वर्ष २०७४ : विशेष वर्ष

२०७४ चैत्र ३०,शुक्रबार १२:५५

समयको नापोलाई विक्रमीय आँखाले हेर्दा २०७४ लाई विशिष्ट उपलब्धिको वर्ष मान्न सकिन्छ देशको लागि । नेपालको औपचारिक सम्वत्को रुपमा रहेको विक्रमको २०७४ साँच्चै एउटा उपलब्धिको वर्षको रुपमा इतिहासमा आफ्नो छाप छोड्न सफल भएको छ । नेपालको राजनैतिक क्षेत्रमा यस वर्षलाई निकै महत्वपूर्ण मान्न सकिन्छ । नयाँ वर्षको रुपमा २०७४ लाई नेपाली समाजले आफ्नो आँगनमा स्वागत गर्दाको दिन नेपालको राजनैतिक आकाशमा आशंकाका अनेकन बादलहरु मडारिहेका थिए र अहिले २०७४ लाई बिदाई गर्ने दिनतिर अर्थात् यस वर्षको पुछारमा पाइला टेकेर हेर्दा आरम्भका सम्पूर्ण आशंकाहरु विस्थापन भएको र त्यसको ठाउँमा आशाका अनेक किरणहरुले चियाइरहेको स्पष्ट देखिन्छ । हो, सफलताको वर्ष यसैकारण भन्न सकिन्छ ।

जति बेला वर्ष २०७४ लाई स्वागतको तयारी हुँदै थियो, त्यत्तिबेला नेपालमा स्थानीय सरकारको चुनावको चर्चा व्यापक मात्रामा चलिरहेको थियो । नेपालका प्रमु्ख राजनीतिक दलहरुमध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी लगायतका दलहरु चुनावको पक्षमा थिए भने मधेसवादी दलका साथै अन्य केही पहिचानवादी दलहरुले चुनावको ठाडो विरोध नगरेर संविधान संशोधन वा अन्य केही अधिकारको कुरा गर्दै घुमाउरो किसिमले चुनावमा सहभागी नहुने मनसाय प्रकट गरिरहेका थिए । मधेसमा फेरि आन्दोलन होला कि भन्ने आशंका पनि धेरैको मनमा उब्जिरहेको थियो । चुनाव होला कि नहोला, मधेसवादी र पहिचानवादी तथा अन्य शक्तिको कारणले चुनाव हुने हो कि नहुने हो भन्ने आशंकाको घेरामा देश रहेको थियो । यसै सन्दर्भमा बैसाखमा हुने भनिएको चुनाव एक महिनाको लागि पछाडि धकेल्ने काम पनि भयो र जेठमा सम्पूर्ण देशमा हुन नसके पनि देशको अधिकांश भागमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो ।

