलाई लाग्छ ।

प्रश्न– वरिष्ठ उपाध्यक्ष भएर कार्यभार सम्हाल्दा पुरा गर्न नसकेका केही कामहरु अध्यक्ष भएपछि पुरा गर्नुभो ? कि केहि अधुरा काम नै थिएनन् ?
उत्तर–पदले कार्यशैली र सहजतामा अन्तर त ल्याउछ नै, वरिष्ठ उपाध्यक्ष हुँदापनि मैले निकै कामहरु गरेको छु । जुन हाम्रा व्यवसायीहरुले देख्नुभएको छ । अधुरा थुप्रै कामहरु छन् जुन मैले चुनावमै भनेको छु । कार्ययोजना अनुसार विस्तारै गर्दै जानेछु । २ बर्ष भित्रमा ३० कोठे भवनको काम चै सकाउने वातावरण बनाउँछु ।

प्रश्न–तपाई अध्यक्ष भएपछि काम गर्दै जाँदा केहि चुनौती वा दवाबको सामना गर्नु परेको छ ?
उत्तर–सबैको साथ नै छ । खुसी नै छु ।

प्रश्न–तपाईले चुनावमा अटो भिलेज निर्माण गर्ने , पल्पसा सभागृहलाई व्यवस्थित गर्ने व्यवसायिक छुटको व्यवस्था गर्ने , व्यवसायिक प्रमोशन र तालिमको व्यवस्था गर्ने भन्नुभएको थियो कहिले गर्नुहुन्छ ?
उत्तर–हेर्नुस्, मैले बोलेको कामहरु पुरा गर्छु, मेरो बोली अलि रुष्ट छ । तर मैले अनावश्यक बोल्दिन र बोलेको गर्छु , मैले ३० कोठे अतिथि सदनको लागि भवन बनाउँछु भनेको थिएँ, त्यो २ बर्ष भित्रमा पुरा गर्छु , प्रक्रिया अघि बढिसकेको पनि छ । तालिम र गोष्ठीहरुको लागि पहल गरिरहेको छु चाडैं नै व्यवसायीहरुलाई तालिमको व्यवस्था गर्नेछु । हामीलाई व्यवसायीहरुले विभिन्न तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरिदिनुस् भन्ने आग्रह समेत गर्नुभएको छ , जसअनुसार हामीले प्लस टु गरेका विद्यार्थीहरुलाई ७ दिन लेखाको तालिम दिने तयारी पनि गरेका छौँ ।

प्रश्न–वैदेशिक भ्रमणका योजनाहरु पनि छन् कि ?
उत्तर–हामी केहि टोलीको कोरियाको भिजा लागेको छ । तर व्यवसायीहरुलाई विश्वस्त गराउछाँै हामी फर्कदा केहि सीप पनि लिएर फर्कने छौँ । जसले रोजरारीमा समेत सहयोग मिल्ने छ , ईजराएलमा साउनमा कृषि तालिमकै लागि टोली पठाउने तयारी गरेका छौँ, त्यहाँको प्रविधि ल्याएर व्यवसायिक कृषिको काम गर्न पाईयो भने बजारमा राम्रो सन्देश पनि जान्छ । अनि कृषिमा केहि प्रगति पनि हुने आशा गरेका छौँ ।

प्रश्न– उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला गर्ने योजना बनाएको छैन ?
उत्तर– औद्योगिक व्यापार मेलाको पनि कार्य योजना छन् तर हामीले एक कार्यकालमा एउटा मात्र मेलाको आयोजना गर्ने छौँ । ३ बर्षको कार्यकालमा एउटा मेला गर्छौँ तर व्यवस्थित मेला गर्छौँ ।

प्रश्न – बजारमा सर्वसाधारणलाई नै असर पर्ने गरि सडकसम्म ल्याएर व्यवसायीले सामान बेच्छन्, ३ पाङ्ग्रे सवारी साधनको पार्किङ व्यवस्थापन पनि निकै नै अस्तव्यस्त छ , तपार्इँ र तपाईको मउवा संघको पहल के हुन्छ यस विषयमा ?

उत्तर–यवसायीहरुलाई सचेत गराउँछु । ३ पांङग्रे सवारीको बिषयमा सहि प्रश्न सोध्नुभयो, यसमा हामीले नगरपालिका, जिल्ला प्रहरी , जिल्ला ट्राफिक प्रहरी , यातायात व्यवस्थापनसंगको सहकार्यमा सवारी व्यवस्थापनको लागि पनि पहल गरिरहेका छौँ, चाँडै व्यवस्थित हेटौँडा बनाउन पहल गर्ने छौँ ।

प्रश्न–२५ मिटर सडक विस्तार हुनुपर्छ कि पर्दैन अध्यक्ष ज्यू ?
उत्तर–२५ मिटर सडक आवश्यक छ । तर यसको मतलव व्यवसायीलाई मर्का पर्ने गरी होईन , बजार एरियामा १६ मिटरको अवधारणा ठिक छ , किनकी सबै घरधनीहरुलाई मुआब्जा दिन सरकारसँग बजेट नहुन सक्छ अनि मुआब्जा बिना घर भत्काउँदा जनतामाथि अन्याय हुन्छ । त्यसकारण बजार क्षेत्रमा १६ मिटर सडक विस्तार गरी बाहिर राजमार्गमा भने आवश्यक मात्रामा सडक विस्तार गर्दा हुन्छ ।

प्रश्न : अन्तिममा केही भन्नै पर्ने कुरा छन् कि ?
हामीले गरेको राम्रा काममा संचार माध्ययमहरुले सर्मथन गरिदिनुपर्छ ,नराम्रा कामको भण्डाफोर गरिदिए हु्न्छ । बजार अनुगमन अलि सभ्य शैलीमा हुनुपर्छ, मउवा संघ, जिल्ला प्रशासन कार्यालय लगाएत सरोकारवालालाई समावेश गरेर मात्र बजार अनुगमन गर्नुपर्छ । बन्दुके शैलीमा बजार अनुगमन गर्न हुन्न । ट्याम्पु, अटो मयुरीको व्यवस्थापन गर्नुपर्छ । सुमोको काउण्टरहरुको व्यवस्थापन खाली स्थानमा गर्नुपर्छ । यसले पनि बजार निकै नै अस्तव्यस्त बनाएको छ । नगरपालिकाले पनि यस्ता कुराहरुमा सक्रियता देखायो भने हाम्रा व्यवसायीहरुलाई सहजता दिलाउँछ । र पत्रकारहरुले देखेको समस्याको विषयमा समाचार प्रकाशन गर्नुपर्छ जसका कारण हामीलाई कहाँ सुधार गर्नुपर्ने छ जानकारी होस् ।


2 thoughts on “बन्दुके शैलीको अनुगमनदेखि २५ मिटर सडक विस्तारसम्मको विषयमा मउवा संघ अध्यक्ष कटुवालले मुख खोले

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*