पदमपोखरी स्वास्थ्य शिविरमा १६४ जनालाई सेवा, एक जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै

२०७५, २ बैशाख आईतवार १९:३८

–चन्द्र घलान

हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा आज भएको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ६४ जना महिलाले सेवा लिएका छन् । पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सकारी संस्थाको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।

स्वास्थ्य शिविरमा सेवा लिएका १६४ मध्ये १९ जनालाई विशेष औँषधी तथा ५२ जनालाई सामान्य औँषधि वितरण गरिएको छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरु सहितको टोलीले क्यान्सरबाट पिडीत एक महिलालाई घरमै पुगेर सेवा दिएको छ । हेटौँडा १२ मगर टोल निवासी शर्मिला मगरलाई घरमै पुगेर एम्बुलेन्समार्फत हेटौँडा अस्पतालमा उपचारको लागि पुराइएको संस्थाका व्यवस्थापक शुशिला वाईबाले जानकारी दिईन् । उनको अहिले उपचार भइरहेको र थप उपचारको लागि भरतपुर समेत लान सकिने वाईबाले बताईन् ।

संस्थाको १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरलाई नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेको थियो । शिविरको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले गरेकी थिईन् । कार्यक्रम संस्थाका अध्यक्ष यशोदा पराजुली खनालको अध्यक्षतामा भएको हो । कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष ललित घलान, महिला वडा सदस्य, बुद्धिजीवीहरुले मन्तव्य राखेका थिए ।

पछिल्लो समयमा महिलाहरुमा बढ्दै गएको पाठेघर तथा स्तन क्यान्सरको समस्यालाई मध्यनजर गर्दै संस्थाले शिविरको आयोजना गरिएको हो । शिविरमा पदमपोखरीका विभिन्न स्थानहरु हात्तीगौँडा, बेलडाँडा, घरेडी डाँडा, भोर्ले, आँपधाप, ठूलोथली, टुटेपानीका साथै नजिकका गाउँपालिकाका वडाहरुबाट समेत महिलाहरुहले सहभागिता जनाएका थिए ।

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...