व्यापक अन्यौल र अनिश्चितताका बीच मधेसवादी दलहरुले जब चुनावलाई स्वीकार गरे तब बाँकी स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण रुपमा असोजमा सम्पन्न भयो । असोजमा स्थानीय सरकारको निर्वाचन भएपछि देशले संविधान सम्पूर्ण रुपमा स्वीकार गरेको निष्कर्ष निकालियो जुन यथार्थ हो पनि । मधेसवादी दलले पनि स्थानीय तहको निर्वाचनमा भाग लिएर निर्वाचनको परिणामलाई स्वीकार गरेपछि देशमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको माहौल बन्न थाल्यो । निर्वाचन आयोगले व्यापक मन्थनपश्चात् प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकसाथ गर्ने निर्णयमा पुग्यो । मतपत्रसम्बन्धी केही विवादहरु पनि आए । सर्वोच्च अदालतको निर्णयअनुसार मतपत्रको व्यवस्था पनि हुन पुग्यो । जाडोले नेपाली नागरिकको घरआँगलाई ठिहि¥याउनै लागेको समयमा चुनाव शान्तिपूर्ण सम्पन्न भयो । नेपालको चुनावी इतिहासमा यति शान्तिपूर्ण चुनाव भएको थिएन भन्ने खालका टिप्पणीहरु सार्वजनिक भए । नयाँ इतिहासको सिर्जना गर्दै देशले चुनावको नतिजा प्राप्त ग¥यो । नतिजा निर्वाचनपूर्व अनुमान गरिएकोजस्तै बामगठबन्धनको पक्षमा आयो, झन्डै दुई तिहाई बहुमतका साथमा ।
देशको सातवटा प्रदेशमध्ये छवटा प्रदेशमा बामगठबन्धनको सरकार बन्यो । बाँकी रहेको प्रदेश २ मा मधेसवादी गठबन्धनले आवश्यक सामान्य बहुमत प्राप्त ग¥यो । सरकार बनाउन आवश्यक संख्यामा प्रदेश साँसदहरु मधेसवादी दलको जितेको भए पनि बामगठबन्धनले निशर्त समर्थन गरेर प्रदेश २ मा करिब दुई तिहाईको प्रदेश सरकार गठन भयो । यसअघि स्थानीय तहको निर्वाचनमा पनि एमाले र माओवादीलाई मिलाउने हो भने देशमा बहुमत स्थानमा सरकार गठन गर्न सफल भएको देखिन्छ । यसले गर्दा देशको कतिपय स्थानमा तीन तहमै बामगठबन्धन जितेको छ । समग्रमा देशमा बामपन्थीहरुले इतिहासको सबैभन्दा ठूलो विजय प्राप्त गरेको वर्षको रुपमा २०७४ लाई लिन सकिन्छ । देशको अधिकांश स्थानमा बामगठबन्धनको सरकार वठन भएपछि अहिले केही सञ्चारमाध्यमहरुमा नेपालको इतिहासमा राजा महेन्द्रपछि दोस्रो शक्तिशाली प्रधानमन्त्रीको रुपमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्न थालिएको पाइन्छ । यो एउटा संयोग नै मान्नु पर्दछ कि हाम्रा दुवै छिमेकी देशहरुमा आफ्नो युगै सर्वाधिक शक्तिशाली कार्यकारी प्रमुखहरु हुँदा नेपालमा पनि शक्तिशाली कार्यकारी प्रमुख भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि कैयौँ दशकपछिको शक्तिशाली प्रधानमन्त्रीको रुपमा लिइन्छ भने चीनका राष्ट्रपतिलाई पनि माओत्से तुङपछिको शक्तिशाली सरकार प्रमुखका रुपमा स्वीकार गरिएको पाइन्छ ।

वर्ष २०७४ मा तीन तहको निर्वाचन भएर तीन तहकै सरकारको गठन भयो । नेपालको राजनैतिक इतिहासमा यो बिल्कुलै नौलो अभ्यास थियो । यस विषयका कतिपय कानुनहरु अझै बनाउन बाँकी नै छन् । नेपाल संघीयता गएको भन्ने पहिलो प्रमाण नै २०७४ का राजनीतिक घटनाक्रमहरु हुन् । संघको सरकार, प्रदेशको सरकार र स्थानीय सरकारले भर्खर काम सुरु गरेका छन् । अर्थात् २०७४ को अन्त्यसँगै राजनैतिक अन्यौलहरु समाप्त भएर गएका छन् । मधेसवादी दलहरु पनि संघको सरकारमा जाने कुरा बेलामौकामा उठ्ने गरेको छ । केही हप्ता पहिले सरकारमा सहभागिताको टुँगो नै लागिसकेको भनेर पनि सार्वजनिक भएको थियो र संविधान संशोधनको लागि सहमति वा सम्झौता वा समझदारीको विषयले मूर्तरुप लिन पाएन । हो, वर्ष २०७४ संविधान संशोधनको दृष्टिले पनि महत्वपूर्ण रह्यो । तत्कालीन काँग्रेस र माओवादीको सरकारले संयुक्तरुपमा संविधान संशोधनको विधेयक संसदमा प्रस्तुत गरेको थियो र असफल भएको थियो । असफल भए पनि संविधान संशोधनको मुदालाई मधेसवादी दलहरुले छोडेको देखिएको छैन र आवश्यकताको आधारमा संविधान संशोधन गर्ने कुरो वर्तमान सरकारले पनि बताइरहेको छ । संविधानको संशोधन एउटा पक्ष हो तर संविधानको कार्यान्वयन भने पूर्णरुपमा हुन पाएको वर्षको रुपमा पनि २०७४ लाई लिन सकिन्छ । तिनवटै तहको निर्वाचन सम्पन्न भएर शान्तिपूर्ण तरिकाले सबै तहको सरकार गठन भएपछि संविधानप्रतिको विश्वसनीयता विश्वव्यापीरुपमा बढेको अनुभूति पनि गरिँदैछ ।

