प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिए कडा निर्देशन

२०७५, २ बैशाख आईतवार १९:५७

काठमाडौं, २ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरुले निर्भिक र निडर भई निष्ठाकासाथ काम गर्नुपर्ने बताएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार उपत्यकास्थित प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले उक्त कुरा बताएका हुन् ।

राष्ट्र र नागरिकको अपेक्षा अनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ठ कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले नयाँ वर्षसँगै नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा देखाउनुपर्ने उल्लेख गरे । संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पुरा गर्न उपलव्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबल सहित अगाडि बढ्न उनले निर्देशन समेत दिए ।

महिला तथा बालबालिका सम्बन्धी हुने अपराधको बिषयमा थप संवेदनशिल भएर अनुसन्धान गरी अपराध नियन्त्रणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले असहाय पीडितको गुनासोप्रति चासो दिनुपर्ने, घटनाप्रति मुकदर्शक हुन नहुने र दोषीलाई तत्काल कारबाही गरी कानुनको दायरामा ल्याउनुपर्ने बताए । नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा प्रहरी आचरण र व्यवहार उत्कृष्ट प्रदर्शन गर्नुपर्ने तथा कमीकमजोरीलाई सुधार्दै जानुपर्नेमा उनले जोड दिए ।

राज्यले सुम्पेको गहन जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने चुनौती र बाधा अड्चनको सामना गर्दै संगठनको छविलाई थप उचाईमा लैजान प्रहरी कर्मचारीहरुमा अझै मिहिनेत र लगनको आवश्यकता रहेको प्रहरी महानिरीक्षक खनालले चर्चा गरे । प्रहरी संगठनको सुदृढिकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको बृत्तिबिकास तथा सेवा सुविधाप्रति संगठन सदैव संवेदनशिल रहेको जानकारी दिँदै उनले प्रहरी कर्मचारीहरु पनि संगठनको हितप्रति पूर्ण वफादार र निष्ठावान हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...