संघीयताको सफल कार्यान्यवन र देशमा संविधानको कार्यान्वनको वर्षका साथै यस वर्षलाई देशमा शान्ति र स्थायीत्व ल्याउने वर्षको रुपमा पनि परिभाषित गर्न सकिन्छ । देशमा राजनीतिक शान्ति आउनुपर्छ भन्ने चाहना आम नेपाली नागरिकको दशकौँदेखिको रहिआएको थियो । सम्पूर्ण तहमा सरकारको गठन भएपछि अब विकास र समृद्धिको युगको सुरुआत हुने आशा सम्पूर्ण नेपालीमा पलाएको छ । देशमा प्रजातन्त्र आइसकेपछिको अवस्थामा देशमा आन्तरिक शान्ति र स्थिरताको सम्भावना देखिएको अहिलेकै समयमा नै हो । २०७४ ले नेपाल र नेपालीलाई समृद्धितर्फको सपनालाई साकार पार्ने र विगतमा भएका सम्पूर्ण राजनैतिक आन्दोलनको प्रतिफल नागरिकसम्म पु¥याउने आशालाई फेरि जगाएको छ । हुन त मानिस आफैँमा आशावादी प्राणी हो र यसले हरेक बिहानलाई सुनौलो बनाउने सपना देखेको हुन्छ ।

सम्भवतः सम्पूर्ण राजनैतिक सङ्क्रमणको अन्त्य भएको छ । नेपालको राजनीतिमा अब ठूला सङ्क्रमणको तत्काल सम्भावना देखिँदैन । हरेक तहमा बलियो सरकारको स्थापना भएपछि र सरकारलाई काम गर्न कुनै बाधा व्यवधानको अवस्था नरहेको, कुनै दलले समर्थन लिँदैमा सरकार गिर्ने अवस्था पनि नरहेकोले देशमा स्थिरता देखिने निश्चत भएको हो । गत वर्ष एक सयभन्दा बढी दल अस्तित्वमा रहेकामा दलहरुको व्यवस्थापन भएको देखिन्छ भने अब केही समय सरकारसित विभिन्न माग राखी आफ्नो दल वा संगठनको अस्तित्व वा औचित्य रहेको दर्शाउने किसिमका दबाबमुखी कार्यक्रमहरु दलहरुले प्रजातात्रिक अभ्यासअनुरुप गर्ने देखिन्छ । राजनैतिक अस्थिरताले गर्दा देश निकै पछाडि परिसकेको बताउने सबैले देशमा आन्तरिक शान्ति भएपछि विकासको पथमा आफूलाई उभ्याउन अब पछि नपर्ने समय आएको छ । वर्तमान सरकार बामपन्थीको एकमाना सरकार भएकोले देशबाट गरिबी, अशिक्षा, बेरोजगारी तथा विदेश पलायनलाई कमजोर बनाउँदै देशको भौतिक विकासमा ठूलो योगदान दिई मुख्यतः निम्नवर्गका पक्षमा सकारात्मक कार्यहरु हुने विश्वास लिन सकिन्छ । बामगठबन्धन सरकारको अगाडि आन्तरिक अशान्ति वा सरकारको फेरबदलले केही गर्न सकिएन भन्ने छुट छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*